• होमपेज
  • के हो मन्त्री प्रेम आलेको ‘भाइरल’ अडियो काण्डको वास्तविकता ? ५० लाख नदिएपछि बाहिरियो ?
Breaking News

के हो मन्त्री प्रेम आलेको ‘भाइरल’ अडियो काण्डको वास्तविकता ? ५० लाख नदिएपछि बाहिरियो ?

काठमाडौं । प्रेम आले अर्थात् आफ्नो बोलीबाट पटक–पटक विवाद र चर्चामा आइरहने पात्र । उनी यति बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री छन् ।

पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चारमाध्यममा उनले गरेका कामको समर्थन र आलोचना व्यापक छ । पछिल्लो समय उनले बोलेको शब्द ‘काले–काले मिलेर खाऊँ भाले सोच्थे, अब आयो आले’ चर्चामा थियो ।

विज्ञापन

गए रातिबाट भने मन्त्री प्रेम आलेको एक गालीगलौचको अडियो ‘भाइरल’ भएको छ । अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत ओली नामका व्यक्तिसँग मन्त्री आलेको दोहोरो भनाभन भएको अडियो भाइरल भएको हो । अश्लील शब्दको प्रयोग गरिएको उक्त अडियोमा सुनिन्छ । आलेले भने ओलीसँग त्यसरी कुराकानी नभएको आफुसँग ५० लाख माग गरेको र नदिएपछि थप केही कुरा जोडेर अडियो सार्वजनिक गरिदिएको बताएका छन् । बाह्रखरीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

आलेले पठाएको स्कृन सटमा पनि ५० लाख रूपैयाँ माग गरिएको पाइएको छ ।

सो अडियोमा आलेले ‘तलाईं बसेकै ठाउँबाट उठाइदिन्छु’ भनेका छन् । सुरुमा आलेले अडियोमा ‘तपाईंको कमेन्ट मैले हेरेँ, तपाईंले के लेखेको त्यस्तो यार !’ भनेका छन् ।

यस्तो छ संवादको सम्पादित अंश–

प्रेम आले : कहाँ हुनुहुन्छ तपाईं ?

जगत : म इन्डियातिर छु ।


प्रेम आले : तपाईंको त्यो कमेन्ट हेरेँ मैले । के लेख्या हो त्यस्तो यार !

जगत : हैन हजुर, हामीले पनि यस्तो आस गरेको थिएन के गर्नु ।

प्रेम आले : कस्तो आस ?

जगत : तपाईंबाट यस्तो हुन्छ भन्ने आस लाग्या थिएन ।

प्रेम आले : गाली गर्दै) ‘तलाईं त्यहीँबाट उठाउँछु, कुन ठाउँमा छस् भन त ?

जगत : आऊ न त आऊ यता आऊ, मुम्बई छु म ।

प्रेम आले : (फेरि गाली गर्दै) ठाउँ भन त, मुम्बई काँ’हो ? (फेरि गाली) तलाई त्यही बाट उठाएर ल्याउछु ।

जगत : आइजा न आइजा तँ बेसरम ! तस्कर !

प्रेम आले : मुम्बई कुन ठाउँ हो भन त कुकुर !

जगत : लाज छैन । मन्त्रीको लागि बेचिखाने ।

प्रेम आले : तपाईं त्यहाँ आएर साला …तेरो खुट्टा काटेर प्याक गरेर हाल्दिन्छु ।

जगत : के गर्छस् त भन न ? तस्कर ! नौ महिना जेल बसेर आएको होइन । मलाई सिकाउँछस् !

प्रेम आले : (गाली गर्दै) त्याँ ट्वाइलेट सफा गर्छस्, मलाई सिकाउँछस् !

जगत : तँजस्तो होइन म चर्पी सफा गरेर खाने । आइजो न हेर्न म के काम गर्छु । (गाली गर्दै) तँ आइजो न एकै लात्ती हानेपछि गिर्नेजस्तो छस् ।

प्रेम आले : तेरो ठेगाना पठा’त ?

जगत : अंधेरी छु । तेरो को मान्छेलाई पठाउने हो पठा’के ? नम्बर म्यासेन्जरमा दिएको छु कल गर भन तेरो मान्छेलाई । त कति भाइरल हुन्छस् हेर्दै जा ।

यसरी आले र जगतबीचको संवाद सकिएको छ । अडियोमा दुवैजना चरम गालीगलौजमा उत्रिएका छन् ।

आखिर यो अडियोको वास्तविकता के हो त ? आखिर मन्त्रीको पदमा रहेका आले किन गालीगलौजमा उत्रिए ? बाह्रखरीले मन्त्री आलेसँग यसबारे संक्षिप्त कुरा गरेको छ :

तपाईंको अडियो सार्वजनिक भएको छ, त्यसमा थर्काएको तपाईंले नै हो ?
मेरो त्यो मान्छेसँग कुनै संवाद भएको छैन । विगतदेखि नै त्यो मान्छेले मेरोविरुद्ध लेख्दै आएको थियो । म वनमन्त्री हुने बेला धेरैपटक उसले मलाई टर्चर गर्‍यो । फोन गर्ने, सताउने । रक्सी खाने ‘साइको’ जस्तो । धेरै गाली पनि गर्‍यो, त्यो पनि सहेँ । अनि मैले यस्तो गाली नगर बाबु भनेर सम्झाएँ । एडिगजस्तो रै’छ ।

त्यसपछि उसले पैसा माग्यो । अनि मैले केको पैसा भनेँ । २० हजार, ५० हजार माग्यो । अनि अडियो सार्वजनिक गर्दिन्छु भन्यो । त्यो त मेरो स्वरै होइन नि ।

त्यो अडियो तपाईंको होइन ?
होइन ।

त्यो मान्छेसँग कुराकानीचाहिँ भएको थियो ?

अँ, एकचोटि भएको थियो । पैसा पनि माग्यो । म त आफ छक्क परेको छु । सेयर पनि गरेको देखेँ । म आफ्नो ‘स्टेटमेन्ट’ दिन्छु । मैले देशको लागि राम्रो काम गरिरहेको बेलामा मलाई बदनाम गर्ने मनसायले यो काम गरिएको हो । म वनमन्त्री हुने बेला उसले मलाई फोन गरेको थियो, भारतबाट । त्यति बेला मुम्बई, अंधेरी भनेको हो । खै कसरी जोड्यो त्यो पछाडिको ।

ऊसँग एकपटक मात्रै कुरा भएको हो ?

तीन/चारपटक कुराकानी भएको हो, पहिल्यै । त्यसपछि मेरो कुनै कुरै भएको छैन । म त आफैँ छक्क परेको छु ।

मन्त्री हुनुअघिकै कुरा हो यो ?
होइन । वनमन्त्री हुँदा कुरा भएको थियो दुई/तीनपटक । उसले मलाई गाली पनि गर्थ्यो । मैले गाली नगर्न भाइ भन्थेँ ।

तपाईंले गाली गरेको पनि सुनिएको छ नि ?
म काँ’ त्यस्तो गाली गर्छु र ? अचम्म परेको छु । फेरि, इन्डियाबाट उसले म्यासेन्जरमा कल गर्थो । अनि मैले दुई÷तीनपटक ब्लक पनि गरेँ । सर, खोल्दिनु न कुरा गर्नुछ भन्यो । एक वर्ष तनाव दियो । म वनमन्त्री हुँदाखेरिकै हो यो ।

तपाईंको चिनजानको व्यक्ति हुन् अडियोमा बोल्ने ?

अछामको मान्छे हो । फेस टु फेस अहिलेसम्म भेट भएको छैन । फोनमा मात्रै कुराकानी भएको हो । म्यासेन्जरमा फोन गरिराख्थ्यो । कैले त राति ११ बजे पनि । तनाव दिइराख्ने, कहिले रक्सी खाएर फोन गर्ने । मैले दुई/तीनचोटि डाटेँ (हप्काउए)को पनि छु त्यसलाई । यो कसरी आयो म त दंग परेको छु । उसले पैसा पनि मागेको छ, त्यो पनि म तपाईंलाई पठाइदिन्छु ।

पहिले को कुँवर भन्ने बोलेको थियो, पछि उसले मेरो साथी कुरा गर्ने भनेर त्यो जगतलाई दियो । फेरि त्यहाँबाट फोन गरेर गाली गरेको थियो । त्यसपछि म पनि रिसाइदिएँ । साला ! फटाह को होस् तँ गाली गर्ने ! भन्ने हिसाबमा भनेको । यो काँ’बाट आयो अचम्म परेँ म त ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook