पर्वत/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली सरकार जनताको नजरमा गिरीसकेको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्रले संचालन गरेको ‘जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत शुक्रबार कुश्मामा आयोजित जनसभामा बोल्दै उहाँले दैनिक रुपमा भईरहेको भ्रष्टाचार र कुशासनका कारण अहिलेका सरकार पतन भएको आरोप लगाउनुभएको छ । “आज मात्रै आएको समाचार हेर्दा अध्यागमनबाट दैनिक लाखौं रुपीयाँ लिएर विदेशमा मान्छे पठाउन सरकार नै लागिपरेको छ” उहाँले भन्नुभयो ।
विज्ञापन
अध्यक्ष प्रचण्डले अहिलेको सरकार आफ्नै कामले अलोकप्रिय भएको धारणा राख्नुभएको छ। उहाँले सरकार ढलाउने र सरकारका बिरुद्धमा अहिले माओवादी नरहेको बताउनुभयो । ‘सरकार दैनिक रुपमा आलोचित हुँदै गएको छ’ उहाँले भन्नुभयो–‘जनतामा नजरमा समेत सरकार गिर्दै गएको अनुभूती भईरहेको छ ।’ अध्यक्ष प्रचण्डले अहिलेको अभियान सकिएपछि समाजवादीहरुको सल्लाहमा सरकार बिरुद्धको आन्दोलन शसक्त पार्ने बताउनुभएको छ ।
उहाँले विगतमा विभिन्न दलहरुसँग मिल्दा माओवादी नै बिग्रिसकेकाले जनताकै बीचमा गएर सँच्याउन अहिले अभियान चलाएको स्पष्ट पार्नुभयो । ‘विगतमा कहिले एमालेसँग–कहिले काँग्रेससँग समिकरण गराउँदा माओवादीलाई पनि रोग स¥यो’ प्रचण्डले भन्नुभयो–‘यो रोगबाट मुक्ति पाउन हाम्रै जनताकै घरदैलोमा गएर जनसम्वाद गरे मात्रै हामी सन्चो हुन्छौं भनेर तपाईँहरुको माझमा आएकाछौं ।’ उहाँले अबको निर्वाचनमा माओवादी आफ्नै ताकत र जनताको विश्वासमा चुनाव लड्ने साथै कसैसँगको बैशाखी नटेक्ने बताउनुभयो ।
उहाँले माओवादीले गत महिना संचालन गरेमा हुलाकी मार्ग केन्द्रीत अभियान र अहिले चल्दै गरेको मध्यपहाडी लोकमार्ग अभियानले देशमा सामाजिक सद्भाव जोड्ने काम गरेको बताउनुभयो । उहाँले माओवादीले सरकारमा हुँदा शुरु गरेको सुशासन, सामाजिक न्याय र आर्थिक सम्बृद्धीको अभियानले सफलता पाईरहेको बेला सरकार ढलाएको आरोप लगाउनुभयो ।
अध्यक्ष प्रचण्डले माओवादी सरकारमा हुँदा चालेको भ्रष्टचार बिरुद्धको अभियानले दलालहरुको निदहराम गरेको समेत बताउनुभयो । ‘बिचौलियाहरुले माओवादीले चलाएको भ्रष्टाचारको अभियानले अन्य दलहरु सकिने भयो भन्दै नेताका घरदैलामा पुगेर सरकार ढलाउन लागे’ उहाँले भन्नुभयो ।
पूर्व प्रधानमन्त्री प्रचण्डले पहाडी क्षेत्रमा भइरहेको बसाईसराई रोक्न र पहाडमा आर्थिक गतिबिधी बढाउन मध्यपहाडी लोकमार्ग बनाउने परिकल्पना आफ्नो पहिलो प्रधानमन्त्री कालमा शुरु गरेको बताउनुभयो । उहाँले गणतन्त्र आएपछि केही भएन भनेर भ्रम फैलाएको र जनतालाई बुझाउन जनतको बीचमा जानुपर्ने भएकाले जनतसँग साक्षात्कार गर्दै हिँडिरहेको बताउनुभयो ।
उहाँले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानले माओवादी प्रतिको धारणा सकारात्मक बनेको र जनउभार आएको बताउनुभएको छ । उहाँले गणतन्त्रपछि भौतिक पूर्वाधारको क्षेत्रमा गाउँ गाउँमा सडक सञ्जाल पुग्नुका साथै स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत सकरात्मक परिवर्तन भएको बताउनुभयो । उहाँले लोकतन्त्रको विकल्प अझ बलियो लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र रहेको बताउनुभयो ।
फेसबुक प्रतिक्रियाहरु