• होमपेज
  • ठूलीपोखरी विद्युतीकरण उपभोक्ता समितिको लापरवाहीका कारण गाउँ नै अन्धकार
गण्डकी प्रदेश

ठूलीपोखरी विद्युतीकरण उपभोक्ता समितिको लापरवाहीका कारण गाउँ नै अन्धकार

पर्वत/जिल्लाको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा विद्युत सेवा अवरुद्ध हुँदा उपभोक्ता मर्कामा परेकाछन् । ठूलीपोखरी सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको लापरवाहीका कारण लामो समयसम्म विद्युतको बिल भुक्तानी नहुँदा नेपाल विद्युत प्राधिकरण पर्वत शाखाले बिद्युतको लाईन काटेको हो ।

विगत एक वर्षदेखि समितिले विद्युतको रकम भुक्तानी नगरेका कारण लाईन कटौती गर्नु परेको नेपाल विद्युत प्राधिकरण पर्वतले जनाएको छ । समयमा रकम भुक्तानी नहुँदा प्राधिकरण कुस्मामा ७ लाख ५० हजार बढि रकम तिर्नुपर्ने भएपछि लाईन कटौती गरिएको प्राधिकरण कुस्मा वितरण केन्द्रका प्रमुख ललित नारायण चौधरीले बताउनुभयो । ‘समयमा महशुल नतिर्दा लाईन काटिएको हो’ चौधरीले भन्नुभयो–‘धेरै पटक ताकेता गर्दापनि महशुल भुक्तानी नभएपछि लाईन काट्न बाध्य भएका हौं ।’

विज्ञापन

समितिले मासिक रुपमा उपभोक्तासँग महशुल वापतको रकम उठाउने गरेको भएपनि प्राधिकरणमा लगेर नतिर्ने गरेको पाईएको छ । यसले गर्दा उपभोक्ताबाट लिएको रकम समेत दुरुपयोग भएको साथै समयमा बिल नतिर्दा अनावश्यक जरिवाना र हर्जना समेत लाग्ने गरेको छ ।
समितिले गरेको लापरवाहीका कारण उपभोक्ताहरु मासिक रुपमा बिल भुक्तानी गरेर पनि अन्धकारमा बस्नु परेको गुनासो गर्छन् । ‘हामीले ऋण खोजेर मासिक रकम तिर्छौं’ स्थानीय गणेश पौडेलले भन्नुभयो– ‘सतितिले लापरवाही गर्छ यसको मार पनि उपभोक्ताले नै खेप्छौं ।’
सामुदायिक विद्युतीकरण समितिहरुलाई नेपाल विद्युत प्राधिकरणले महशुलमा छुट समेत दिन्छ । प्राधिकरणले समितिलाई दिएको छुट रकमबाट मर्मत संभार तथा व्यवस्थापन गर्नुपर्ने भएपनि ठूलीपोखरी विद्युतीकरण उपभोक्ता समितिले प्रत्येक वर्ष १ देखि ३ लाखसम्म घाटा भएको देखाउँदै आएको छ । यता उपभोक्ता समितिले भने समितिको कमजोरी भएको स्वीकार गरेको छ ।

समयमा विद्युत महशुल नतिरेका कारण गत वर्ष पनि प्राधिकरणले विद्युत लाईन काटेको थियो । समितिको वेवास्ता र लापरवाहीका कारण सँधै समस्या आउने गरेकाले उपभोक्ताहरु नयाँ समिति गठनको माग गरेका छन् । समितिले निर्माण अवधिदेखि हालसम्म आय व्यय सार्वजनिक गर्न नसक्दा झनै समस्या भएको छ । समितिमा प्रत्येक महिना २० देखि ५० हजारसम्म आम्दानी हुने गरेको भएपनि सँधै घाटामा जाँदा उपभोक्ताहरु आर्थिक अनियमितता गरेको आरोप लगाउँछन् ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook