• होमपेज
  • टिआरसी विधेयक सहमतिमै पारित हुन्छ : मन्त्री गिरी
देश/प्रदेश

टिआरसी विधेयक सहमतिमै पारित हुन्छ : मन्त्री गिरी

पर्वत। कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक (टिआरसी) सबै पार्टीको सहमतिमै पास हुने बताउनुभएको छ।

पर्वतको कुश्मामा मंगलबार नेपाल पत्रकार महासङ्घले आयोजना गरेको बधाई तथा छलफल कार्यक्रममा बोल्नुहुँदै मन्त्री गिरीले संसदीय समितिमा छलफलपछि केही विषयमा सहमति जुट्न बाँकी रहेकाले तत्काल विधेयका पास हुनेमा विश्वास व्यक्त गर्नुभयो।

विज्ञापन

टिआरसी विधेयकमा नेकपा (एमाले)ले केही समय विवाद गराएर अल्झाएकोमा अब नयाँ गठबन्धन बनेसँगै सहमतिमै पास हुने उहाँको भनाइ छ। ‘नेकपा एमाले केही विषयमा असहमति जनाएको थियो’ उहाँले भन्नुभयो, ‘अहिले नयाँ गठबन्धन बनेसँगै एमालेले पनि विधेयक पास गराउन भूमिका खेल्छ।’

उहाँले विभिन्न खालका ऐनहरू समयमा पास हुन नसक्दा स्थानीय तह, प्रदेश र सङ्घका बिचमा समेत समन्वय हुन नसकेको बताउनुभयो। यसका लागि विभिन्न मन्त्रालयसँग बसेर कानुन बनाउने काममा लाग्ने उहाँको भनाइ छ।

मन्त्री गिरीले न्याय क्षेत्रमा भएका विकृति अन्त्य गर्न आफूले उपयुक्त पहलकदमी लिने बताउनुभयो। ‘न्याय सम्पादनमा ढिलासुस्ती गर्ने परम्पराको समेत अन्त्य गर्नेगरी काम थाल्छु’ उहाँले भन्नुभयो।

फरक प्रसङ्गमा उहाँले यो सरकार चार वर्ष टिक्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ। पछिल्लो समयमा देशको आर्थिक अवस्था कमजोर बन्दै गएको र युवा पलाएन नरोकिएको भन्दै मन्त्री गिरीले आम युवालाई देशमा बस्ने वातावरण बनाउन वर्तमान नयाँ गठबन्धन बनेको बताउँदै अहिलेको गठबन्धनले मुलुकलाई स्थिरता प्रदान गर्नेमा विश्वास दिलाउनुभयो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook