• होमपेज
  • लगानी बोर्डको अध्यक्ष नियुक्तिले ओली प्रचण्ड विवाद बढायो
Breaking News

लगानी बोर्डको अध्यक्ष नियुक्तिले ओली प्रचण्ड विवाद बढायो

विवादित निर्णय गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्रको असन्तुष्टि फेरि चुलिएको छ । आज बालुवाटारमा साँझ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच चर्काचर्की भएको छ ।

डेढ महिनायताको विवाद समाधानका लागि बसेको बैठकमा अध्यक्ष प्रचण्डले ओलीले एकपक्षीय ढंगले नियुक्तिहरु गरिरहेको भन्दै आपत्ती जनाएको बुझिएको छ । उनले लगानी बोर्डको अध्यक्षमा सुशील भट्टलाई नियुक्ति दिएकोमा प्रश्न उठाएका थिए । ओलीले योग्यताका आधारमा नियुक्ति गरेको जवाफ दिएका थिए । प्रचण्डले पनि यस्तै गतिविधि गर्दै गएकैले राजीनामा माग्नुपरेको जवाफ दिएको विश्वस्त स्रोतले बताएको छ । बैठकमा भट्टको नियुक्तिको विषयमा दुई अध्यक्षबीच चर्काचर्की परेको थियो ।

विज्ञापन

प्रचण्डले केन्द्रीय कमिटी बैठक बसी टुंगोमा पुग्न सहमत हुन आग्रह गरेका थिए । तर, ओलीले कोरोना भाइरसको जोखिम बढ्दै जाँदा केन्द्रीय कमिटी डाक्न नसकिने जवाफ दिएका थिए । उनले सचिवालयबाट टुंगो लगाउन भने । यस विषयमा पनि दुई अध्यक्षबीच मत बाझिएर चर्काचर्की परेको थियो ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए । खनालले पनि ओलीको कार्यशैलीको आलोचना गरेका थिए । उनले पनि भट्टको नियुक्तिमा प्रश्न उठाएको बुझिएको छ ।

सहमतिका लागि भनेर बसेको बैठकमा चर्काचर्की भएपछि विना निष्कर्ष टुंगिएको छ । बुधबार पुनः साँझ ५ बजे बैठक बस्ने सहमति भएको छ ।

यसअघि आज कोभिड १९ रोकथामका लागि चाल्ने कदमका लागि प्रधानमन्त्री ओलीले विज्ञहरुसँग परामर्श लिंदा प्रचण्डलाई पनि निम्तो गरेपनि अनुपस्थित भएका थिए । उनी बस्ने टेबुल नै खाली थियो । बालुवाटारमा बसेको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook