नवलपरासी । राष्ट्रिय सेवा दलको सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज सम्पन्न भएको छ। राष्ट्रिय सेवा दलका प्रमुख संरक्षक तथा सम्माननीय प्रधानमन्त्री श्री सुशील कोइरालाको प्रमुख आतिथ्यतामा नवलपरासी जिल्लाको हात्तीखोरस्थित श्री राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा मिति २०८२ माघ २० गते दीक्षान्त कवाज सम्पन्न भएको हो।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले सफलतापूर्वक तालिम सम्पन्न गर्ने सम्पूर्ण क्याडेट छात्र–छात्रालाई बधाई दिँदै राष्ट्रिय सेवा दल तालिममार्फत युवाहरू अनुशासित, मर्यादित र राष्ट्रप्रति समर्पित नागरिक बन्दै गएको उल्लेख गर्नुभयो। उहाँले सरकारको उच्च प्राथमिकतामा रहेको राष्ट्रिय सेवा दलले युवालाई राष्ट्र निर्माणमा सक्षम बनाउँदै आएको बताउनुभयो।
विज्ञापन
दीक्षान्त कवाज समारोहमा प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देल, राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक, स्थायी पदाधिकारी, स्थानीय निकायका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, प्रधानाध्यापक, अभिभावक, NCC Alumni Association का पदाधिकारी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस्तै, महोत्तरी जिल्लाको बर्दिबासस्थित राष्ट्रिय सेवा दल मध्य पूर्वी तालिम शिक्षालयमा समेत निरीक्षणाधिकृत विभागका प्रमुख उपरथि मधुकर सिंह काफ्लेको प्रमुख आतिथ्यतामा सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज सम्पन्न भएको छ।
दुई वटा तालिम शिक्षालयमा आयोजित दीक्षान्त कवाज समारोहबाट आज कुल १ हजार ५० जना क्याडेट छात्र–छात्रा दीक्षित भएका छन्। यससँगै चालु वर्षमा राष्ट्रिय सेवा दलका सिनियर तथा जुनियर डिभिजन तालिम सफलतापूर्वक सम्पन्न गर्ने क्याडेटको संख्या ७ हजार ९१० पुगेको छ।
वि.सं. २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलबाट हालसम्म सिनियर तथा जुनियर डिभिजन गरी जम्मा ८५ हजार ८४८ जनाले तालिम प्राप्त गरिसकेका छन्।


फेसबुक प्रतिक्रियाहरु