• होमपेज
  • पर्वतको जिल्ला स्तरीय रनिङ शिल्ड पुस ८ गतेबाट हुने
Breaking News

पर्वतको जिल्ला स्तरीय रनिङ शिल्ड पुस ८ गतेबाट हुने

पर्वत : पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही पुस आठ गतेबाट सञ्चालन हुने भएको छ ।

जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका सात ओटा स्थानीय तहहरूले प्रतिस्पर्धा गर्ने छन् । पालिका स्तरमा विद्यालयहरुबीचको प्रतियोगिता सम्पन्न गरेर हरेक स्थानीय तहबाट जिल्ला स्तरीय प्रतियोगिताका लागि खेलाडीहरू छनोट गरिसकेपछि जिल्ला स्तरमा प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष जङ्गबहादुर पुन मगरले बताए ।

विज्ञापन

शुक्रवार जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सल्लाहकार समितिका संयोजक तथा जिल्ला समन्वय समिति पर्वतका संयोजक विष्णुराम बि.क.को अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताका निर्णयहरू गरेको हो । बैठकमा कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, जिल्ला समन्वय अधिकारी किरण पौडेल, शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चपाई, सशस्त्र प्रहरी बल नं. २५ गण हेडक्वार्टरका गणपति करण सिंह धामी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जङ्गबहादुर पुन मगर लगायतको सहभागिता रहेको थियो ।

कक्षा १२ सम्म अध्ययनरत तथा शैक्षिक सत्र २०८२ सम्म १८ वर्ष उमेरभित्रका विद्यार्थीहरूले प्रतिस्पर्धा गर्न पाउने गरी प्रतियोगिता हुने छ । प्रत्येक स्थानीय तहबाट टिम ‘इभेन्ट’हरूमा एक÷एक ‘टिम’ सहभागी गराउन पाउने, एथ्लेटीक्स इभेन्टमा प्रत्येक खेलाडीले बढीमा एक फिल्ड दुई ट्रयाक वा दुई फिल्ड एक ट्रयाक इभेन्टमा भाग लिन पाउने छन् । प्रतियोगितामा भलिबल, कबड्डी, ट्र्याकतर्फको दौड, फिल्डतर्फ उफ्रिने र फ्याँक्ने तथा मार्सल आर्टतर्फ कराँते र तेक्वान्दोका विभिन्न विधाका विभिन्न तौल समूहमा खेल हुनेछन् ।

सदरमुकाम कुश्मास्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा सबैभन्दा बढी स्वर्ण पदक प्राप्त गर्ने स्थानीय तह विजेता भई रनिङ शिल्ड एक वर्षका लागि प्राप्त गर्ने छ । सात ओटा स्थानीय तहको प्रतिस्पर्धाको क्रममा उत्कृष्ट ठहरिएका विद्यार्थीहरूलाई प्रदेश स्तरीय प्रतियोगिताका लागि छनोट गरिने छ । यसरी छनोट भएका विद्यार्थीहरू गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा अन्य १० जिल्लाका खेलाडीहरुसँग प्रतिस्पर्धा गर्ने छन् ।

आफ्ना विद्यार्थीहरू प्रतियोगितामा सहभागी गराउन स्थानीय तहहरूले विद्यार्थीका जन्म दर्ता सहितका व्यक्तिगत विवरणहरू पुस छ गते भित्रमा जिल्ला खेलकुद विकास समितिमा बुझाउन भनिएको छ ।

सोही प्रतियोगिताको अवसर पारेर पर्वत जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिस्पर्धा गरेका खेलाडीहरूलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको खेलकुद विकास समितिका अध्यक्ष मगरले बताए । उनीहरूको विवरण सङ्कलनको काम भइरहेको र हालसम्म करिब ८० जना प्रतिस्पर्धीहरूको नामावली प्राप्त भइसकेको उनको भनाइ छ । अझै केही खेलाडीहरू छुटेका र उनीहरूले सम्बन्धित खेलका सङ्घ वा सिधै खेलकुद विकास समितिमा सम्पर्क गर्न सक्ने छन् । उक्त कार्यक्रममा छुटेका खेलाडीहरूलाई अर्को कार्यक्रमको अवसरमा सम्मान गर्ने समितिको तयारी छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै