• होमपेज
  • बालुवाटारको ओली-दाहाल भेटवार्तामा पनि मिलेन कुरो
Breaking News

बालुवाटारको ओली-दाहाल भेटवार्तामा पनि मिलेन कुरो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको भेटवार्ता निष्कर्षविहीन बनेको छ। विवाद समाधानका लागि भएको भेटवार्ता बिना निष्कर्ष टुंगिएको हो।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सामान्य भेटवार्ता मात्रै भएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए। ‘उहाँहरूबीच पार्टीभित्रको विवाद समाधानको बिषयमा छलफल भयो। तर, कुनै बिषयमा टुंगोमा पुग्‍न सकेको छैन’, उनले भने।

विज्ञापन

नेकपामा पत्र युद्ध चलिरहेको बेलामा कात्तिक २८ गते सचिवालय बैठकमा अध्यक्ष दाहालले प्रस्ताव राखेपछि विवाद उत्कर्षतर्फ गएको हो। अध्यक्ष दाहालको प्रस्तावको प्रतित्युत्तर पत्र प्रधानमन्त्री ओलीले मंसिर १३ को सचिवालय बैठकमा पेश गरे।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीचको विवाद उत्कर्षमा पुगेपछि उनीहरुबीच संवाद टुटेको थियो। यसअघि गत शुक्रबार पनि दुई अध्यक्षबीच भेट भएको थियो। शनिबारको सचिवालय बैठकअघि उनीहरुबीच सम्वाद भएको थियो। त्यसबेला करिब २५ दिन लामो संवादहीनता तोडेर दुई नेताले भेटवार्ता गरेका थिए।

आइतबारबाट सुरु भएको स्थायी कमिटीको बैठकको बिषयमा छलफल गर्न प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भएको थियो। आइतबारको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओली सहभागी भएनन्। अध्यक्ष दाहालले बैठक चलाए।

ओली अनुपस्थित भएर पत्र पठाएपछि अध्यक्षद्धयको प्रस्ताव वितरण गरेर बैठक एक साता पर सारियो। तर, अझै पनि प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा नजाने अडान राखिरहेका छन्। यता अध्यक्ष दाहाल प्रस्ताव फिर्ता लिने मनस्थितिमा छैनन्।

ओली पक्षका नेताहरु अध्यक्ष दाहालको प्रस्तावलाई फिर्ता ल्याएर सहमति साझा प्रस्ताव ल्याउनुपर्ने तर्क गरिरहेका छन्। प्रधानमन्त्री ओली निकटका महासचिव बिष्णु पौडेल, मुख्यमन्त्रीद्वय शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाललगायतका नेताहरु सक्रिय छन्।

अध्यक्ष दाहालले पनि वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुसँग आन्तरिक छलफल गरिरहेका छन्।

यता, मध्यमार्गी भूमिकामा रहेका गृहमन्त्री रामबहादुर थापा बादल पनि समस्या समाधानका लागि मध्यमार्गी भूमिकामा देखिएका छन्।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले भेटवार्ता सुरु गरेपछि पार्टीभित्रको विवाद साँघुरिएर जाने नेताहरुको बुझाइ छ। नेकपाको स्थायी कमिटी बैठक यही २८ गते र केन्द्रीय कमिटीको बैठक पौषको ५ गतेका लागि बोलाइएको छ।

अहिलेको विवाद समाधान गरेर सबैलाई एकता महाधिवेशनमा केन्द्रीत हुनका लागि दोस्रो र तेस्रो तहका नेताहरुले सक्रियता देखाइरहेका छन्। चैत्र (२५–३०) गतेबाट नेकपाको एकता महाधिवेशन तोकिएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook