• होमपेज
  • अब खोप खरिदको नेतृत्व उपप्रधानमन्त्री पोखरेलले गर्ने
Breaking News

अब खोप खरिदको नेतृत्व उपप्रधानमन्त्री पोखरेलले गर्ने

खोप खरिद प्रक्रियामा नयाँ मोड

काठमाडौँ : कोभिड–१९ विरुद्धको खोप खरिदका विषयमा लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्री र कमिसन एजेण्टबीचको विवाद सतहमा आएपछि खोप खरिद प्रक्रियाको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले लिएका छन् ।

उपप्रधानमन्त्री पोखरेलको सचिवालयका अनुसार, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक समेत रहेहका उपप्रधानमन्त्री पोखरेलले आज गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी, मुख्यसचिव डा. शंकरदास वैरागीलाई बोलाएर यथाशीघ्र खोप ल्याउने प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । खोप खरिदका लागि प्रस्ताव माग भइ आकांक्षीहरूले प्रस्तावित मूल्य समेत पठाइसकेको अवस्थामा स्वास्थ्य मन्त्रालयबाट उक्त प्रस्ताव अघि बढेको छैन ।

विज्ञापन

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतको सिरम इन्स्टिच्यूट अफ इण्डिया प्रा.लि. बाट खोप ल्याउने सवालमा कमिसन एजेण्टले भाँजो  हालेपछि सम्झौता भैसकेको २० लाखमध्ये १० लाख डोज मात्र खोप आएको र बाँकी १० लाख सहित थप ५० लाख खोप खरिदमा बिचौलियाले भाँजो हालेको बताएका छन् ।

यद्यपि उनले कमिसन एजेण्टको विषयलाई लिएर प्रधानमन्त्रीसँग आफ्नो कुनै कुरा नभएको बताएका छन् । ‘प्रधानमन्त्रीले सोध्नुभएको पनि छैन, कमिसन एजेण्टका विषयमा मैंले उहाँलाई भनेको पनि छैन,’ उनले भने, ‘मन्त्रालयले कसैलाई कमिसन दिएको पनि छैन र दिदाँ पनि दिदैंन ।’

आज उपप्रधानमन्त्री पोखरेलले बोलाएको बैठकमा भने सरकारले भारतमा निर्मित खोपलाई प्राथमिकतामा राख्ने र  अन्य देशमा निर्मित खोपलाई पनि विकल्पमा राख्ने सहमति भएको छ । तर, भारतमा हालै कोभिड–१९ को दोस्रो लहर देखिएपछि खोप खरिद गर्न त्यहाँका राज्य सरकारहरूले सिरमसँग ताकेता गरिरहेका छन् ।

भारतमा अहिलेसम्म १४ करोड डोज जति भ्याक्सिन वितरण भएको छ, जबकी त्यहाँको जनसंख्या १ अर्ब ४० करोड छ । खोपका लागि राज्य सरकारहरूबाट दबाब र धम्की आउन थालेपछि सिरमका अध्यक्ष डा. साइरस पुनावाला र सीईओ आदर पुनावाला अहिले बेलायतमा छन् । भारतमा विकराल अवस्था भएपछि बेलायतले समेत उत्पादन गरी पठाएका अष्ट्राजेनिका खोप वितरणमा समस्या भैरहेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

सिरमले नेपालसँग सम्झौता भैसकेको २० लाखमध्ये फागुन ५ मा १० लाख डोज भ्याक्सिन दिएपछि बाँकी १० लाख डोज दिन आनाकानी गर्दै आइरहेको छ । खोप खरिद प्रक्रिया अवरुद्ध हुनुमा कमिसन एजेन्टको चलखेल मुख्य कारण भएको मन्त्री त्रिपाठीले बताएका छन् ।

सरकारले खोप ल्याउनका लागि परराष्ट्र मन्त्रालयलाई समन्वयको जिम्मेवारी यसअघि नै दिएको हो । सरकारले पहिलो चरणमा २१ लाख र दोस्रो चरणमा ३ लाख ७० हजार डोज कोरोनाविरुद्धको खोप वितरण गरिसकेको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook