• होमपेज
  • मुकेश चौरसिया हत्या प्रकरणः पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता
Breaking News

मुकेश चौरसिया हत्या प्रकरणः पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता

सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी एकसाता पछि दर्ता भएको छ । बिहीबार चौरसियाको हत्या अभियोग लागेका पूर्व सभासद राजकुमार गुप्ता सहित १२ जनाविरुद्ध पर्सा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको हो ।

पर्सा प्रहरीले एक सातादेखि जाहेरी लिन अस्वीकार गर्दै आएपछि पूर्वमन्त्री समेत रहेका नेकपा स्थायी समिति सदस्य मातृकाप्रसाद यादवको अगुवाईमा विरोध तथा धर्ना कार्यक्रम हुँदै आएको थियो । आज पर्सा प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जाहेरी लिएको नेकपा वीरगञ्‍ज महानगरपालिकाका इन्चार्ज रहवर अन्सरीले जानकारी दिए ।

विज्ञापन

प्रहरीले जाहेरी नलिएपछि मृतकको शव एक सातासम्म परिवारले बुझ्‍न अस्वीकार गर्दै आएको थियो । यता जाहेरी दर्तासंगै अब शव बुझ्‍ने र शुक्रबार बिहान पोष्टमार्टम गर्न तयारी भएको अन्सारीले बताए । मृतकको शुक्रबार नै अन्त्यष्टि गरिने समेत अन्सारीले बताए ।

विन्दावासिनी गाउँपालिकाका सचिव समेत रहेका जिल्ला सदस्य चौरसियाको शव नारायणी अस्पतालमा राखिएको छ । झडप भएकै दिन प्रहरीले नेकपा पर्साका नेता राजकुमार गुप्ता सहित ४ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । राजनीतिक दवावमा गुप्तालाई छाडिएको भन्दै नेकपा पर्साले चरणवद्वरुपमा जाहेरी दर्ताका लागि दवाव दिन धर्ना सहितका विरोध कार्यक्रमहरु गर्दै आएको थियो ।

प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा हनिफ मियाँ गद्दी, सोकदिन मियाँ गद्दी र देवा सहनीलाई प्रहरीले पक्राउ गरिसकेको छ भने मुख्य योजनाकार भनिएका पूर्वसांसद गुप्तालाई प्रहरीले घटना लगत्तै पक्राउ गरी बिहीबार राति नै ‘माथिको आदेश’मा छाडेको थियो ।

यस्तै झडपमा सामान्य घाइते भइ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारार्थ भर्ना भएका उत्तम तिवारी र चिन्टु तिवारी अस्पतालबाटै फरार भएका थिए । उनीहरुमाथि पनि चौरसियाको हत्याको आरोप छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook