• होमपेज
  • नीति कार्यक्रमका लागि फलेवासको बृहत अन्तरकृया
गण्डकी प्रदेश

नीति कार्यक्रमका लागि फलेवासको बृहत अन्तरकृया

पर्वत। आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि फलेवास नगरपालिकाले बृहत अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । नगरपालिकाले प्राथमिकतामा राख्न सक्ने योजनाहरुका लागि विषयबिज्ञ, राजनीतिक दलका अगुवा, पुर्व जनप्रतिनिधि, सामाजिक तथा संघसंस्थाका अगुवा लगायतसंग सुझाव सङ्कलन गरेको हो ।

बिहिबार नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा कृषि, स्वास्थ्य, वन तथा वातावरण, बिपत व्यवस्थापन, शिक्ष्ाँ लगायत नगरबासीको सरोकारका विषयका योजना समेट्न सहभागिहरुले सुझाव दिएका छन् । नगरको आन्तरिक स्रोत बढाउनका लागि नगरभित्रका पसल अनिवार्य दर्ता गराउने, नगरको प्राकृतिक स्रोतको समुचित उपयोग गर्ने लगायतका कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

विज्ञापन

कार्यक्रममा बोल्दै संविधानसभाका सदस्य एवं नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले अब परम्परागत ढंगले विकास गरेर जनताले पत्याउन छोडिसकेको बताउँदै आम नागरिकको चाहना अनुसार अघि बढ्नुपर्ने बताउनुभयो । विकासको जस लिन गरिने होडबाजी भन्दा नगरमा सबै राजनीतिक दल र अगुवाहरुले साझा अपनत्व लिएर अघि बढ्नुपर्ने बताउनुभयो । जनताको प्रतिनिधित्व दलले गर्ने भएकोले हरेक राजनीतिक दल समय अनुसार परिमार्जित हुन र नागरिकका परिवर्तित चाहना अनुसारका विकास गर्न आवश्यक रहेको बताउनुभयो । पुरानै ढंग र पाराले बिरासतको राजनीतिक जमाना अब नरहेको भन्दै जोशीले त्यहि ढंगले अघि बढ्न खोजे आगममी निर्वाचनमा अहिलेका राजनीतिक दलको अस्तित्व अझै कमजोर हुने चेतावनी दिनुभयो ।

अघिल्लो निर्वाचनमा ‘परिवर्तनको पदचाप पछ्याउन जनताले ढोका ढक्ढक्याएका थिए,’ जोशीले भन्नुभयो,’ ‘हामीले केहि कमजोरी गरेका कारण अहिलेको अवस्था आएको हो । नगरले बसाईसराई रोक्नेखालका प्रभावकारी कार्यक्रम ल्यउनुपर्ने जोशीले बताउनुभयो ।

नगरप्रमुख गंगाधर तिवारीले नगरमा आगामी वर्षका लागि चालु वर्षको भन्दा साढे १५ करोडको बजेट संघीय सरकारबाट घटेर आएको, प्रदेश सरकारबाट पनि बजेट घट्ने सम्भावना रहेकोले नगरले अपेक्षा गरेअनुसारका योजना तथा कार्यक्रम आगामी वर्ष समेट्न समस्या हुने बताउनुभयो । अग्रज तथा विज्ञहरुको सुभावका आधारमा नगरको प्राथमिकतामा योजना समावेश गर्दै जाने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

अग्रज तथा बिज्ञहरुले दिएका सुझाव र नगरको विकासमा तल्लिन भएर लाग्ने कुरामा फलेवासको नगरसभा सदस्य र कार्यपालिकामा बिमती नरहेको उहाँले बताउनुभयो । कालीगण्डकी हाइटेन्सन, नगर अस्पताल, मनमोहन बाटिका लगायतका गम्भिर समस्याका योजनाका कारण हालसम्म अपेक्षित गति लिन नसकिएको उल्लेख गर्दै नगरप्रमुख तिवारीले ति सबै समस्या समाधानको चरणमा रहेको र पुर्ण रुपमा समाधान भएपश्चात नगर गतिशिल रुपमा अघि बढ्ने बताउनुभयो ।

उपप्रमुख शोभा कुमारी क्षेत्रीले सबैले दिएका सुझाव र सल्लाहलाई ग्रहण गर्दै नीति कार्यक्रममा समेटेर अघि बढ्ने बताउनुभयो । किसान जागरुक भएर खेती गरेका स्थानमा बाटो र बत्तीको व्यवस्था गर्ने तथा उत्पादनका आधारमा दिने अनुदानमा बृद्धी गर्दै लैजाने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत ऋषिराम शर्माले नगरमा अत्यावस्यक रुपमा रहेको एम्बुलेन्स खरिद प्रकृया अघि बढेको, महिलाहरुको पाठेघरको क्यान्सर स्कृनिङको कार्यक्रमबारे तयारी भइरहेको लगायतका कार्यक्रम प्राथमिकतामा रहेको बताउनुयभो । उहाँले नगरको मुख्य समस्याका रुपमा रहेको बाँदर नियन्त्रणको प्रयास पनि नगरपालिकाले गरिहेको बताउनुभयो ।

कार्यक्रममा शिक्षाविद्, सामाजिक अगुवा एवं पुर्व प्रशासक भोलानाथ भुषाल, कृषि विज्ञ हेम शर्मा तिवारी, वडाध्यक्षहरु अर्जुनबहादुर कार्की, गंगानारायण श्रेष्ठ, पुर्व वडाध्यक्षहरु टिकाराम गौंडेल, भोला भुषाल, जीतबहादुर सुनारले नीति तथा कार्यक्रमका लागि सुझाव दिनुभयो ।

त्यस्तै राजनीतिक दलकोतर्फबाट नेपाली कांग्रेसका नगर सभापति हिरामणी सापकोटा, नेकपा एमालेकी निर्मला भुषाल, नेकपा माओबादी केन्द्रका नगर सचिव ढाकाराम सुबेदी, राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय सभापति रामेश्वर गौतम, राप्रपाका नगर अध्यक्ष टिकाराम कुँवर, नेकपा एकिकृत समाजबादीका नेता कृष्ण शर्मा लम्साल, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष बुद्धीप्रसाद गौंडेल, किसान भरतकुमार श्रेष्ठ लगायतले सुझाव दिनुभयो ।

सहभागिहरुले नगरमा आर्थिक मितव्ययिता कायम राख्दै आम नगरबासी र बिदेशीएका नेपालीले समेत तिरेको कर र रेमिट्यान्सको आम्दानीले धानेको अर्थतन्त्रलाई ख्याल गर्नुपर्ने बताएका छन् । सुझावलाई सक्नेजती मात्रै नीति तथा कार्यक्रममा समेट्न सहभागिहरुको सुझाव छ । फलेवासले आगमी १० असारमा आयोजना गर्ने १३ औं नगरसभा तथा बजेट, नीति तथा कार्यक्रमको तयारीका लागि बिभिन्न चरणका कार्यक्रमहरु आयोजना गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook