पर्वत / जिल्लाको एकमात्र सरकारी अस्पताल प्रदेश अस्पताल पर्वतको यस आर्थिक वर्षमा भएका प्रगतिको बारेमा सामाजिक परिक्षण गरिएको छ। लालटिन मिडिया पर्वतको सहजीकरणमा आर्थिक वर्ष २०८१/०८२ का सेवा प्रवाहको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
अस्पतालले पारदर्शिता, जिम्मेवारीपन र सेवाग्रहीका धारणा लिनका लागि सामाजिक परिक्षण गरेको हो । सो अवसरमा अस्पतालबाट भएका सेवा प्रवाहमा सेवाग्राहीले भोग्नुपरेका समस्याका बारेमा अस्पताल प्रशासनसँग जिज्ञासा राखेका थिए । जिज्ञासाको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. हेमन्त बास्तोला र अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले उत्तर दिनुभएको थियो ।
विज्ञापन
सहभागीहरुले अस्पतालमा सेवा प्रदायकले दिने गरेका झण्झट, बिमाका कारण भोग्नुपरेको समस्या, ईमर्जेन्सीमा हुने गरेको ढिलासुस्ती, औषधि समयमा नपाईने र बिमाको औषधि प्रयाप्त नभएको लगायका गुनासो राखेका थिए । साथै सहभागीहरुले अस्पतालमा सेवा सुधार भएर जनविश्वास बढेको भएपनि अझै गुणस्तरिय सेवा दिन विशेषज्ञहरु थप गर्न समेत सुझाव दिएका थिए ।
कार्यक्रममा अस्पतालको तर्फबाट डा. बास्तोलाले अस्पतालले विगत वर्षमा पु¥याएका उल्लेखनीय उपलब्धिहरू, भोगेका समस्याहरू र समाधानका लागि गरिएका प्रयत्नहरूको र सेवाग्राहीका समस्या समाधान गरि अझै गुणस्तरिय सेवा दिन प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अस्पतालको सेवा गुणस्तर सुधार गर्न गरिएको काम, उपकरण विस्तार, सेवा पहुँचमा सुधार, संरचनात्मक विकास र व्यवस्थापनमा पारदर्शिता ल्याउन गरिएको पहलहरू प्रस्तुत गर्नुभयो।
कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले आँफूले अध्यक्ष भएदेखि हालसम्म अस्पताल सुधारका लागि सबै पक्षसँग समन्वय गरि निरन्तर लागिरहेकोे बताउनुभयो । सबै पक्षको पलहले अस्पताल अहिले सुधार भई थप सेवा दिन सक्ने अवस्थामा रहेको बताउँदै ५० शैयाको अस्पताल संचालनसँगै अझै सुधार भएर जाने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा सेवा प्रदायक र सेवाग्राहीले दिएका प्रतिक्रिया माथि पत्रकार गणेश पौडेलले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा १९ जना प्रश्नकर्ताहरूले विभिन्न सेवा पक्षमा आफ्ना समस्याहरु राखेका थिए। कार्यक्रमको संचालन लालटिन मिडियका प्रबन्ध निर्देशक सुमन थापाले गर्नुभएको थियो ।
फेसबुक प्रतिक्रियाहरु