• होमपेज
  • कादूरीको सहयोगमा लेसपारका सबै घरमा धारा
Breaking News

कादूरीको सहयोगमा लेसपारका सबै घरमा धारा

गणेश पौडेल/पर्वत
पर्वत माघ १६ गते । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका पर्वतको मोदी गाउँपालिका–४ लेसपारका २ सय ११ घर धुरीमा खानेपानी बिस्तार भएसँगै स्थानीयवासी खुशी भएका छन् । पर्यटकिय गाउँको रुपमा रहेको लेसपारमा गाउँ नजिकै खानेपानीको स्रोत भएर पनि सहज रुपमा खानेपानी नपाउँदा समस्या झेल्दै आएका थिए ।

कादुरी एग्रिकल्चर एड एशोसियट्स ब्रिटिस गोर्खाज नेपालको सहयोगमा त्यहाँका २ सय ११ घरधुरी, १ सामुदायिक विद्यालय र ४ वटा सामुदायिक भवनमा धारा विस्तार गरिएको हो । काम शुरु भएको ६ महिनामै योजना सम्पन्न भएसँगै मंगलबार योजनाको उद्घाटन सम्पन्न भएको छ ।

विज्ञापन

खानेपानी योजना एक करोड ३६ लाख ५८ हजार ५६० रुपीयाँको लागतमा सम्पन्न भएको आयोजनाका व्यवस्थापक बुद्ध पुनले जानकारी दिनुभयो । जसमध्ये रु.१९ लाख ७१ हजार ९०० बराबरको स्थानीयले जनश्रमदान गरेका छन् भने संस्थामार्फत रु. एक करोड १६ लाख ८६ हजार ६६० रूपैयाँ खर्चिएको पुनले बताउनुभयो ।

स्थानीयवासी तथा पूर्व गाविस अध्यक्ष नरसिंह पुनका अनुसार खानेपानी विस्तारका लागि दुईवटा इन्टेक टयाङ्की, दुईवटा फिल्टर टयाङ्की, एक वितरण चेम्बर, पाँच वटा रिजर्भ टयाङ्की निर्माण गरिएको छ । बस्तीभन्दा माथि रहेको जङ्गलका लाटाखर्क र सिस्नेरा गरी दुई वटा मुहानबाट पानी ल्याइएको छ । कुल ६ हजार सात सय ६२ मिटर पाइपलाइनमार्फत पानी वितरण गरिएको पुनले जानकारी दिनुभयो ।

योजनाको कादुरी च्यारिटेवल फाउण्डेशन हङकङका डाईरेक्टर पिटर पउल डि ग्रेट र मोदी गाउँपालिका पर्वतका अध्यक्ष हिरादेबी शर्माले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै कादुरी एग्रिकल्चर एड एशोशिएसन नेपालका डाईरेक्टर कर्णेल एन्ड्रिउ मिल्जले लेसपारका स्थानीयवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले कादुरीले नेपालका दुरदराजमा रहेका जनताका लागि स्वच्छ खानेपानी, झोलुङ्गे पुल र स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै कादुरी एग्रिकल्चर एड एशोशिएन नेपालका प्राविधिक निर्देशक डा. नारायण गुरुङले लेसपारबासीको एकताका कारण ६ महिनामा गुणस्तरिय हिसावले योजना सम्पन्न भएकोमा प्रशंसा गर्नुभयो । सोही अवसरमा मोदी गाउँपालिकाका अध्यक्ष हिरादेबी शर्माले स्थानीय तहसँग सिमित साधान र स्रोतका कारण ठूला योजना संचालन नभएको र कादुरीमार्फत एक घर एक धारा संचालन हुँदा गाउँपालिकालाई समेत सहयोग भएको बताउनुभयो ।

घरघरमै खानेपानी सुविधा उपलब्ध भएपछि पानीका लागि खोला, कुवा र खोल्सामा धाउनुपर्ने स्थानीयको बाध्यता हटेको लेसपार एक घर एक धारा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर पुनले बताउनुभयो । स्थानीयले खानेपानी उपभोगका लागि मात्र नभएर व्यावसायिक तरकारी खेतीमा प्रयोग गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै