• होमपेज
  • प्रधानन्यायाधीश राणा, न्यायाधीश केसी र श्रेष्ठ बाहेकका १० न्यायाधीशले गरे संवैधानिक इजलासबारे छलफल
Breaking News

प्रधानन्यायाधीश राणा, न्यायाधीश केसी र श्रेष्ठ बाहेकका १० न्यायाधीशले गरे संवैधानिक इजलासबारे छलफल

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा हेर्न नमिल्ने भन्दै प्रश्न उठेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले आफूहरू उक्त मुद्दा हेर्ने संवैधानिक इजलासबाट नबाहिरिने निर्णय गरेपछि बसेको सर्वोच्चका वरिष्ठ न्यायाधीशहरूको बैठक बिनानिष्कर्ष टुंगिएको छ।

प्रतिनिधिसभा विघटनको मुद्दा हेर्न तोकिएका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईसहित  संवैधानिक इजलासको रोष्टरमा भएका वरिष्ठ १० न्यायाधीशको बैठक सर्वोच्चमा बसेको थियो।

विज्ञापन

उक्त बैठकमा इजलासबाट न्यायाधीश अलग हुने सैद्धान्तिक अवस्था, प्रतिनिधिसभा विघटनविरूद्ध परेको रिटको सुनुवाइमा दुई न्यायाधीशमाथि उठेका प्रश्न लगायतका विषयमा छलफल भएको उपस्थित एक न्यायाधीशले बताए।

संवैधानिक इजलासको रोष्टरमा प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशसिंह राउत, सपनाप्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान छन्।

सोमबारको बैठकमा प्रधानन्यायाधीश राणा, न्यायाधीश केसी र वमकुमार श्रेष्ठ भने उपस्थित थिएनन्। भोलि नै निर्णय हुने गरी उनीहरूको बैठक बस्ने ती न्यायाधीशले बताए।

‘आज त बैठक बसेर छलफल भएको मात्र हो। निर्णय उहाँहरूले गर्ने हो। भोलि नै यसबारे निर्णय होला,’ उनले भने।

केसी र श्रेष्ठबारे इजलासमा प्रश्न उठेपछि आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले संवैधानिक इजलासका पाँच जना न्यायाधीशको छलफल राखेका थिए।

उक्त छलफलमा न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले प्रश्न उठेपछि दुई जना न्यायाधीश इजलासबाट बाहिरिनु नै उपयुक्त हुने सुझाएका थिए।

प्रधानन्यायाधीश राणााले भने केसी र श्रेष्ठलाई आफैं निर्णय गर्न दिनुपर्ने मत राखे।

उनले यस्तो मत राखेपछि कार्की र भट्टराईले यो विषयमा निर्णय गर्न संवैधानिक इजलासको रोस्टरमा तोकिएका सबै १३ न्यायाधीशको बैठक राखेर छलफल गर्नुपर्ने माग गरेका थिए। उक्त मागलाई राणाले इन्कार गरे।

सोमबार न्यायाधीश केसी र श्रेष्ठले रिट निवेदकहरूले प्रश्न उठाए पनि आफूहरूलाई यो मुद्दा हेर्न कुनै आपत्ति नभएको बेहोरासहितको निर्णय संवैधानिक इजलासका अरू तीन न्यायाधीशलाई पठाएका हुन्।

विघटन बदर गरेर आफूलाई प्रधानमन्त्री बनाउन माग गर्दै रिट दिएका शेरबहादुर देउवाका वकिलहरूले उनीहरूले मुद्दा हेर्न नमिल्ने भनेर प्रश्न उठाएका थिए।

न्यायाधीश श्रेष्ठले नेकपा फुटाउने फैसला गरेको र न्यायाधीस केसीले उक्त फैसला पुनरावलोकन गर्न अस्वीकार गरेका कारण दुवैको स्वार्थ बाझिने प्रश्न उठाएका थिए।

प्रश्न उठेपछि यस विषयमा निर्णय लिन भन्दै आइतबार संवैधानिक इजलासमा उठेको थियो। संवैधानिक इजलासका न्यायाधीशबीच पनि उनीहरूले यो मुद्दा हेर्ने कि नहेर्नेबारे मत बाझिएको स्रोतले बताएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook