• होमपेज
  • ल्वाङ घलेल स्वास्थ्य चौकीको नयाँ भवन समुद्घाटन सम्पन्न
गण्डकी प्रदेश

ल्वाङ घलेल स्वास्थ्य चौकीको नयाँ भवन समुद्घाटन सम्पन्न

पोखरा । माछापुच्छ्रे गाउँपालिका–९, ल्वाङ घलेलस्थित स्वास्थ्य चौकीको नवनिर्मित भवनको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ। भवनको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन सम्पन्न भएको हो ।

कार्यक्रमका बोल्दै प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले नयाँ भवनसँगै स्वास्थ्य चौकीबाट नागरिकलाई थप प्रभावकारी, गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध हुने बताउनुभयो। उहाँले भवन निर्माण हुनु मात्र पर्याप्त नभई उपलब्ध पूर्वाधारको सदुपयोग गर्दै नागरिकको स्वास्थ्य आवश्यकतालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्न स्वास्थ्यकर्मी तथा सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो।

विज्ञापन

गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले नयाँ स्वास्थ्य चौकी भवनबाट विशेषगरी महिला, विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई स्वास्थ्य सेवा लिन सहज हुने बताउनुभयो। स्वास्थ्य सेवामा पहुँचको अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले स्थानीय तहको विकासमा भौतिक पूर्वाधार निर्माणसँगै सुशासन र प्रभावकारी सेवा प्रवाह पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले निर्माण भएका पूर्वाधारको दिगो संरक्षण, पारदर्शी व्यवस्थापन र नागरिकमैत्री सेवा प्रवाहमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो। स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा सहज, जवाफदेही र गुणस्तरीय बनाउन कर्मचारी तथा जनप्रतिनिधिबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो।

नवनिर्मित चारकोठे भवन निर्माणमा करिब ५५ लाख रुपैयाँ लागत लागेको वडा नं. ९ का वडा अध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि सानो तथा साँघुरो भवनबाट स्वास्थ्य सेवा सञ्चालन हुँदै आएकोमा नयाँ भवन निर्माण भएपछि स्वास्थ्यकर्मीलाई काम गर्न र नागरिकलाई सेवा लिन दुवै पक्षमा सहजता भएको छ।

कार्यक्रमका अवसरमा स्वास्थ्य चौकीमा सेवा पुर्‍याएर निवृत्त हुनुभएका कर्मचारीलाई सम्मानसमेत गरिएको थियो। स्वास्थ्य क्षेत्रमा लामो समय सेवा पुर्‍याएका निवृत्त कर्मचारीको योगदानको कदर गर्दै सम्मान गरिएको हो। सोहि अवसरमा स्वास्थ्य चौकीको प्रगति विवरण शाखाका कर्मचारी तिर्थ नेपालीले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष रामबहादुर गुरुङ, वडा सदस्यहरू, माछापुच्छ्रे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराम दाहाल, गाउँपालिकाका कर्मचारी, नौलो घुम्तीका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, वडा सचिव तथा स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। त्यसैगरी स्वास्थ्यकर्मी तथा कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय आमा समूह, युवा क्लब, टोल विकास संस्था, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी तथा स्थानीयवासीको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य वडा नं. ९ की वडा सदस्य श्रीकुमारी तामाङले राख्नुभएको थियो। कार्यक्रमको अध्यक्षता वडा नं. ९ का वडा अध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर क्षेत्रीले गर्नुभएको थियो भने सञ्चालन स्वास्थ्य चौकी प्रमुख कमला कुमारी शर्माले गर्नुभएको थियो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै