पर्वत /पुष्पलाल मध्यपहाडी लोक मार्ग क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाटको अभियानमा रहेका नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार पर्वत आउने भएका छन्।
गत जेठ दुई गते बैतडीको पाटनबाट सुरु भएको कार्यक्रममा प्रचण्ड सहित केन्द्री वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव लगायतका नेताहरू पनि प्रचण्डको साथमा सहभागी हुँदै छन्। यात्रा अन्तर्गत पर्वतमा आयोजना हुन लागेको ‘जनसंवाद’ कार्यक्रमको बरेमा जानकारी दिन प्रेस सेन्टर पर्वतले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य मनहरी तिमिल्सिनाले बिहीबार बागलुङमा हुने कार्यक्रममा सहभागी भएपछि शुक्रबार पर्वत सदरमुकाम कुश्मा बजारमा प्रचण्डको उपस्थिति रहने बताए।
विज्ञापन
जनसंवाद कार्यक्रम पार्टीका नेता कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रम नभएर विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारीहरू, व्यवसायी, सुरक्षाकर्मी, आम नागरिक लगायतसँग भेटेर समसामयिक विषयमा कुरा हुने छ। नागरिकले भोगिरहेका समस्या र उनीहरूको भावना प्रत्यक्ष रूपमा बुझेर सामाजिक समस्याको पहिचान गर्न तथा माओवादीले लिनुपर्ने योजनाको बारेमा थाहा पाउन पनि पनि यो कार्यक्रम उपयोगी हुने उनको भनाइ छ।
माओवादीले हालसम्म गर्दै आएका कार्यक्रमहरूमा नेताहरूले आफ्नो भाषण राख्ने, जनताले सुन्ने र नेताहरू फर्किएर जाने चलन रहेको भए पनि यो कार्यक्रममा भने जनताका घरमा जाने, सँगै बस्ने, सँगै खाने र जनतासँग भालाकुसारी हुँदा नागरिकको चाहना बुझ्न सहज भएको तिमिल्सिनाले बताए।
भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा खबरदारी गर्न, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको प्रगतिशील कार्यान्वयन गर्न, राजनीतिक स्थिरता, विकास र समृद्धिबारे पार्टी नीतिको सम्प्रेषण गर्न, राष्ट्रिय स्वाधीनताका पक्षमा जनजागरण सिर्जना गर्न, भ्रष्टाचार बेथिति र राजनीतिक सङ्कट समाधानको सुझाव लिन, पर्वत जिल्लाको विकास र जनसरोकारका विषयमा अन्तरक्रिया गर्न यो कार्यक्रम महत्त्वपूर्ण रहेको उनको भनाइ छ।
जेठ १५ गते संसदमा सरकारले बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेकोले पर्वतमा आयोजना हुने ‘जनसंवाद’ पछि पोखरामा कार्यक्रम गरेर केही दिनका लागि यात्रा स्थगित हुने छ। जेठ १० गते पोखरामा गण्डकी प्रदेश स्तरको कार्यक्रम आयोजना गरिएको छ। मध्यपहाडी अभियानका क्रममा प्रचण्डले सरकार सम्हालेको १८ महिनाको अवधिमा गरिएका राम्रा काम र अल्झनहरुको बारेमा नागरिकलाई बुझाउने क्रम पनि चलिरहेको छ।
यात्राको क्रममा माओवादी नेताहरूले विज्ञबाट मन्त्री बनाएर सांसदले नीति बनाउँदा मात्र सांसदहरूको ध्यान शक्ति हत्याउनमा नभई नीति बनाउनेमा केन्द्रित हुने बहस चलाइरहेका छन्। सांसदहरूले बनाएको नीति मन्त्रीहरूले कार्यान्वयनमा लैजानुपर्ने भए पनि यहाँ मन्त्री बन्नमा नै होडबाजी चलिरहेको उनीहरूको दाबी छ। वैदेशिक रोजगारीमा रहेकाहरूले कार्यस्थलबाट नै मतदान गर्न पाउने व्यवस्था, जिल्लाको विकासमा चुनौती र सम्भावना, बसाइसराइ रोकेर सन्तुलित विकास लगायतका शीर्षकमा पनि माओवादी नेताहरूले नागरिकसँग छलफल गरिरहेका छन्।
शुक्रबार बिहान ११ बजे पर्वत प्रवेश गर्ने माओवादी अध्यक्ष प्रचण्ड दिनभरजसो पर्वतकै कार्यक्रममा व्यस्त रहने छन्। निजामती कर्मचारीहरूसँग छुट्टै छलफल, उद्योगी तथा व्यवसायीहरूसँग भेटघाट, सहिद परिवार, बेपत्ता पारिएकाहरूको परिवार तथा विभिन्न आन्दोलनका घाइतेहरूसँग भेट तथा उनीहरूलाई सम्मान गर्ने कार्यक्रममा उनी सहभागी हुँदै छन्। पत्रकार सम्मेलन प्रेस सेन्टर पर्वतका पूर्व अध्यक्ष प्रनिश गिरीको सभापतित्वमा सम्पन्न भएको थियो ।
फेसबुक प्रतिक्रियाहरु