पर्वत–कालीगण्डकी तटीय क्षेत्रको पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत दोस्रो दिन तनहुँको देवघाटमा विशेष समारोह सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले कालीगण्डकी क्षेत्रलाई स्वदेश तथा विदेशमा चिनाउनका लागि यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले कालीगण्डकीको संरक्षण नगर्ने हो भने सिंगो गण्डकी प्रदेशकै भविष्यमाथि खेलवाड हुँने बताउँदै यस यसको संरक्षण र सम्वद्र्धनमा सवैको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा परमानन्द संस्कृति गुरुकुलका प्राचार्य स्वामी सचितानन्द सरस्वतीले पवित्र भुमि देवघाट, कालीगण्डकीको उद्गम स्थल दामोदरकुण्ड र मुक्तिनाथ हुँदै देवघाट सम्मको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
विज्ञापन
गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयको सहयोगमा गत शुक्रवारदेखि जारी अभियान अन्तर्गत दोस्रो दिन देवघाटमा सभा सम्पन्न भएको हो । कार्यक्रममा चितवन उद्योग बाणिज्य संघका अध्यक्ष सुमन श्रेष्ठ, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी, हेटौडा उद्योग बाणिज्य संघका अध्यक्ष दिपक सापकोटा, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजन शाक्य, उद्योग तथा पर्यटन मन्त्रीका स्वकीय सचिब जीवन विक्र उच्चै, देवघाट गाउँपालिका ५ का अध्यक्ष पुर्ण बहादुर कुँवर लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेलले स्वागत सहित कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्नुभएको थियो भने संचालन नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले गर्नुभएको थियो । धन्यवाद सहित समापन पर्वत उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कमल जिसीले गर्नुभएको थियो ।
कार्यक्रममा सहभागिहरुले पछिल्लो समय चर्चामा रहेको कालीगण्डकी डाईभर्सनप्रति आक्रोस पोखेका थिए । कालीगण्डकीलाई धार्मिक पर्यटनसँग जोडिरहँदा किनारमा रहेका विभिन्न जातजाती, भेषभुषा लगायत धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षणमा जोड दिनुपर्ने बताएका छन् । कालीगण्डकीको स्वरुप बिगार्न नहुने उनिहरुको भनाई रहेको छ ।
देवघाटदेखि शुरु भएको अभियान अन्तर्गत उत्तरबाहिनी,रुरुक्षेत्र र विश्वकै ठुलो शालिग्राम शिला रहेको सेतीवेणी, गलेश्वर धाम हुँदै मुक्तिनाथसम्मको धार्मिक गन्तब्य निर्माण गर्न लागिएको हो । धार्मिक दृष्टिकोणले अत्यन्तै महत्वपुर्ण सम्पदाहरु रहेपनि विश्व समुदायबीच प्रचार प्रसार हुन नसकेको कालीगण्डकीको महिमा उजागर गर्नका लागि गरिएको यो कार्यक्रमपछि भारतीय मात्र नभएर विश्वका अन्य मुलुकका भक्तजनहरु समेत यस क्षेत्रमा आकर्षण बढ्ने विश्वास लिईएको छ ।
कालीगण्डकी संसारकै ठुलो हिमशृङ्खलाबाट उत्पन्न भएर नेपालको मध्यभागलाई सिञ्चन गर्दै बग्ने संसारकै पवित्रतम देवनदी मानिने उहाँहरुको भनाई छ । मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्डबाट उत्पत्ति भई म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै बग्छ ।
उक्त कार्यक्रमवाट सवै क्षेत्रको महिमा समेटिएको ब्रोसर प्रकाशन तथा वितरण र बृत्तचित्र निर्माण गरिनुका साथै स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माद्याममा समाचार, विचार, आलेख प्रकाशन गरिने पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेलले बताउनुभयो ।
प्रचारात्मक कार्यक्रम आज उत्तरबाहिनी र रिडीमा संचालन गरिने आयोजकले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु