पर्वत जिल्ला कारागारमा जेल जीवन भुक्तान गरिरहेका कैदी तथा पुर्पक्षका लागि थुनामा रहेका बन्दीहरुलाई भगाउन सहयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले विभिन्न १४ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । देशमा विकसित असामान्य परिस्थितिको फाइदा उठाउँदै कारागारमा रहेका कैदीबन्दीलाई हुलहुज्वत सहित भगाएको भन्दै १ महिला सहित १४ जना व्यक्तिहरुलाई शनिबार नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार कुश्मा नगरपालिकाबाट १२ जना, विहादी गाउँपालिका १ र चितवनका १ जनालाई गिरफ्तार गरिएको हो । प्रहरीले नियन्त्रणमा रहेका सवैलाई हिरासतमा राखि कारागार ऐन २०७९ को थुनुवालाई भगाउने वा भगाउन सहयोग गर्ने उद्दोग अन्तर्गत अनुसन्धान अघि बढाइएको जनाएको छ । प्रहरीले यी मध्ये केही युवाहरुलाई सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको आरोपमा समेत पक्राउ गरेको छ ।
पर्वत जिल्ला कारागारबाट २५ गते राति १९ जना कैदीबन्दी फरार भएका थिए । पर्वत प्रहरीले पर्वत कारागारबाट फरार रहेका कैदी बन्दी मध्ये ५ जना र कास्की कारागारबाट फरार भएका ५ गरी १० जनालाई नियन्त्रणमा लिई पुन कारागार चलान गरेको छ । प्रहरी निरीक्षक सापकोटाका अनुसार पर्वत जिल्ला कारागारबाट फरार भएका कैदीबन्दीलाई तुरुन्त जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई आत्मसमर्पण गर्न समेत अनुरोध गरेको छ । प्रहरीले यसरी फरार रहेका ब्यक्तिहरू कहीकतै देखेको अबस्थामा प्रहरीलाई खबर गरेर सहयोग गर्न समेत सर्बसाधरण समक्ष अनुरोध गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु