• होमपेज
  • विशेष महाधिवेशनमा सहभागी हुन U-40 पर्वतको आह्वान
गण्डकी प्रदेश

विशेष महाधिवेशनमा सहभागी हुन U-40 पर्वतको आह्वान

पर्वत । नेपाली काँग्रेस आवद्ध सुधार अभियान (U-40) पर्वतले पार्टीको वर्तमान अवस्थालाई मध्यनजर गर्दै आगामी विशेष महाधिवेशनमा सक्रिय सहभागिता जनाउन पर्वतबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेको छ।

झण्डै आठ दशक लामो गौरवपूर्ण इतिहास बोकेको नेपाली काँग्रेस आज विशिष्ट परिस्थितिमा आइपुगेको उल्लेख गर्दै U-40 पर्वतले अब केवल इतिहास सुनाएर मात्र पुग्ने अवस्था नरहेको स्पष्ट पारेको छ। पार्टीले तीन करोड नेपाली जनताको भविष्यप्रति स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी काँग्रेसको काँधमा रहेको उनीहरूको भनाइ छ।

विज्ञापन

सुधार अभियान (U-40) पर्वतका संयोजक श्रीकृष्ण रेग्मीले जारी गरेको विज्ञप्तिमा पार्टीलाई सुदृढ, सक्षम र भविष्यमा हस्तान्तरणयोग्य बनाउने दिशामा जिम्मेवार निर्णय लिन आग्रह गरिएको छ।

विज्ञप्तिमा पार्टीका भ्रातृ तथा शुभेच्छुक संघ–संस्थाहरूको महाधिवेशन समयमै सम्पन्न हुन नसक्दा संगठनभित्र काम गर्न चाहने तथा नेतृत्वदायी भूमिका निर्वाह गर्न इच्छुक धेरै कार्यकर्तामा निराशा बढेको उल्लेख गरिएको छ। नियमित महाधिवेशनको तालिका सार्वजनिक गरिए पनि विभिन्न बहानामा त्यसलाई अवरुद्ध गरिएको भन्दै वर्तमान नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरिएको छ।

पार्टी विधानअनुसार नियमित महाधिवेशन सम्भव नभएपछि यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनलाई ऐतिहासिक अवसरको रूपमा लिँदै ४० वर्षमुनिका काँग्रेस समर्थक युवाहरूले सहभागिताका लागि प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।

यदि परिवर्तनलाई अस्वीकार गर्दै यथास्थितिको पक्षपोषण गरिए भविष्यमा नयाँ पुस्ताले त्यसको हिसाब राख्ने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ। जनता र कार्यकर्ताको भावना आत्मसात् गर्दै अगाडि बढ्न पर्वतबाट प्रतिनिधित्व गर्ने सबै महाधिवेशन प्रतिनिधिहरूलाई पुनः जोडदार आग्रह गरिन्छ बिज्ञप्तिमा उल्लेख छ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार