• होमपेज
  • तिलोत्तमालाई करमुक्त नगर बनाउने एकीकृत समाजवादीको घोषणा
देश/प्रदेश

तिलोत्तमालाई करमुक्त नगर बनाउने एकीकृत समाजवादीको घोषणा

बुटवल । नेकपा एकीकृत समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई करमुक्त बनाउने योजना अघि सारेको छ । स्थानीय प्रतिबद्धतापत्र सार्वजनिक गर्दै फजुल खर्च कटौती गरी नगरपालिकाले लिने कुनै पनि कर नलिने (ट्याक्स फ्री) बनाउने योजना सार्वजनिक गरेको हो ।

एकीकृत समाजवादीले तिलोत्तमा नगरपालिकामा मेयरमा आशाकुमारी चौधरी र उपमेयरमा इञ्जिनियर सञ्जीव भण्डारीलाई उम्मेदवार बनाएको छ । पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राख्दै कार्यपालिकाको बैठक रेडियो, टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्ने एकीकृत समाजवादीको प्रतिवद्धता छ ।

विज्ञापन

नगरप्रमुख र उपप्रमुखले हाल सुविधा लिदै आएको गाडी, नेपाल प्रहरी र एम्बुलेन्स सञ्चालनका लागि प्रयोग गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ । नगरपालिकाका पदाधिकारीले आफ्नै निजी साधन प्रयोग गर्ने एकीकृत समाजवादीका उम्मेदवारहरुको प्रतिबद्धता छ ।

सामुदायिक विद्यालयमा शुल्क बन्देज

एकीकृत समाजवादीले तिलोत्तमा नगरमा सामुदायिक विद्यालयले अंग्रेजी माध्यमको वहानामा शुल्क लिन नपाउने ब्यवस्था गर्ने जनाएको छ । संस्थागत विद्यालयले लिने शुल्क र गुणस्तर लेखाजोखा गर्ने, शिक्षाको विकासका लागि आवश्यक बजेट छुट्याउने योजना राखेको उपमेयरका उम्मेदवार इञ्जिनियर सञ्जीव भण्डारीले बताए ।

उनका अनुसार तिलोत्तमा वडा नं १३ र १४ मा इञ्जिनियरिङ कलेज, १०÷११ मा कृषि क्याम्पस सञ्चालन गरिनेछ । त्यस्तै तिलोत्तमा नगरपालिकाले हालै निर्माण गरेको वनवाटिकास्थित भ्यू टावरलाई व्यवस्थपन कलेज बनाउने उनले बताए ।

सिटी कार्ड लागू गरिने

तिलोत्तमा नगरपालिकाका नागरिकका लागि सिटी कार्ड बनाउने एकीकृत समाजवादीको प्रतिबद्धतापत्रमा उल्लेख छ । नगरपालिकाले प्रदान गर्ने सेवा, सार्वजनिक यातायात, स्वास्थ्य सेवा र अन्य सुविधामा छुट दिने जनाइएको छ ।

तिलोत्तमामा सञ्चालित रोजगारी प्रदान गर्ने उद्योगलाई कर मिनाहा, बेरोजगार र सीप खोज्ने युवा विद्यार्थीलाई मासिक १० हजार तलब दिएर तालिम दिने व्यवस्था गर्ने मेयरका उम्मेदवार आशाकुमारी चौधरीले बताइन् ।

उनले तिलोत्तमा क्षेत्रको मौलिकता र संस्कृतिको संरक्षणमा समेत बिशेष ध्यान दिने बताइन् । उनका अनुसार वृद्ध भत्ता, एकल महिला भत्ता जस्ता सामाजिक सुरक्षाका रकमहरु महिना महिनामा वितरण गरिनेछ । अव्यवस्थित बसोबास भएका र सुकुम्बासीलाई न्यूूनतम राजस्व तिरेर स्वामित्व प्रदान गर्न पहल गर्ने प्रतिबद्धता एकीकृत समाजवादीले जनाएको छ ।

तिलोत्तमामा एकीकृत समाजवादी एक्लै प्रतिस्पर्धामा उत्रिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook