• होमपेज
  • १५ वर्षदेखिको वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
अर्थ खबर

१५ वर्षदेखिको वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

रामेछापको मन्थली नगरपालिका-४ सालु पोखरेकी अरुणा केसीले वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालन व्यवसाय सञ्चालन गरेका छन् ।

चार वर्ष बेलायत र ११ वर्ष दुबई र कतारमा रोजगारीमा गरेकी उनलाई अरूको मात्र काम गरिरहनुभन्दा स्वदेशमै फर्केर आफ्नो काम गर्न रुचि जागेपछि गाउँमा आएर बाख्रापालन व्यवसाय थालेकी हुन् ।

विज्ञापन

‘अरुले गरेको कृषि तथा पशुपालनप्रति आकर्षित भएर यो पेसा अँगाल्ने अठोटका साथ गाउँ फर्केकी हुँ’, केसीले भनिन् । बाख्रापालनका लागि अहिले उहाँले गाउँमा करिब रु २० लाख खर्च गरेर आधुनिक खोर निर्माण गरेकी छन् । बाख्रापालनमात्र नभएर कुखुरा, गाईभैँसी, माहुरीपालन र कफीखेती गर्ने योजना रहेको केसीले सुनाइन् ।

विसं २०८१ मा गाउँ आएर काम सुरु गरेको उल्लेख गर्दै केसीले अहिलेसम्म कुनै पनि निकायले यसका लागि सहयोग नगरेको बताइन् । उनले मन्थली नगरपालिकाअन्तर्गत रहेको पशु स्वस्थ्य शाखाका कर्मचारीहरूबाट भने आवश्यक प्राविधिक सल्लाह पाइरहेकी छन् ।

उनका बुबा चित्र केसी छोरीको व्यवसायबाट खुसी छन् । उनले भने, ‘मेरा पाँच छोरीमध्ये अरू सबै सहरतिरै रोजगारीमा छन्, हामी श्रीमान्श्रीमती पनि काठमाडौँमा बस्छौँ, कहिलेकाँही मात्र गाउँ आउने गरेका छौँ । वैदेशिक रोजगारीमा रहेकी छोरी रोजगारी छाडेर गाउँमै कृषि तथा पशुपालनमा लागेकामा खुसी लागेको छ ।’

गाउँमा रेखदेख गर्ने व्यक्तिको अभाव केसीलाई खड्केको छ । तर पनि उनी निरन्तर बाख्रापालन खटिएकी छन् । ‘सक्दो मेहनत गरिरहेकी छु, हिम्मत हारेकी छैन, हेरम कति सफल भइन्छु, केसीले भनिन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै