• होमपेज
  • माधब नेपाल नयाँ रणनीतिमा, यस्तो छ अबको तयारी
Breaking News

माधब नेपाल नयाँ रणनीतिमा, यस्तो छ अबको तयारी

एमाले अध्यक्ष केपी ओली एकतर्फी रुपमा अघि बढ्न थालेपछि वरिष्ठ नेता माधव कुमार नेपाल नयाँ रणनीति बनाउन जुटेका छन् । त्यसका लागि नेता नेपालले गत सोमबार बेलुकादेखि नै आफूपक्षीय स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरुसँग एक्लाएक्लै छलफल गरिरहेका छन् ।

आफ्नो समूहको केन्द्रीय समिति बैठकमा ओलीसँग मिल्ने वा छुट्टै पार्टी गठन गर्ने भन्नेमा मिश्रित सुझाव पाएका नेता नेपाल अझै केही दिन पर्ख र हेरको अवस्थामा पुगेका हुन् ।

विज्ञापन

आफ्नो समूहको केन्द्रीय समिति बैठकले पार्टी एकताका लागि अन्तिम समयसम्म पहल जारी राख्ने निर्णय गरेको केही दिनमै ओली पक्षले एकपक्षीय बैठक राखेर महाधिवेशन केन्द्रित गतिविधि अघि बढाएपछि दोधारमा रहेका नेता नेपालले एकदुई नेताहरुसँग छुट्टाछुट्टै छलफल सकेर स्थायी समिति बैठकमार्फत निर्णय गर्ने तयारी गरेका छन् ।

दोस्रो तहका नेताहरु एकताकै पक्षमा रहेका र तेस्रो चौथो तहका नेताहरुले ओलीसँग मिल्न नसकिने सुझाव दिएको अवस्थामा नेपालले कस्तो निर्णय गर्ने हुन् भन्ने चासोको विषय बनेको छ ।

‘पछिल्लो अवस्थामा के गर्ने र कसरी अघि बढ्ने भन्नेमा निर्णय स्थायी समितिले गर्छ । त्यसका लागि एक दुई दिनमा बैठक बस्छ’ नेता मुकुन्द न्यौपानेले रातोपाटीलाई बताए ।

कसैको टाङमुनि छिर्दैनौं : नेता नेपाल

वरिष्ठ नेता नेपालले मंगलबार काठमाडौंमा भएको एक सार्वजनिक कार्यक्रममा आफू कसैको टाङमुनि नछिर्ने र शीर ननिहुर्याउने बताएका थिए । ‘हामी अगाडि बढ्छौँ दृढताका साथ । शीर निहुराउने छैनौँ । कसैको टाङमुनि छिर्ने छैनौँ’, नेता नेपालले भने, ‘अँध्यारो सुरुङमा जानेवाला छैनौँ । दम्भी, अहंकारी र गलत ढंगले चल्नेहरुलाई चुनौती दिएर नै तिनलाई माथ गरेर नै अगाडि बढ्नेछौँ ।’

नेता नेपालको यो अभिव्यक्तिले पनि ओलीसँग मिल्न सक्ने सम्भावना क्षीण भएको संकेत गर्छ । यसअघि ओली पक्षले नै महाधिवेसनसम्म दुई अध्यक्षको व्यवस्था गर्ने र समान हैसियतको प्रस्ताव नेता नेपालसमक्ष ल्याएको थियो । तर, उक्त प्रस्तावबाट ओली पछि हटेपछि नेता नेपाल ओलीको टाङमुनि नछिर्ने निष्कर्षमा पुगेका हुन् ।

स्रोतका अनुसार नेता नेपाल दुई अध्यक्ष बनाउन र समान अधिकारसहित शक्ति बाँडफाँट गर्न ओली तयार नभएपछि नेपाल राजनीतिक र सांगठनिक रूपमै संस्थापन पक्षसँग संघर्ष गर्ने निष्कर्षमा पुगेका हुन् ।

‘तत्काललाई एमालेमै रहेर राजनीतिक र वैचारिक रूपमा ओलीका कदमको भण्डाफोर गर्ने, देशव्यापी समानान्तर संगठन निर्माण तथा गतिविधि बढाउने र अन्तिम अवस्थामा नयाँ पार्टी गठन गर्नेसम्मका योजनासहित आन्तरिक संघर्ष’का लागि तयारी रहन नेता नेपालले आफु निकटका नेता कार्यकर्ताहरलाई आन्तरिक रुपमा निर्देशन नै दिइसकेका छन् ।

एकताको ढोका बन्द भएको छैन : युवराज ज्ञवाली

नेता नेपालले यस्तो संकेत गरे पनि सो समूहका नेता युवराज ज्ञवालीले पार्टी एकताको ढोका बन्द भैनसकेको दावी गरेका छन् ।

अध्यक्ष ओली पक्षले एकतर्फी बैटक राखेर विधान संशोधन गर्ने र पार्टी संरचना नै फेरबदलको तयारी गरेपछि धेरैजसो माधव पक्षीय नेताहरुले एमाले एकता धरापमा परेको बताउँदै आएका बेला ज्ञवालीले यस्तो तर्क गरेका हुन् ।

गत सोमबार बसेको एमाले ओली पक्षको केन्द्रीय समिति बैठकले विधान संशोधन प्रस्ताव पारित गर्नुका साथै अब माधव पक्षलाई कुरेर नबस्ने घोषणा गरेको थियो ।

त्यस्तै एमाले ओली पक्षले आगामी महाधिवेसनका लागि पार्टीका तल्ला तहका अधिवेशन गर्ने जनाएको थियो ।  तर, नेता ज्ञवालीले आगामी महाधिवेशनसम्म एमालेको नवौं महाधिवेशनले पारित गरेको विधान नै लागु हुने भन्दै विधान संशोधन मस्यौदा बनाएकै भरमा एकताको ढोका बन्द भयो भन्न नसकिने तर्क गरे ।

‘प्रस्तावित विधान अहिले कार्यान्वयनमा छैन, अहिले कार्यान्वयनमा रहेको विधान भनेको नवौं महाधिवेशनबाट पारित भएको विधान नै हो’, ज्ञवालीले भने, ‘तैपनि उहाँहरुले एकतामा आशंका, अवरोध हुने गरी र एकतालाई नोक्सान हुनेगरी निर्णय गर्नुभएको छ । यद्यपि त्यो मस्यौदा हो, अन्तिम फैसला होइन ।’

यही कारणले केपी ओली पक्षले पार्टी एकता नचाहेको भनेर विश्लेषण गर्न सहज भएको ज्ञवालीको भनाइ छ । ‘जति आउने मन छ आऊ, नआउनेहरु नआएपनि हुन्छ भन्ने ढंगले बोलेपछि अन्तत पार्टी विभाजनमा जान्छ । यसले त पार्टी अल्टिमेट्ली पार्टी विभाजनमा जान्छ भनेर विश्लेषण गर्नुपनि स्वभाविक हो’, ज्ञवालीको भनाइ छ ।

तर, यसैका आधारमा एमाले एकताको ढोका नै बन्द भयो, च्याप्टर नै क्लोज भयो, एकताको प्रक्रिया नै सकियो भन्न नसकिने ज्ञवालीको भनाइ छ । ‘एकताको ढोका नै बन्द भयो भन्ने निश्कर्ष होइन । प्रस्ताव मात्रै भएकाले फेरि भोलि एकता भयो भने त नयाँ ढंगले जान्छ, जेठ २ मा फर्कन्छ, एमालेकै विधानमा जान्छ ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook