• होमपेज
  • साहसिक पर्यटन प्रवर्द्धन वारे पर्वतमा विभिन्न सरोकारवाला बीच छलफल
गण्डकी प्रदेश

साहसिक पर्यटन प्रवर्द्धन वारे पर्वतमा विभिन्न सरोकारवाला बीच छलफल

पर्वत- पछिल्लो समय साहसिक पर्यटनको गन्तव्य बनेको पर्वतको पर्यटन प्रवद्र्धनका लागि कास्कीका पत्रकारले चासो देखाएका छन् ।

साहसिक पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गरी बढि भन्दा बढि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्धेश्यले उनिहरु पर्वत आईपुगेका हुन् । नेपाल पत्रकार महासंघ कास्कीले नेपाल पर्यटन बोर्ड सँगको सहकार्यमा पर्वत सदरमुकाम कुश्मा र आसपासका क्षेत्रमा रहेका साहसिक पर्यटनलाई प्रवद्र्धनका लागि समस्या, चुनौती र अबसरका बारेमा बुधवार कुश्मामा सरोकारवालाहरुसँग छलफल गरेका थिए ।

विज्ञापन

पर्वतमा रहेको विश्वकै अग्लो बन्जी, विश्वकै लामो जीपलाईन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुलहरु, नेपालकै लामा गुप्तेश्वर र अलपेश्वर गुफा, कालीगण्डकीको र्‍याफ्टीङ, विश्वकै ठुलो शालिग्राम शिलिा, महाशिला, सहस्रधारा लगायत दर्जनौ पर्यटकीय क्षेत्रहरुको विकासका लागि सरकार, निजि क्षेत्र र सञ्चारजगत विच आवश्यक समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिईएको छ ।

साविक धौलागिरि क्षेत्रको गेटवेको रुपमा रहेको पर्वतमा प्रसस्तै सम्भावना र पर्यटकीय पूर्वाधारहरु भएपनि पर्याप्त मात्रामा जिल्लावासीले लाभ लिन नसकेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

पर्यटकीय नगरी पोखरासँग नजिक रहेर पनि पर्वतले उचित फाईदा लिन सकेको छैन । पर्वतको कुश्मा हुँदै दैनिक हजारौ पर्यटक छिमेकी जिल्ला म्याग्दी र मुस्ताङ पुग्दै आएको भएपनि जिल्लाले फाईदा लिन नसकेकाले सरोकारवाला निकायको ध्यान जानुपर्ने पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका पूर्व अध्यक्ष शिव शर्मा पौडेलले बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका शाखा प्रमुख नविन पोखरेलले नेपालका जुनसुकै क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्वपुणर् रहेको बताउँदै सवै क्षेत्रका स्थानीय सरोकारवालहरुको सक्रियताले मात्रै विकास गर्न सकिने बताउनुभयो । पर्यटकीय पूर्वाधारहरुलाई प्रकृतिमैत्री बनाउनुका साथै हरेक दृष्टिकोणले सुविधा सम्पन्न बनाउन सकेमा मात्र त्यसवाट फाईदा लिन सकिने उहाँको भनाई थियो । उहाँले यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको विकासका लागि आगामी दिनमा थप सहयोग गर्दै जाने बताउनुभयो ।

पत्रकार महासंघ काकीका अध्यक्ष बिमला भण्डारीले भावनात्मक हिसावले जोडिएका र प्रदेश राजधानीसँग नजिक रहेका साहसिक पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि दुई दिने अभियानमा निस्किएको बताउनुभयो । उहाँले आगामी वर्षको बजेट गण्डकी प्रदेश र स्थानीय सरकारहरुमा आउँदै गर्दा शाहसिक पर्यटकीय पूर्वाधार विकासमा केन्द्रीत गर्न सुझाव दिने हिसावले पनि यो अभियान फलदायी हुने बताउनुभयो । पत्रकारहरुले पर्याप्त प्रचारप्रसार गरेरनै पर्यटनको विकास गर्न सकिने उहाँको भनाई थियो ।

कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले पर्यटनसँगै कृषि क्षेत्रको विकासलाई समेत जोड दिनुपर्ने बताउनुभयो । पर्यटकको आकर्षण सँगसँगै व्यवस्थापनमा ध्यान नपुगको भन्दै उचित व्यवस्थापन, पर्याप्त सुविधा र स्थानीयस्तरका उत्पादनको खानपानलाई जोड दिनुपर्ने बताउनुभयो ।

गाउँगाउँमा होमस्टे विस्तार भएका छन् तर बजारवाट खरिद गरेर ल्याईएको खानेकुरा पर्यटकहरुलाई दिने गरीएको छ । गाउँमा उत्पादन गर्न छाडिसकेको अवस्थामा ग्रामीण पर्यटनको भविष्य लामो हुन नसक्ने भएकाले पर्यटन सँगै कृषिलाई समेत ध्यान दिन उहाँको सुझाव छ ।

सो अवसरमा पत्रकार गणेश पौडेल, प्रनिश गिरी, आरके अदिप्त गिरी, समाजसेवी पृथ्वीनारायणा शर्मालगायतले विभिन्न सुझावहरु राख्नुभएको थियो । सो अवसरमा पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका शिवप्रसाद शर्मा रेग्मीले पर्वतको पर्यटकीय सम्भावना र क्षेत्रहरुका बारेमा जानकारी गराउनुभएको थियो ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत पर्वतका अध्यक्ष सन्तोष थापा र संचालन कास्की पत्रकार महासंघका सचिब माधव बरालले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook