• होमपेज
  • सुबिधा सम्पन्न कुश्मा बसपार्क नगरपालिकालाई हस्तान्तरण
Breaking News

सुबिधा सम्पन्न कुश्मा बसपार्क नगरपालिकालाई हस्तान्तरण

पर्वत/संघिय सरकार अन्तर्गत सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले निर्माण गरेको कुश्मा बसपार्क आज एक कार्यक्रमका बीच कुश्मा नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

कार्यालयका प्रमुख कृष्ण महर्जनले कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीलाई उक्त भबन हस्तान्तरण गर्नुभएको हो । बसपार्क हस्तान्तरण भएपछि कुश्माको अव्यवस्थित यातायातको समस्या समाधान भएको नगरप्रमुख जोशीले वताउनुभयो ।

विज्ञापन

हस्तान्तरण कार्यक्रममा बाेल्दै कुश्मा नगरपालिकाका प्रमुख जाेशीले बसपार्क भवनमा सिटिहलसहित ९९ कराेडकाे डिपिअार गरिएकाे भएपनि बजेट अभावमा बसपार्क मात्रै निर्माण गरिएकाे जानकारी दिनुभयाे । नगरपालिका मातहत अाएकाे बसपार्कलाई छिट्टै सञ्चालनमा ल्याउने पनि जाेशीले जानकारी दिनुभयाे ।

कुश्मा नगरपालिका वडा नं. ६ स्थित बान्द्रेविडी चौरमा बसपार्क निर्माण सम्पन्न भएको हो । सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङले ६ करोड ६६ लाख ३ हजार दुइसय ६०को लागतमा निर्माण सम्पन्न गरेको हो । पर्वतमा सडक सञ्चालन भएको ३३ वर्षपछि बसपार्क निर्माण भएको हो ।

पर्वत सदरमुकाम कुश्मा बजारबाट दिनहुँ काठमाडौँ, पोखरा, सुनौली, विराटनगर, नेपालगन्ज, भैरहवा, काँकडभिट्टालगायतका लागि सवारीहरू छुट्ने गरेका छन् भने बागलुङ, रुकुम, म्याग्दी, मुस्ताङका लागि कुश्मा हुँदै जाने गर्दछन् । मध्य पहाडी लोकमार्गमा दैनिक हजारौँको सङ्ख्यामा सवारी साधनहरू ओहोर–दोहोर हुनुका साथै स्थानीय रुटमा चल्ने सवारीहरूको चापले सडकमा ट्राफिक समस्या हुने गरेको छ । बसपार्क सञ्चालनमा आएपछि सवारी व्यवस्थापनमा सहज हुने नगरप्रमुख जोशीको भनाइ छ ।

जिल्ला भित्रिएका र बास बस्नुपर्ने सवारी साधनहरू असुरक्षित ढङ्गले सडकमै पार्किङ गर्नुपरेको उहाँले बताउनुभयो । बसपार्क सञ्चालनमा आएपछि सडकमै पार्किङ गर्ने, बजार भित्र अव्यवस्थित रूपमा सवारी साधन राख्नुपर्ने र अन्य खालका दुर्घटनाका जोखिम न्यूनीकरण हुने नगरप्रमुख जोशीको भनाइ छ ।

बसपार्कमा टर्मिनल भवन, यात्रु कक्ष र पसलहरूका लागि सटर निर्माण रहेका छन् । बसपार्कमा साना र ठुला सवारीलाई छुट्टाछुट्टै पार्किङ गर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ । बसपार्कबाट नै टिकट काट्न मिल्ने गरी टिकट बुकिङ काउन्टरहरूको समेत व्यवस्था गरिएको छ ।

बसपार्क निर्माणको जिम्मा पाएको विजय राङखोला सिद्धबाबा जेभी कम्पनीका प्राविधिक सविन श्रेष्ठले गत असारमै बसपार्क सम्पन्न भएको बताउनुभयो । बसपार्क प्रयोगमा आएपछि मर्मत सम्भारको बाँकी काम सम्पन्न गरिदिने निर्माण कम्पनीले प्रतिबद्धता गरेको छ ।

बसपार्क हस्तान्तरण कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजाल, प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेल, विभिन्न वडाका वडाअध्यक्षहरू, प्रहरी नायव उपरिक्षक रविन विष्ट, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल, जिल्ला स्थित बिभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरू र विभिन्न स्थानीयबासीहरूको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै