• होमपेज
  • बाख्रापालनबाट मासिक एकलाख कमाइ
Breaking News

बाख्रापालनबाट मासिक एकलाख कमाइ

बिदेश जाने सपना त्यागेर बाख्रापालन व्यावसाय

उमेरले भर्खर २२ लाग्नुभएका सुरज सापकोटा अहिले बाख्राको स्याहारसुसारमा व्यस्त हुनुहुन्छ । बन्दाबन्दीले घर बाहिर निस्कन नपाउँदा अहिले धेरै युवा मोबाइलमै व्यस्त भएको देखिन्छ तर सुरजलाई भने फोन उठाउन पनि भ्याईनभ्याई छ । बिहान उठेपछि राति नसुतेसम्म बाख्रालाई दानापानी दिने, घाँस काट्ने, खोर सफा गर्ने, पाठापाठीको स्याहार सुसार गर्ने, खरिद गर्न आउने ग्राहकसँग मोलमोलाई गर्ने उहाँको दैनिकी यसरी नै बितेको छ । सुरजले यसरी नै आफ्नो दिनचर्या बिताउन लागेको दुई वर्ष बितिसक्यो । कोरोनाका कारण भएको बन्दाबन्दीले समेत उहाँको दैनिकीमा खासै प्रभाव पारेको छैन ।
नवलपरासी पूर्व (नवलपुरको) हुप्सेकोट गाउँपालिका चार शंकदेवका सुरज सापकोटाले २० वर्षकै उमेरबाट बाख्रापालन व्यवसाय सुरु गर्नुभएको थियो ।१२ कक्षा उत्तीर्णपछि केही समय त्र्शिक्षण पेशामा लाग्नुभएका सापकोटाले एकाएक बाख्रा पालन गर्ने सोँच बनाउनुभयो । बाह्र कक्षा उत्तीर्ण गर्दानगर्दै अहिलेका युवा विदेश जाने , पैसा कमाउने अनि उतै सेटल हुने लक्ष्य लिइसकेका हुन्छन् । त्यसैले पनि सापकोटालाई कतिपय आफन्त , साथीभाईले कहाँ बाख्रा पालन गर्ने ? अलि ठूलै देश गएर पैसा कमाउनुपर्छ भाषा कक्षा पढन् थालेहुन्छ भन्ने सल्लाहा समेत दिएका थिए ।
तर , सापकोटाले विदेशमा पैसा कमाउन त्यति सजिलो छैन भन्ने बुझिसक्नुभएको थियो । किनकी उहाँको बुवा र दाई बैदेशिक रोजगारमै हुनुहुन्थयो । वुवा र दाईले बारम्बार विदेशमा पैसा कमाउन त्यति सजिलो छैन् धेरै दुःख छ , त्यहाँ गर्ने मिहिनेत नेपालमै गरे विदेश भन्दा धेरै कमाउन सकिन्छ भन्ने गर्नुहुन्थयो, जुन कुरा सुरजको मनमा गढेको थियो । त्यसैले आफ्नै देशमा केहि गर्नुपर्छ भन्ने सोच राखेर बाख्रा पालनतर्फ लागेको उहाँले सुनाउनुभयो ।
दुई वर्ष अघि २० लाख रुपियाँको लगानीमा सापकोटाले आफ्नै छिमेकी खगेन्द्र भुर्तेलसँग मिलेर शंखदेव युवा कृषि प्रालिको स्थापना गरि उन्नत जातको बोएर बाख्रापालन सुरु गर्नुभयो । केही स्थानीय जात समेत गरि ७० वटा बाख्राबाट सुरुवात गरिएको बाख्रा फर्ममा अहिले माउ पाठापाठी गरि करीब १५० बाख्रा छन् । मासुका लागि भन्दा पनि पाठापाठी उत्पादन गरी बिक्री वितरण गर्ने सोँच बनाएर सुरु गरेको व्यवसाय अहिले राम्रै फस्टाएको सापकोटा बताउनुहुन्छ ।
बजारका लागि पनि कुनै समस्या छैन । किसानले खोरमै आएर पाठापाठी खरिद गरेर लैजान्छन् । नवलपुर सहित चितवन , काठमाण्डौ , पोखरा लगायतका विभिन्न जिल्लाबाट बोयर जातका बाख्रा पालन सुरु गर्न थालेका किसानहरु पठापाठी खरीद गर्न आउँछन् । एउटाको १२ देखि १५ सय रुपैयाँसम्म पाठापाठी बिक्री हुने उहाँले बताउनुभयो । आमाको दूध खान छाडेर दुई वा तीन महिना पुगेपछि पाठापाठी बिक्री गर्न लायक हुन्छन् । केहि मासुका लागि समेत बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । खर्च कटाएर मासिक रु. एक लाख आम्दानी हुने गरेको सापकोटाले जानकारी दिनुभयो ।
डेढ विघा जग्गा लिजमा र आफ्नै गरि करीब चार विघा क्षेत्रफलमा व्यवसाय सुरु गरेको सापकोटाले बताउनुभयो । तीन कठ््ठामा संरचना निर्माण गरेको र करीब साढे तीन विघा क्षेत्रफलमा घाँस लगाएको सापकोटाले बताउनुभयो ।
सापकोटासंगै सहकार्य गर्नुभएका ३२ वर्षका खगेन्द्र भुर्तेलले बाख्रा पालन व्यवसायबाट सन्तुष्टि मिलेको बताउनुहुन्छ । चार वर्षसम्म साउदीमा दुःख गरेको सम्झदै भुर्तेलले गर्न सके स्वदेशै विदेशमा भन्दा बढि कमाउन सकिने बताउनुहुन्छ । ‘चार वर्षसम्मा अर्काको देशमा धेरै कष्ट सहेर बसेँ, विदेशमा पैसा कमाउन कहाँ सजिलो छ र ? मरेर काम गर्नुपर्छ , त्यहाँ गर्ने मिहिनेत आफ्नै देशमा गर्न सके भविष्य यहीँ छ । ’ भुर्तेलले भन्नुभयो ।
बाख्रा पालनसंगै घाँस खेती समेत सुरु गरेको भुर्तेलले बताउनुभयो । साढे तीन विघा जग्गामा घाँसखेती गरेको भुर्तेलले जानकारी दिनुभयो । बाख्राका लागि निकै पोषिलो मानिएको उन्नत जातको सुपर नेपियर घाँस खेतिबाट समेत आम्दानी गर्दै आएको भुर्तेलले बताउनुभयो । अहिलेसम्म १७ वटा जिल्लामा घाँस निर्यात् गरेको उहाँले बताउनुभयो । घाँस बिक्रीबाट रु. पाँच लाख आम्दानी गरेको उहाँले जानकारी दिनुभयो ।
प्राविधिककै सल्लाहामा आधुनिक प्रविधिको खोर निर्माण गरेर बाख्रा पालन गरेको सापकोटा बताउनुहुन्छ । ‘बाख्रा पालनका लागि सबैभन्दा महत्वपूर्ण पक्ष नै खोरको व्यवस्थापन हो । त्यसैले बाख्राका लागि उचित आधुनिक प्रविधिको खोर बनाएका छौ । ’ सापकोटाले भन्नुभयो । ‘खोर निर्माण उचित नभए बाख्रा नसप्रने , रोग लाग्ने हुन्छ त्यसैले फेरी १० लाख रुपैयाँ लगानी गरेर खोर र अन्य संरचना निर्माण गर्दैछौ । ’

कोरोना माहामरीकै बिचमा पनि पाठापाठीको कारोबार भईरहेको सापकोटाले बताउनुभयो । ‘अन्य पेशा व्यवसाय गर्ने बन्दाबन्दीले निकै आत्तिएको देख्छु तर,  त्यस्तो समस्या छैन । बाख्रा पालनमा अहिले धेरैको आकर्षण बढ्दो छ । दिनहुँ जसो ग्राहक आउनुहुन्छ ।’ सापकोटाले भन्नुभयो ।
‘ग्राहकले समेत हामीलाई भर्खरैको युवा भएर पनि पशुपालन गरेर राम्रो काम गर्नुभएको रहेछ भन्छन् । गाउँघरमा पनि सबैले उदाहरण दिन्छन् । त्यसैले पनि अझै मिहिनेत गरेर राम्रो गर्ने हौसला मिल्छ । ’ सापकोटाले भन्नुभयो ।
विदेशको सपना छोडेर आफ्नै देशमा मिहिनेत गर्न सापकोटाले आफूजस्ता युवालाई सुझाव समेत दिनुहुन्छ । अबको युवाको भविष्य कृषिमै रहेको उहाँको बुझाई छ । साभार :गोरखापत्र अनलााइन

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook