• होमपेज
  • नेपाल-भारत द्विपक्षीय सम्बन्धमा छलफल गर्न सहमत
Breaking News

नेपाल-भारत द्विपक्षीय सम्बन्धमा छलफल गर्न सहमत

काठमाडौं, ३१ साउन । नेपाल–भारत द्विपक्षीय सम्बन्धमा निकट भविष्यमै छलफल गर्ने सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय विषयमा छलफलका लागि सहमति भएका हुन् ।
प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी मोदीसँग शनिबार टेलिफोनमा कुराकानी गरेका छन् । सो कुराकानीपछि उनीहरु भविष्यमा द्विपक्षीय विषयका छलफललाई निरन्तरता दिन सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले गत २८ चैतमा प्रधानमन्त्री मोदीसँग भएको कुराकानीको स्मरण गर्दै भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा उनलाई बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेपाल सरकार, नेपाली जनता र स्वयम् आफ्नातर्फबाट प्रधानमन्त्री मोदी र उनीमार्फत भारत सरकार र जनतामा स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले भारतका जनताको निरन्तर प्रगति र समृद्धिको शुभेच्छा पनि प्रकट गरेका छन् ।
‘स्वतन्त्रता दिवसका अवसरमा आज गर्नुभएको सम्बोधनमा प्रधानमन्त्री मोदीले छिमेकलाई नवीकृतरुपमा प्राथमिकतामा राखिएको बताउनुभएकामा प्रधानमन्त्री ओलीले सराहना गर्नुभयो’, मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपालका प्रधानमन्त्रीले अर्थपूर्ण द्विपक्षीय सहयोगको अपेक्षा गर्नुभयो ।’
कुराकानीका क्रममा दुवै देशका प्रधानमन्त्रीले कोभिड–१९ विरुद्ध गरिएका पछिल्ला प्रयासबारे विचार आदानप्रदान गर्नाका साथै महाव्याधिका क्षेत्रमा सहकार्य गर्न सहमत भएका छन् । महामारीबाट नेपाली जनतालाई जोगाउन तथा त्यसविरुद्ध नेपाल सरकारका प्रयासबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप चाँडोभन्दा चाँडो विकास हुनुपर्नेमा जोड दिए । उनले भारतसहित विश्वका वैज्ञानिक त्यस्तो खोप विकास गर्न सफल हुने र त्यसले रोगको रोकथाम र फैलावट नियन्त्रणमा योगदान गर्ने आशा व्यक्त गरेका छन् ।
साथै, प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत निर्वाचित भएकामा प्रधानमन्त्री मोदीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook