• होमपेज
  • प्रधानमन्त्री वा अध्यक्ष छड्नुपर्ने अवस्था आए के गर्लान् ओली ? यस्तो छ भित्री तयारी
Breaking News

प्रधानमन्त्री वा अध्यक्ष छड्नुपर्ने अवस्था आए के गर्लान् ओली ? यस्तो छ भित्री तयारी

सत्तारुढ नेकपामा चुलिएको शक्ति संघर्ष आफूविरुद्ध केन्द्रित हुने आकलन गरेका प्रधानमन्त्री ओली त्यसक्रममा आउनसक्ने सबैखाले परिस्थिति सामना गर्ने रणनीतिमा जुटेका छन्। आफूनिकट नेताहरुसँग उनले गरिरहेको छलफलले त्यही देखाउँछ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुलिएको संकटकै बीच बुधबार बोलाइएको केन्द्रीय सचिवालय बैठक आउँदो शनिबार, २० मंसीरसम्मका लागि स्थगित भएको छ। मंगलबार लामो समय बसेर बुधबार दिउँसो १ बजे बस्नेगरी टुंगिएको बैठक प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि बुधबार केहीबेर बसेर स्थगित भएको थियो। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको ओली अनुपस्थित बैठकले अर्को बैठक २० मंसीरमा बस्ने तथा त्यसको भोलिपल्ट, २१ मंसीरमा स्थायी कमिटी बैठक गर्ने निर्णय गरेको थियो। यसअघि स्थायी कमिटी बैठक १८ मंसीरमा बस्ने तय भएको थियो।

विज्ञापन

नेकपाका नेताहरुले बुधबारको बैठकमा आफू उपस्थित हुन नसक्ने जानकारी ओलीले मंगलबार नै दिएको बताएका थिए। ओलीनिकट नेताहरुले भने कार्यव्यस्तताका कारण प्रधानमन्त्री ओली बुधबार बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएका थिए। केही नेताले प्रधानमन्त्री एवं अध्यक्ष ओलीले समय मागेकै कारण बैठक तीन दिन पछि बस्नेगरी स्थगित भएको बताए।

के ओलीले समय मागेकै कारण बैठक पर सरेको हो ? नेकपामा विकसित पछिल्ला घटनाक्रमहरुले भने परिस्थिति अलि भिन्न देखाउँछन्।
नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय ओली र दाहालले एक अर्कालाई व्यक्तिगत तहमा ओर्लेर दोषारोपण गर्दै प्रस्तुत गरेका लिखित प्रस्ताव प्रस्तुत भएका छन्। दाहालले २८ कात्तिकको सचिवालय बैठकमा ओलीको चर्को आलोचना गरेर लिखित प्रस्ताव पेस गरेपछि ओलीले पनि त्यसको प्रत्युत्तरमा १३ मंसीरमा अर्को प्रस्ताव पेस गरेका थिए। यी दुवै प्रस्तावबाट सिर्जित तरंगले नेकपा विभाजनको संघारमा पुगेको चर्चा भइरहेका बेला महत्वपूर्ण मानिएको बुधबारको सचिवालय बैठक तीन दिन पर सरेको छ।

के ओलीले समय मागेकै कारण बैठक पर सरेको हो ? नेकपामा विकसित पछिल्ला घटनाक्रमहरुले भने परिस्थिति अलि भिन्न देखाउँछन्।

परिस्थिति अनुसारको रणनीति

नेकपामा शक्ति संघर्ष चुलिँदै जाँदा ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने अडान राख्दै आएको दाहाल समूह पछिल्लो समय त्योभन्दा अझ कडा रुपमा प्रस्तुत हुनथालेको देखिन्छ। मन्त्रिपरिषदमै रहेका दाहालनिकट नेताहरुले सार्वजनिक रुपमै ओलीको आलोचना र विरोध गर्न थालेका छन्। वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्यद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको साथ पाएका दाहाल अब ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नुपर्ने निचोडमा पुगेको नेकपा स्रोत बताउँछ। दाहालले आफूनिकट नेताहरुसँग यसबारे पटकपटक कुरा गरिसकेका छन्।

प्रधानमन्त्री ओलीनिकट स्रोत यही तयारी बुझेकैले ओली बुधबारको बैठकमा अनुपस्थित रहेको बताउँछ। स्रोतका अनुसार बुधबार ओलीको पूर्वनिर्धारित अरु खास व्यस्तता थिएन। बरु, पार्टीमा आफूविरुद्ध विकसित परिस्थितिको सामना कसरी गर्ने भन्नेबारे आफूनिकट नेताहरुसँग विभिन्न रणनीतिमा छलफल गर्न उनी व्यस्त थिए।

नेकपामा ओलीमाथि संकट आउँदा प्रायः लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेल काठमाडौं आइपुग्छन्। ओलीले सबैभन्दा विश्वास गर्ने पोखरेल नै उनीमाथिको संकट टार्न सक्रिय रहने गरेका छन्। पछिल्लो पटक ओलीको पक्षमा रणनीति बनाउन उनी सोमबार राति काठमाडौं आइपुगेका छन्। एकसातादेखि बुटवलमै रहेका पोखरेल भैरहवाबाट यती एअरलाइन्सको नियमित उडानबाट काठमाडौं आउन लाग्दा भैरहवामा जहाज विग्रिएपछि नेपालगञ्ज–काठमाडौं उडानमा रहेको अर्को जहाजलाई भैरहवामा अवतरण गराएर राति साढे ९ बजे काठमाडौं पुगेका थिए।

केन्द्रीय सचिवालयमा अध्यक्षद्वय ओली र दाहालबाट प्रस्तुत दुवै प्रस्तावलाई स्थगन गरेर एकीकृत प्रस्ताव ल्याउनुपर्ने बताउँदै आएका पोखरेल त्यही परिस्थिति सिर्जना गर्न सक्रिय रहेको स्रोत बताउँछ। प्रधानमन्त्री ओलीले सचिवालयमा दाहालको प्रस्तावमाथि छलफल हुनै नसक्ने, दाहालले प्रस्ताव फिर्ता लिएर माफी माग्नुपर्ने अडान मंगलबारको बैठकमा राखेका थिए। तर, सचिवालयका अधिकांश सदस्य प्रस्तावमाथि छलफल हुनुपर्ने पक्षमा रहेकाले दाहालको प्रस्ताव फिर्ता हुने सम्भावना देखिएको छैन।

दाहालले प्रस्ताव फिर्ता नलिएमा आफू साँच्चिकै संकटमा पर्ने ओलीको आकलन छ। सचिवालयका बहुमत नेताहरुले प्रस्तावलाई विधि र प्रक्रिया अनुसार टुंगो लगाउनुपर्ने बताउँदै आएका छन्। त्यहीकारण बुधबारको वैठकमा अनुपस्थित रहेका ओली दिनभरजसो बालुवाटारमै आफूनिकटका नेताहरुसँग अब कसरी अघि बढ्ने भन्नेबारे रणनीति तय गर्ने छलफलमा थिए।

प्रधानमन्त्री ओलीलाई उनीनिकट नेतामध्ये केहीले अप्ठेरो अवस्थामा प्रधानमन्त्री वा अध्यक्षमध्ये कुनै एक पद छोड्नुपर्ने सुझाव पनि दिएका छन्। तर, ओली महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधि सभाको यो कार्यकालमा प्रधानमन्त्री पद छाड्न तयार देखिँदैनन्।
प्रधानमन्त्री ओलीनिकट स्थायी कमिटीका एक सदस्य कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपालसहित सचिवालयका  सदस्यहरुले बहुमतका आधारमा गर्न सक्ने सम्भावित निर्णय र उनीहरुको कदमलाई कसरी रोक्ने भन्ने विषयमा छलफल भइरहेको बताउँछन्। स्थायी कमिटीका ती सदस्यका अनुसार प्रधानमन्त्री ओली पार्टीभित्र आइपर्ने जस्तोसुकै परिस्थितिबाट पनि नभाग्ने, बरु सामना गर्ने रणनीतिमा छन्। “उहाँले दाहाल–नेपाल गठबन्धनले आफूलाई प्रधानमन्त्रीबाट हटाउन संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याउन सक्नेसम्मको आकलन गर्नुभएको छ, त्यसको सामना कसरी गर्ने भन्नेबारे रणनीति तय गर्न आफूनिकट नेताहरुसँग निरन्तर छलफल गरिरहनुभएको छ”, स्थायी कमिटीका ती सदस्यले भने।

प्रधानमन्त्री ओलीलाई उनीनिकट नेतामध्ये केहीले अप्ठेरो अवस्थामा प्रधानमन्त्री वा अध्यक्षमध्ये कुनै एक पद छोड्नुपर्ने सुझाव पनि दिएका छन्। तर, ओली महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधि सभाको यो कार्यकालमा प्रधानमन्त्री पद छाड्न तयार देखिँदैनन्। १३ मंसीरको सचिवालय बैठकमा प्रस्तुत ३८ पृष्ठको लिखित प्रस्तावमा पनि उनले यो कुरा प्रष्ट उल्लेख गरेका छन्। दाहाल–नेपाल समूहले माग गरेकै आधारमा कुनै हालतमा राजीनामा नदिने, बरु त्यसबाट विकसित हुने परिस्थिति सामना गर्ने उनको तयारी छ।

त्यो तयारीबारेको छलफल कहाँसम्म पुगेको छ भने संसदीय दलमा आफूविरुद्ध अविश्वास प्रस्ताव आयो वा आफूलाई प्रधानमन्त्रीबाट हटाइयो भने के गर्ने भन्नेसम्मको छलफल भइरहेको छ। “संसदीय दलमा प्रधानमन्त्री असफल हुने अवस्था नै आइहाल्ला भन्ने त लाग्दैन”, ओलीनिकट एक नेताले भने, “यदि संसदीय दलमा बहुमत प्राप्त गर्न असमर्थ भएर प्रधानमन्त्रीको पदत्याग गर्नुपर्ने अवस्थामा यत्तिकै छाड्न हुन्न, उपनेता सुवास नेम्वाङ्गलाई दलको नेता र प्रधानमन्त्रीका रुपमा अघि सार्नुपर्छ भनेर पनि छलफल भइरहेको छ।” ती नेताले पछिल्लो समय ओलीले भन्दै आएको ‘छाड्नै परे नेतृत्व दोस्रो पुस्तालाई छाड्ने’ कुरा नेम्वाङ्गकै निम्ति भएको समेत बताए।

दाहालनिकट स्थायी कमिटीका एक सदस्यले भने यो मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास मात्र भएको टिप्पणी गरे। “बैठक केही दिन पर सारौं भन्ने उहाँको आग्रह भएकै कारण बैठक सारिएको हो, उहाँले भनेअनुसार नै बैठक लम्ब्याइएकाले उहाँले पार्टीले गर्ने निर्णय पालना गर्नुहुन्छ भन्ने नै हाम्रो विश्वास हो”, उनले भने, “अहिले नै त्यसो नभए के त भनेर टिप्पणी गर्नु हतार हुन्छ, घटनाक्रम कसरी विकसित हुन्छन्, पार्टीले नै त्यसको छिनोफानो गर्छ।”
थप सामग्री : https://www.himalkhabar.com/news/121028

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook