• होमपेज
  • एमाले विवादले बागमती प्रदेश सरकार पनि धरापमा, नयाँ सरकार बनाउन छलफल
Breaking News

एमाले विवादले बागमती प्रदेश सरकार पनि धरापमा, नयाँ सरकार बनाउन छलफल

नेकपा एमालेको स्पष्ट बहुमत भएको बागमती प्रदेश सरकार केपी ओली पक्ष र माधव नेपाल पक्षबीचको अन्तर्विरोधका कारण सङ्कटमा छ । बागमती प्रदेशमा कूल १ सय १० जनामध्ये हाल १०९ जना मात्रै सांसद रहेका छन् । जसमध्ये ५७ जनाको स्पष्ट बहुमतबाट मुख्यमन्त्री डोरमणि पौडेलले सरकारको नेतृत्व गरिरहेका छन् ।

पछिल्लो समय केन्द्र सरकारमा सत्ता समीकरण बदलिएसँगै बागमती प्रदेशमा पनि एमालेको माधव पक्षले सरकारको नेतृत्वको आफ्नो पक्षले गर्न पाउनुपर्ने माग राख्दै ओली ओली पक्षलाई दबाब दिइरहेको छ । माधव पक्षले ओली पक्षलाई ‘ सरकार स्थापना भएदेखि साढे ३ वर्षसम्म यहाँहरूले सरकारको नेतृत्व गर्नुभयो । अब बाँकी समय सरकारको नेतृत्व हामीले गर्न पाउनुपर्छ । त्यसो हुँदा मात्रै एमालेको नेतृत्वमा प्रदेश सरकार यथावत् रहन्छ ।’ भन्ने प्रस्ताव गरेको थियो ।

विज्ञापन

जवाफमा, ओली पक्ष निकटका मुख्यमन्त्री पौडेलले ‘हामी छलफल गर्दैछौँ, केही दिन लाग्न सक्छ’  भन्दै ३ दिनको अवधि माग गरेका थिए ।  माधव नेपाल निकट एक सांसदले भने,‘ हामीले प्रदेशमा एमाले एकता जोगाउनको लागि नयाँ प्रयास गरेका छौँ । सरकार स्थापना गठन भएदेखि करिब साढे ३ वर्ष मुख्यमन्त्री डोरमणि पौडेलज्यूको नेतृत्वमा एक पक्षीय ढङ्गबाट सरकार सञ्चालन भइरहेको छ, अब बाँकी समय हामीले प्रदेश सरकारको नेतृत्व पाउनुपर्छ भन्ने हाम्रो माग हो । उहाँहरूले छलफलको लागि केही दिन समय माग गर्नुभएको थियो । त्यो समय आज सकियो, अब आधिकारिक जवाफ नआए हामी आन्तरिक छलफलपश्चात् आगामी रणनीति तय गर्नेछौँ ।’

उनले मुख्यमन्त्री पौडेलले सरकारको नेतृत्व आफ्नो पक्षलाई नदिने हो भने एमाले एकता सम्भव नहुने र सरकार परिवर्तन निश्चित रहेको बताए । सरकारले माधव समूहले दिएको म्यादलाई बेवास्ता गर्दै छलफलको लागि कुनै चासो नदेखाउनुलाई राजनीतिक मुद्दाको रूपमा अगाडि बढाएको उनले बताए । सरकार परिवर्तन र पार्टी एकताको विषयमा छलफल भएको भन्दै केही दिन भित्रै सरकार पुनर्गठन हुने माधव नेपाल समूहको एक नेताले जानकारी दिए ।

वर्तमान सरकार पक्षले एकपक्षीय ढङ्गबाट मन्त्रिपरिषद् विस्तार, संवैधानिक नियुक्ति र भागबण्डा गरेकाले यसलाई सच्याउन माधव नेपाल समूहलाई सरकारको नेतृत्व दिएर पार्टी एकताको पक्षमा उभिन उनको आग्रह छ ।

यदि, त्यसो नगर्ने हो भने, माधव नेपाल समूह सधैँ पार्टी एकता जोगाउने नाममा हेपिएर नबस्ने बरु प्रतिकारमा उत्रने उनको भनाई छ ।  सरकारको नीति तथा कार्यक्रम र बजेट आउनु अगाडि प्रदेशस्तरको कार्यदल बनाएर पार्टी एकताको लागि काम गरिरहेको भन्दै सो कार्यदलको रिपोर्ट अनुसार नै हालसम्मका गतिविधि सञ्चालन भएको नेकपा एमाले माधव पक्षका अर्का सांसदले बताए ।

उनले सरकार परिवर्तन र पार्टी एकताको लागि प्रायजसो विषयमा सहमति भइसकेको भए पनि अन्तिम चरणको वार्ता हुन बाँकी रहेकोले आगामी केही दिनमा नै ती विषयहरूले पूर्णता प्राप्त गर्ने बताए ।

सरकार परिवर्तनका लागि छलफल चल्दै छ – प्रमुख सचेतक निरौला

नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले सरकार परिवर्तनको विषयमा पार्टी पदाधिकारीहरूबीच छलफल जारी रहेको बताएका छन् । रातोपाटीसँग कुराकानी गर्दै सचेतक निरौलाले सरकार परिवर्तन सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेर मन्त्रिपरिषद् विस्तार र परिवर्तन गर्न सक्ने भएकाले यस विषयमा पार्टी नेतृत्वसँग छलफल जारी रहेको बताए ।

माधव नेपाल समूहले पार्टी एकता र सरकार परिवर्तनको विषयमा कुनै पनि समय सीमा दिएको विषयमा आफूलाई जानकारी नभएको बताए । ‘सरकार र मन्त्रिमण्डल पुनर्गठन सरकारको क्षेत्राधिकारभित्र रहेर हुन्छ, पार्टी नेतृत्वसँग त्यस विषयमा छलफल जारी छ छिट्टै नै यसको विषयमा आधिकारिक रूपमा जानकारी गराउँछौँ ।’ उनले भने ।

विपक्षी दलहरूसँग छलफल गरेर प्रदेशसभा बैठक आह्वान गरिने तयारी भइरहेको पनि उनले बताए ।

राजनीतिक सङ्कट चुलिएको बेला प्रदेश प्रमुख प्रसाई ओली भेट्दै

बागमतीका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई शुक्रवार बिहानै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न काठमाडौँ पुगेका छन् । केन्द्रीय राजनीतिको समीकरणमा परिवर्तन आएसँगै एमाले भित्रकै अन्तर्विरोधका कारण प्रदेश सरकारको पदीय आयु धरापमा परेको बेला प्रदेश प्रमुख प्रसाई अध्यक्ष ओलीसँग भेट गर्न काठमाडौँ पुगेका हुन् ।

उनले अध्यक्ष ओलीसँग बागमती सरकार टिकाउन आवश्यक रणनीति बनाइदिन भन्दै प्रस्ताव राखेको एक सांसदले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनी र गण्डकीका प्रदेश प्रमुख परिवर्तन गरेपछि बागमतीका प्रदेश प्रमुख प्रसाई पनि आफू असुरक्षित महसुस गरी अध्यक्ष ओलीसँग भेट गर्न काठमाडौँ पुगेका हुन् । रातोपाटीबाट साभार

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook