काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न कारणवश किस्ता भुक्तानी हुन नसकी व्यतित (निष्क्रिय) भएका बीमालेख पुनर्जागरण गर्दा लाग्ने शतप्रतिशत विलम्ब शुल्क (ब्याज) छुट दिने विशेष योजना सार्वजनिक गरेको छ।
कम्पनीले बीमित तथा उनीहरूको परिवारको वित्तीय सुरक्षालाई निरन्तरता दिने उद्देश्यले यस्तो सुविधा ल्याएको जनाएको छ। यस योजनाअन्तर्गत व्यतित भएका बीमालेखहरू पुनः सक्रिय गराउँदा लाग्ने सम्पूर्ण विलम्ब शुल्क (ब्याज) मिनाहा गरिनेछ।
विज्ञापन
कम्पनीका अनुसार उक्त सुविधा २०८३ असार ११ गतेदेखि २०८३ असार २५ गतेसम्म लागू हुनेछ। यस अवधिभित्र आफ्ना निष्क्रिय बीमालेखहरू पुनर्जागरण गर्ने बीमितहरूले १०० प्रतिशत ब्याज छुटको लाभ लिन सक्नेछन्।
सन नेपाल लाइफले बीमितहरूलाई आफ्नो बीमा सुरक्षा पुनः कायम गरी भविष्यको आर्थिक जोखिम व्यवस्थापनमा सहभागी हुन आग्रह गरेको छ। कम्पनीले यो अवसर बीमा अवधिभर एक पटक मात्र उपलब्ध गराइने जनाएको छ।
साथै, कम्पनीले ब्याज छुट सुविधा उपयोग गरी पुनर्जागरण गरिएका बीमालेखहरू नवीकरणपश्चात कुनै पनि समयमा समर्पण (Surrender) गर्न चाहेमा छुट गरिएको ब्याज रकम कट्टा गरिने स्पष्ट पारेको छ।
बीमा क्षेत्रका जानकारहरूका अनुसार निष्क्रिय बीमालेख पुनः सक्रिय बनाउने यस्तो योजना बीमितहरूका लागि लाभदायक हुन सक्छ, किनकि यसले बीमा सुरक्षा कायम राख्न सहयोग पुर्याउनुका साथै अतिरिक्त ब्याज भारबाट समेत राहत प्रदान गर्दछ।

फेसबुक प्रतिक्रियाहरु