• होमपेज
  • संसद विघटन नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो : ओली
Breaking News

संसद विघटन नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो : ओली

काठमाडौैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी जोगाउनका लागि प्रतिनिधिसभा विघटन नगरी नहुने स्थिति आएको बताएका छन् ।

मंगलबार नेकपा एमालेको बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन गरेर प्रतिक्रियावादीहरुको ठूलो षड्यन्त्र असफल पारेको दाबी गरे ।

विज्ञापन

प्रतिनिधिसभा विघटन गरेपछि पार्टीको केन्द्रीय कमिटी विस्तार, प्रदेश तथा जिल्ला कमिटीको पुनर्गठन, जनवर्गीय संगठनहरुको पुनर्गठन गरेर प्रतिनिधिसभा पुनर्स्थापना हुँदासम्म फेरि मजबुत शक्तिको रुपमा रहन सफल भएको उनले बताए । ओलीले प्रतिनिधि सभा विघटन त्यस बेलाको अपरिहार्यता भएको उल्लेख गर्दै सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गरे ।

पढ्नुहोस् ओलीको भनाइ :

हामीले पुष ५ गते प्रतिनिधि सभा विघटनको सिफारिस गर्‍यौं । विघटन गर्‍यौं । हामीले ठीक ठानेर गर्‍यौं । ठीक भनेर गर्‍यौं । ठीक थियो र गर्‍यौैं । नगरी नहुने थियो र गर्‍यौं । बिल्कुलै समसामयिक कदम चाल्यौं । होइन भने हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो । ध्वस्त पार्ने षड्यन्त्र भएको थियो । त्यस षड्यन्त्रलाई, हामीलाई झुण्ड्याउन जुन डोरी उनीहरुले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौं । पुस ५ गतेको कदम भनेको त्यही हो ।

हामीलाई झुण्ड्याएर मार्ने जुन डोरी उनीहरुले बनाएका थिए त्यो डोरी हामीले काटिदियौं । षड्यन्त्र छिन्यो । षड्यन्त्र छिनेपछि उनीहरु असाध्यै आत्तिए । उनीहरुले जे योजना गरेका थिए वर्षौंदेखि, उनीहरुलाई त्यही डर थियो प्रतिनिधि सभा भंग गरेर अर्को बाटो लिने हुन् कि भन्ने थियो । प्रतिनिधि सभा पुनःस्थापना भयो तर प्रतिनिधि सभा पुनःस्थापना भएर पनि केही पनि बिग्रिएन किनभने हामी माथि त्यतिबेलाको सबभन्दा ठूलो प्रहार के थियो भने संगठनात्मक प्रहार थियो ।

हाम्रो संगठन ध्वस्त पार्ने, चकनाचुर पार्ने र नेपालमा वामपन्थी आन्दोलन, परिवर्तनकारी आन्दोलन समाप्त पार्ने जुन योजना थियो त्यस योजनालाई हामीले…, त्यसको फेरि प्रत्यक्ष सम्बन्ध छैन । त्यो संसद आफू केही होइन । संसदको आफैंमा त्यसको अस्तित्व त्यस्तो थियो ? होइन । त्यसका क्रियाशील पात्रहरु जो थिए उनीहरुको षड्यन्त्र र त्यसको पृष्ठभागमा बसेका पुतली नचाउने कुसुलेहरु थिए ।

…उनीहरुको कोणबाट, उनीहरुको हिसाबले प्रतिनिधि सभा भंग गर्नै नहुने कुरा थियो । गर्नै नहुने काम थियो । किनभने त्यो गरिसकेपछि हामी जे गथ्र्यौं त्यसबाट हामीलाई समाप्त पार्ने उनीहरुको योजना खत्तम हुन्थ्यो । हाम्रो लागि त्यो नगरी नहुने अपरिहार्य थियो । त्यो राजनीतिक कदम थियो, त्यो संवैधानिक कदम थियो, त्यो संसदीय कदम थियो । मुख्य रुपमा त्यो प्रतिक्रियावादी षड्यन्त्रको विरोधमा जाने एउटा सचेत कदम थियो । त्यो चाल्नैपर्थ्यो ।

त्यसपछि हामीले ५ गते प्रतिनिधिसभा भंग गर्‍यौं, ६ गते केन्द्रीय कमिटीको विस्तार गर्‍यौं, ७ गते केन्द्रीय कमिटीको बैठक गर्‍यौं, त्यसपछि अनेक कार्यविभाजनहरु गर्‍यौं, प्रदेश कमिटीहरु बनायौं अनि जिल्ला पुनर्गठन गर्‍यौं, अरु जनवर्गीय संगठनहरु पुनर्गठन गर्‍यौं, हामी फागुन ११ मा फेरि प्रतिनिधि सभा पुनःस्थापना हुँदासम्म हामी एउटा मजबुत शक्तिको रुपमा प्रतिनिधि सभामा कसरी गयौं भन्दा पार्टीको साधारण सदस्यबाट समेत निकालिएको शक्ति फेरि पनि प्रमुख पार्टीको रुपमा प्रतिनिधि सभा पुनःस्थापना हुँदासम्म पुग्यौं ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook