अर्थ खबर

मह उत्पादन आधा घट्यो

लामो समयदेखिको बन्दाबन्दीका कारण मौरी चरन व्यवस्थापनमा समस्या र समयमा मह काढ्न नपाउँदा मह उत्पादनमा ५० प्रतिशत ह्रास आएको छ । झापाको शिवसतासी नपा–११ मा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थामा गत वर्षभन्दा आधा मात्र मह उत्पादन भएको हो ।
यो सहकारीअन्तर्गत गत वर्ष ६० टन मह उत्पादन भएको सहकारीकी व्यवस्थापक देवी दाहालले बताउनुभयो । यस वर्ष भने ३० टन मात्र मह उत्पादन भएको दाहालले जानकारी दिनुभयो । खासगरी मङ्सिरदेखि नै मौरीलाई चरनका लागि विभिन्न क्षेत्रमा लानुपर्ने थियो । मौरीपालनका लागि माघदेखि जेठसम्म मह काढ्ने सबैभन्दा राम्रो मौसम हो । यही बीचमा बन्दाबन्दीले मौरी चरनमा लान नसक्दा मह उत्पादन घटेको हो ।
मौरीलाई गाडीमा हालेर एक स्थानबाट अर्को स्थानमा पु¥याउन पास नभएका कारण सकिएन । सबै किसानले मौरी चरन लान सकेनन् । त्यतिमा होइन मह काढ्ने बेलामा समेत जान सकिएन । मह त्यसै खेर गयो । चरन नभएका कारण जम्मा भएको मह नै मौरीले खाएर बस्ने अवस्था आयो । सोही स्थानकी मौरीपालक किसान धनमाया पाठकले गुनासो गर्नुभयो । स्थानीय प्रशासनले मौरीपालक किसानको समस्या नबुझ्दा समयमा पाससमेत पाइएन । पास नपाएका कारण मौरी चरनमा लान ल्याउन समस्या भयो । यसले मह उत्पादनमा प्रत्यक्ष असर गरेको सहकारीकी अध्यक्ष धनमाया थापाले बताउनुभयो ।
मौरीपालनको ब्लक क्षेत्रसमेत घोषणा गरिएको शिवसतासीमा १५० जनाभन्दा बढी मौरीपालन गर्ने महिला किसान रहेका छन् । यहाँका किसानले तीन हजार पाँच सयभन्दा बढी मौरीका घार छन् । किसानले घटीमा १५ घारदेखि बढी तीन सय घारसम्म मौरीपालन गरिरहेको जनाइएको छ ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook