• होमपेज
  • एमालेको आधिकारिकता दावी गर्दै माधव नेपाल पक्ष निर्वाचन आयोगमा, लिखित निवेदन दर्ता
Breaking News

एमालेको आधिकारिकता दावी गर्दै माधव नेपाल पक्ष निर्वाचन आयोगमा, लिखित निवेदन दर्ता

राजेन्द्र पाण्डे भन्छन्–ओलीले गरेका निर्णय अवैध हुन्, आधिकारिकता हामीले पाउनुपर्छ

काठमाडौं । नेकपा एमालेको आधिकारिकता दावी गर्दै माधव नेपाल पक्ष निर्वाचन आयोगमा गएको छ । नेपाल पक्षीय नेताहरु राजेन्द्र पाण्डे र बेदुराम भुसाल आइतवार आयोगमा गएर राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार कारवाही प्रक्रिया अघि बढाउन लिखित निवेदन दिएका छन् ।

अध्यक्ष केपी ओली २०७७ फागुन २८ र चैत ७ गते गरेका सबै निर्णय अवैधानिक भएकोले बदर गरि आफूहरुलाई आधिकारिता दिन माग गर्दै आयोग गएको नेता पाण्डेले बताए । पाण्डे र भुसालले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर लिखित निवेदन दर्ता गराएका हुन् । दर्ता नम्बर १२०८ रहेको छ ।

विज्ञापन

नेपाल प्रेससँग कुरा गर्दै पाण्डेले भने–केपी ओलीले विधानविपरित महाधिवेशन आयोजक समिति गठन गरेका छन्, आफू र महासचिवबाहेक निर्वाचित पदाधिकरी हटाएका छन् । यी सबै निर्णय देशको संविधान र पार्टीको विधान अनुसार छैनन् । ती निर्णय अवैध हुनुपर्छ र दफा ४३ र ४४ आकिर्षत हुनेगरि तुरुन्त हामीलाई आधिकारिकता प्रमाणित गरियोस् भनेका छौं ।

नेता पाण्डेले आफूले २०७१ सालमा सम्पन्न एमोको नवौं महाधिवेशनबाट निर्वाचित ८८ जना केन्द्रीय सदस्यको तर्फबाट विनेदन दर्ता गराएको बताए । माधव नेपाल पक्ष चैत १ गते पनि फागुन २८ को निर्णय बदर गर्न माग गर्दै आयोगमा गएको थियो ।

के छ दफा ४३ र ४४ मा ?

एमालेको माधव नेपाल पक्ष तीन महिनाअघि नेकपाकालीन विवादको बेलामा जस्तै पार्टीको आधिकारिकता माग गरेर आयोगमा पुगेको छ । त्यसबेला पनि प्रचण्ड–माधव पक्षले नेकपाको आधिकारिकता दावी गर्दै शुरु राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आयोगमा गएको थियो । सो दफामा दलको नाम,दलको छपा,विधान,झण्डा वा चिन्ह र दलको निर्णयको आधिकारिता सम्बन्धी विवाद भएमा आयोगले निरुपण गर्नुपर्ने व्यवस्था छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook