• होमपेज
  • फोनको फिङ्गरप्रिन्ट सेन्सरले काम गरेन ? यसो गर्नुहोस्
द्रुत खबर बिशेष

फोनको फिङ्गरप्रिन्ट सेन्सरले काम गरेन ? यसो गर्नुहोस्

काठमाडौं । आधुनिक स्मार्टफोनमा फिङ्गरप्रिन्ट सेन्सर अत्यावश्यक जस्तै भएको छ । औंलाको छापबाट सेकेन्डभन्दा पनि कम समयमा डिभाइस अनलक गर्न सकिने भएकाले यो फिचर धेरैको रोजाइमा परेको छ ।

त्यसबाहेक फिङ्गरप्रिन्ट सेन्सर यति सुरक्षित हुन्छ कि वास्तविक मोबाइल धनीको बाहेक अरूको फिङ्गरप्रिन्टले डिभाइस नै खुल्दैन । त्यसैले पनि हरेक पुस्ताले यो फिचर अत्यधिक रुचाएका छन् । तर, फोन पुरानो हुँदै जाँदा वा अन्य कुनै समस्याका कारण सेन्सरले काम गर्न छोड्न सक्छ ।

विज्ञापन

सेन्सरले काम गर्न छोड्नुका धेरै कारण छन् । आज हामी डिभाइसमा के कारणले फिङ्गप्रिन्ट सेन्सर चलेन र त्यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा जानकारी दिँदैछौं ।

१) सफ्टवेयर अपडेट गर्नुहोस्

फोनमा बारम्बार अपडेट गर्नुहोस् भनेर आउने नोटिफिकेसनले तपाईँलाई दिक्क बनाएको हुनसक्छ । त्यसैले हामी अपडेट गर्नेबारे आएको नोटिफिकेसन नै बन्द गर्छौं ।

वास्तवमा हामीले अपडेटको नोटिफिकेसन बन्द गरेको र डिभाइस अपडेट नगरेकै कारण फिङ्गरप्रिन्ट सेन्सरले काम गर्न छोडेको हुनसक्छ । सफ्टवेयरमा हुने कमजोरीले गर्दा नै डिभाइसमा विभिन्न कमजोरी आइरहेका हुन्छन् ।

यस्ता कमजोरी समाधान गर्नका लागि नै सफ्टवेयर अपडेट गर्नुपर्ने हुन्छ । फोन अपडेट गर्नका लागि सेटिङ एपमा भएको अबाउट फोन अप्सनमा जानुपर्ने हुन्छ ।

त्यसपछि ‘अपडेट फोन’को अप्सन मा ट्याप गरी अपडेट उपलब्ध भएको अवस्थामा डाउनलोड गरी इन्स्टल गर्न सक्नुहुन्छ । अपडेट इन्स्टल गरिसकेपछि डिभाइस रिस्टार्ट हुन्छ । त्यसपछि तपाईंको डिभाइसको फिङ्गरप्रिन्ट सेन्सरले काम गर्न सक्छ ।

२) कटन स्वाब वा क्युटिप प्रयोग गरेर सफा गर्नुहोस्

अन्डरडिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर भएको अवस्था बाहेक अधिकांश डिभाइसको लक बटन वा पछाडिपट्टि फिङ्गरप्रिन्ट सेन्सर रहेको हुन्छ । त्यसैले सेन्सरमा धुलो परेर, औंलाको फोहोर पसेर वा अन्य कुनै फोहोर पसेर सपोर्ट नगरेको हुनसक्छ ।

त्यसैले कटन स्वाब अथवा क्युटिप (कपास) प्रयोग गरेर सेन्सरलाई सफा गर्न सकिन्छ । विशेषगरी स्क्रिन सफा गर्ने लिक्विड (आइसोप्रोपाइल अल्कोहल) लाई स्वाबमा घसेर सफा गर्दा सेन्सरमा परेको फोहोर हटाउन सकिन्छ । तर, सफा गर्दा पनि विस्तारै पुछ्नुपर्छ ।

अन्यथा जोडले गर्दा सेन्सरमा बढी असर पर्न सक्छ । केही अवस्थामा स्वाबलाई थोरै पानीमा भिजाएर पनि सेन्सर सफा गर्न सकिन्छ । यसरी सेन्सर सफा गरेको अवस्थामा त्यहाँ भएको फोहोर हट्छ अनि फिङ्गरप्रिन्ट स्क्यानर काम गर्न सक्छ ।

३) फिङ्गरप्रिन्ट सेटिङ अन गर्नुहोस्

तपाईंले फोन प्रयोग गर्दा गर्दै सेटिङबाट फिङ्गरप्रिन्ट सेन्सर अफ गर्नु भएको हुनसक्छ । त्यस्तै तपाईंलाई डिभाइस खरिद गर्दा नै त्यसमा फिङ्गरप्रिन्ट चल्छ भनेको हुनसक्छ । तर, तपाईंले ख्याल नगर्नु भएको हुनसक्छ ।

यो भन्नुको मतलब ‍तपाईंको डिभाइसको सेटिङमा फिङ्गरप्रिन्टको अप्सन अफ भएको हुनसक्छ भन्ने हो । त्यस्तोमा तपाईंले तल दिइएको प्रक्रिया अपनाएर डिभाइसमा पुनः फिङ्गरप्रिन्ट अन गर्न सक्नुहुन्छ ।

– सबैभन्दा पहिले डिभाइसको सेटिङ एप खोल्नुहोस् ।

– त्यसपछि बायोमेट्रिक्स एन्ड सेक्युरिटीको अप्सनमा जानुहोस् ।

– अनि, फिङ्गरप्रिन्टको अप्सनमा जानुहोस् ।

– यति गरेपछि एड फिङ्गरप्रिन्टको अप्सनमा ट्याप गरेर फिङ्गरप्रिन्ट एड गर्नुहोस् । यति गर्दा तपाईंको डिभाइस तपाईंको फिङ्गरप्रिन्टले खुल्ने सम्भावना उच्च हुन्छ ।

४) फोन रिस्टार्ट गर्नुहोस्

कहिलेकाही डिभाइसलाई अफ गरेर अन गर्दा केही समस्याको समाधान हुन्छ । विशेषगरी वाई-फाईले काम नगर्दा, एपहरू राम्रोसँग नचल्दा वा फिङ्गरप्रिन्ट सपोर्ट नगरेको अवस्थामा डिभाइस अफ गरेर अन गर्दा तपाईंको समस्या समाधान हुन सक्छ ।

५) सर्भिस सेन्टरमा जानुहोस्

कतिपय अवस्थामा माथि भनिएका सबै प्रक्रिया अपनाउँदा पनि फिङ्गरप्रिन्ट सेन्सरले काम नगर्न सक्छ । यस्तोमा तपाईंको फिङ्गरप्रिन्ट सेन्सर नै बिग्रेको वा कम सेन्सेटिभ भएको हुनसक्छ ।

केही अवस्थामा सेन्सरमा पानी पस्दा वा कतै खसेको छ भने सेन्सरमा असर परेर पनि सेन्सरले तपाईंको फिङ्गरप्रिन्ट सेन्सर सपोर्ट नभएको हुन्छ । त्यस्तोमा फिङ्गरप्रिन्टकै लागि नयाँ डिभाइस खरिद गर्ने भन्ने पनि हुँदैन ।

त्यसैले यस्तोमा नजिकको मोबाइल मर्मत गर्ने ठाउँमा गएर फिङ्गरप्रिन्ट सेन्सर मर्मत गर्न सकिन्छ । यदि तपाईंको फोनमा वारेन्टी बाँकी नै छ भने सोही डिभाइसको सर्भिस सेन्टरमा जान सक्नुहुन्छ ।

६) आफै मर्मत गर्नुहोस् (अनुभवी प्रयोगकर्ताका लागि मात्र)

अधिकांश हार्डवेयरसँग सम्बन्धित समस्या जस्तै फिङ्गरप्रिन्ट सेन्सर बिग्रिएको समस्यालाई पनि घरमा आफैले मर्मत गर्न सकिन्छ । तर, कहिल्यै डिभाइस मर्मत नगरेका प्रयोगकर्ताका लागि यस्तो गर्दा थप समस्या उब्जिने जोखिम पनि उत्तिकै हुन्छ । त्यसैले तपाईं डिभाइस मर्मत गर्नमा पोख्त हुनुहुन्छ भने डिभाइस खोलेर आफै जाँच गरी मर्मत गर्न सक्नुहुन्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook