• होमपेज
  • पर्वतमा विद्यालयको पुनर्निर्माण प्रभावित : असारमा सकिने काम असोजसम्म धकेलियो
गण्डकी प्रदेश

पर्वतमा विद्यालयको पुनर्निर्माण प्रभावित : असारमा सकिने काम असोजसम्म धकेलियो

पर्वतमा गत २०७२ सालको भूकम्पले भत्किएका विद्यालयको पुनर्निर्माण कोभिड–१९ को कारण गरिएको लकडाउनले प्रभावित भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले चालू वर्ष सम्झौता भई काम शुरू भएका सबै विद्यालयको निर्माण कार्य सक्ने अनुमान गरेको थियो । तर, लकडाउनका कारण विद्यालयको पुनर्निर्माणको काम बीचमै रोकियो । यही असारमा सक्ने लक्ष्य राखिएकोमा लकडाउनले लक्ष्य पूरा नभएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का प्रमुख युक्तप्रसाद शर्माले बताए । ‘सहज वातावरण बनेको भए असार सम्म काम सकिन्थ्यो,’ शर्माले भने, ‘लकडाउनका कारण चौतर्फी प्रभाव परेको हुनाले हामी पनि प्रभावित भयौं ।’ चालू वर्ष ६८ विद्यालयको भवन निर्माणको काम सक्ने लक्ष्य रहे पनि अहिलेसम्म २८ ओटाको निर्माण कार्य सम्पन्न भएको उनले जानकारी दिए ।

कार्यालयले चालू वर्ष विद्यालय पुनर्निर्माणमा २५ करोड बजेट रहेको बताएको छ । भौतिक प्रगति ८० प्रतिशत भएको बताएको कार्यालयले वित्तीय प्रगति भने ५० प्रतिशत मात्रै भएको उल्लेख गरेको छ । कार्यालय प्रमुख शर्माका अनुसार भूकम्पका कारण १७५ ओटा सामुदायिक विद्यालयका ३६१ कक्षा कोठाहरू भत्किएका थिए । कार्यालयका अनुसार फलेवास नगरपालिकाका ४० विद्यालय, कुश्मा नगरपालिकाका ३७, जलजला गाउँपालिकाका २२, मोदी गाउँपालिकाका २२, महाशिला गाउँपालिकाका १९, विहादीका १६ र पैयुँ गाउँपालिकाका १९ विद्यालय भूकम्पले भत्किएका हुनाले पुनर्निर्माण गर्नुपर्ने सूचीमा छन् ।

विज्ञापन

हालसम्म जिल्लाका ३० ओटा विद्यालयको निर्माण कार्य मात्रै सकिएको छ । ३८ ओटा विद्यालयको निर्माण अन्तिम चरणमा छ । अर्को वर्ष ६३ ओटा विद्यालय पुनर्निर्माण हुने सूचीमा परेका छन् । ‘पुनर्निर्माण प्राधिकरणको क्षतिमा सूचीकृत भएका विद्यालयलाई प्राथमिकता र आवश्यकताका आधारमा पुनर्निर्माण गरिरहेका छौं,’ शर्माले भने । भवन निर्माण सम्पन्न भएका विद्यालयका भवन भूकम्पप्रतिरोधी छन् । भूकम्पले भवन भत्किएर नियमित पठनपाठनमै समस्या भोग्दै आएका विद्यालयले नयाँ भवन पाएपछि सहज रूपमा पठनपाठन सञ्चालन गर्दै आएका छन् । ‘२ वर्षसम्म टहरामै पढाइ चलायौं,’ जनता मावि रानीपानीका अध्यक्ष रामप्रसाद पराजुलीले भने, ‘२ वर्षमै प्राधिकरण मार्फत चारकोठे भवन तयार भयो । विदेशी एक संस्थाले अर्को चारकोठे भवन बनाइदियो । अहिले विद्यालयमा सुविधासम्पन्न भवन बनेपछि विगतको समस्या हटेको छ ।’

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook