राजेन्द्र बहादुर क्षेत्री ।
नेपाल कृषि प्रधान देश हो । यहाँको झण्डै ६० प्रतिशत भन्दा बढी जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि पेशामा संलग्न छन् । तर विडम्बना ! कृषि र किसानको वास्तविक पीडा बुझ्ने प्रयास नभई, किसानको नाममा ‘कार्यक्रम सजाउने’ र ‘फोटो सेसन’ गर्ने चलन दिनानुदिन बढ्दो छ । असार १५ अर्थात् राष्ट्रिय धान दिवस—जुन दिन असारकोवर्षामा धान रोपेर, दही चिउरा खाएर, आपसी मेलमिलाप गरिन्छ, त्यो अब वास्तविक किसानभन्दा बाहिरी दुनियाँका ‘नाटककार’ र ‘क्यामरा प्रेमी’हरुको प्रदर्शनीमा सीमित हुन थालेको छ ।
विज्ञापन
१. असार १५ : किसानको श्रमको प्रतीक
धान दिवसले किसानको श्रम, माटोको माया र प्रकृतिसँगको सहकार्यलाई सम्मान गर्ने उद्देश्य राखेको हो । वर्षातको सुरुवातसँगै खेतबारी हरियालीले ढाकिँदै जान्छ, र किसानका अनुहारमा उत्साह ल्याउने यही समय हो—असारको १५ गते । वास्तविक किसानका लागि यो मनोरञ्जन होइन, कामको चपेटा हो । पानी, हिलो, अप्ठ्यारो भौगोलिक अवस्था र शारीरिक परिश्रमको पराकाष्ठा देखिन्छ खेतमा ।
तर, अहिले यही दिन केही ‘शहरिया’, ‘कुर्सीवादी’ तथा ‘पार्टीका नेतागण’को रमाइलोको दिन बन्न थालेको छ । गाउँकै खेतमा गइकन रोपाईंको साटो, मिडियाको चमकमा दुई मुट्ठी बिउ रोप्दै हाँसोको अभिनय गर्नु किसानको श्रमप्रति अपमान हो ।
२. किसान होइन, कृत्रिम नायकको मेला
असार १५ मा देखिने दृश्यहरू हेर्दा लाग्छ—देशभरका नेताहरू, अभिनेता, नेतृहरू, प्रशासक, मन्त्री, सचिवहरू सबै खेतीपातीमै रमाइरहेका छन् । उनीहरूको हातमा कोदालो, काँधमा गह्रा, टाउकोमा ढुंगा टोपी अनि अनुहारमा चम्किलो मुस्कान । तर ती हातहरूले कहिल्यै एक मुट्ठी बीउ पनि छरिसकेका हुँदैनन् । उनीहरूले कहिल्यै एउटा खेतमा तीन घण्टा पनि काम गरेका हुँदैनन् । उनीहरूलाई थाहा छैन—धान रोप्ने बेलाको कादो कस्तो हुन्छ, पानीको गहिराई कति हुनुपर्छ, र धानको बिरुवा कसरी तयार पारिन्छ ।
फोटो सेसन पछि तिनै नेताहरूको भाषण : “किसान backbone हुन् हाम्रो अर्थतन्त्रका”, “सरकार किसानप्रति प्रतिवद्ध छ”, “कृषिमा यान्त्रिकीकरण ल्याइन्छ”, आदिले भरिएको हुन्छ । तर उनीहरूको व्यवहार, नीतिनिर्माण र बजेट विनियोजन कतै पनि किसानमैत्री हुँदैन । यस्तो देखावटी भाषण किसानको वास्तविक पीडा माथि नमक छर्कनु सरह हो ।
३. किसानका समस्या बुझ्ने प्रयास नगर्नेहरू
वास्तविक किसानका समस्या सुन्ने समय छैन कसैसँग । उर्वरक छैन, सिचाइको सुविधा छैन, मलपानीको पर्खाइमा बिउ सुक्छ । दिनभरिको कामको मजदुरी नपाएर किसान ऋणमा डुब्छ, बिचौलियाले बजारमा लुट्छ, सरकारको अनुदान कागजमै सीमित हुन्छ । किसान उत्पादन गर्छ, तर नाफा कमाउँछ बिचौलिया । यस्तो अवस्थामा पनि, मन्त्रीहरू असार १५ मा भाषण दिन्छन् : “किसानका लागि मल, बीउ, पानी सुनिश्चित गरिनेछ ।”
अनि फेरि भोलिपल्ट समाचार आउँछ : “कृषकहरू मल नपाएर आन्दोलनमा”, “धान खेतमै सड्यो, बजार छैन”, “कृषि अनुदानमा घोटाला” । अनि त्यो भाषण दिने मान्छे अर्को वर्ष फेरि गह्रामा उभिएर, दही चिउरा खाँदै फोटो खिचाउँछ । यसरी किसानको निःस्वार्थ श्रमलाई मनोरञ्जनको विषय बनाउनु कति न्यायोचित हो ?
४. नक्कली किसानको अभिनय : उपहासको नयाँ शैली
आजको असार १५ कृषि दिवस नभएर ‘क्याटवाक दिवस’ झैँ देखिन थाल्यो । खेतमा हिँड्नै नजान्नेहरूले ‘कृषिप्रेमी’को अभिनय गर्दै धान रोपेर फेसबुक स्टाटस लेख्छन् । रोपाईंको ५ मिनेटमा खुट्टा फँसेपछि तिनको तस्बिर पोस्ट हुन्छ : “किसानको श्रमलाई सम्मान गरौं” भन्ने क्याप्सनसहित । तर वास्तविक किसानलाई तिनले कहिल्यै सम्मान गर्दैनन् ।
न किसानको कर्जा माफ गर्छन्, न बजारमा उचित मूल्य दिलाउँछन्, न मल, बीउ सहजै उपलब्ध गराउँछन्, न त पानीको सुलभ व्यवस्थापन गर्छन् । बरु ‘असार १५’ मा आफ्नो राजनीतिक सन्देश फैलाउन किसानको दु:खको मञ्च प्रयोग गर्छन् । यही हो उपहासको ज्वलन्त प्रमाण ।
५. समाधान : किसानको आत्मसम्मानमा आघात नगरौं
कृषकको नाममा भाषण गर्नु अघि एक दिन खेतमा पस्नुहोस् । एक दिन सँगै खन्नुहोस्, रोप्नुहोस्, गाह्रो खेप्नुहोस् । अनि मात्र किसानको मर्म बुझ्न सक्नुहुन्छ । भाषण, फूलमाला, भोजभतेर होइन—कृषकलाई चाहिएको हो :
सस्तो र गुणस्तरीय
सिंचाइको सुविधा
उचित मूल्य र बजार पहुँच
बीमा प्रणालीको कार्यान्वयन
मजदुरीको सम्मानजनक मूल्य
स्थायी कृषि नीति र दीर्घकालीन लगानी
६. अन्त्यमा : सम्मान स्वरूप, अभिनय होइन ऐक्यबद्धता आवश्यक
धान दिवसको सार्थकता त्यो दिन खेतमा उभिएर भाषण दिनुमा होइन, किसानका लागि नीति बनाउनुमा छ । किसानको सच्चा सम्मान भनेको उनीहरूको श्रमप्रति कदर गर्नु हो, उनीहरूका समस्या बुझेर समाधानमा अग्रसर हुनु हो । फोटो खिचाउने, टिका लगाउने र मिडिया हावी अभिनयको कुनै आवश्यकता छैन ।
यदि कसैले कहिल्यै खेती गरेका छैनन् भने, त्यो ठीक हो । सबैले खेती गर्नैपर्छ भन्ने होइन । तर कृषकप्रति सहानुभूति र संवेदनशीलता जरुरी छ । भाषण होइन, नीति जरुरी छ । फोटा होइन, सेवा जरुरी छ । किसानको श्रम र पसिनामा ताली बजाउने होइन, हातेमालो गर्ने मनोवृत्ति विकास गरौं ।
धान दिवस नाटकको मञ्च नभई कृषकप्रति कृतज्ञताको दिवस बनोस् — यही सन्देश हो । (लेखक क्षेत्री नेपाल सरकारका उपसचिब हुनुहुन्छ ।)
फेसबुक प्रतिक्रियाहरु