• होमपेज
  • स्थानीय तह निर्वाचन : निर्वाचन आयोग ढुक्क, कार्यतालिका र कार्यक्रम बनाउन व्यस्त !
Breaking News

स्थानीय तह निर्वाचन : निर्वाचन आयोग ढुक्क, कार्यतालिका र कार्यक्रम बनाउन व्यस्त !

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भमा आन्तरिक तयारी थालेको छ । आयोगका पदाधिकारीको टोलीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जेठ ४ गतेका लागि निर्वाचनको मिति सिफारिस गरेको थियो ।

प्रधानमन्त्री देउवाले आयोगको सिफारिस अनुसार निर्वाचनको मिति तोक्ने बताएपछि चुनावी माहौल तातिँदै गएको छ । सरकारबाट तिथि घोषणाको प्रतीक्षा गरेको आयोगले चुनावी कार्यतालिका बनाउन थालेको छ । निर्वाचन तिथि तोकेको बढीमा तीन दिनभित्र निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने गरी काम भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

विज्ञापन

‘चुनावको मिति घोषणा भएको दुई तीन दिनमा कार्यतालिका आउँछ,’ उनले भने, ‘चुनावको मिति घोषणा भएदेखि मतदानको दिनसम्म के के भन्ने कुराको कार्यतालिकामा हुनेछ । अहिले हामी आन्तरिक गृहकार्य गरिरहेका छौँ ।’ निर्वाचनको मिति घोषणा नभई निर्वाचन कार्यतालिका ल्याउन नमिल्ने उनको भनाइ छ । ‘निर्वाचनको मिति घोषणापछि अर्थ मन्त्रालयमार्फत बजेट पास गर्नुपर्छ । यी सबै कुरा मिति घोषणा गरेपछि हुन्छ । मिति घोषणा गर्नुभन्दा अगाडि गर्नुपर्ने काम गरिरहेका छौँ,’ पौडेलले भने ।

निर्वाचन कार्यक्रम भने चुनाव हुन एक महिना बाँकी रहँदा मात्र ल्याइने पौडेलले बताए । ‘निर्वाचन कार्यक्रम निर्वाचन महाशाखाले बनाउने हो । त्यो निर्वाचन हुनुको एक महिना बाँकी रहँदा ल्याउँछौ । सबै ठाउँमा निर्वाचन अधिकृतको कार्यालय खुलेपछि निर्वाचन कार्यक्रम आउँछ,’ उनी भन्छन् । मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दाबी–विरोध, छानबिन लगायतका विषय निर्वाचन कार्यक्रममार्फत ल्याइनेछ ।

पौडेलका अनुसार निर्वाचन आचारसंहिता पनि निर्वाचनको मिति घोषणा गर्दैमा लाग्ने छैन । निर्वाचनको मिति घोषणा गरेपछि पनि निर्णय र नियुक्तिमा आचारसंहिता लागू नभएसम्म कुनै फरक नपर्ने पौडेलले बताए । उनले भने, ‘निर्वाचनको मिति घोषणा गर्दैमा निर्वाचन आचारसंहिता लाग्दैन ।’

स्थानीय तहको निर्वाचनका लागि कति दिने आचारसंहिता जारी गर्ने भन्ने अहिले नै भन्न नसकिने उनको भनाइ छ । ‘आचारसंहिताका लागि समय तोक्दा बदलिँदो परिस्थितिलाई मध्यनजर गर्नुपर्ने हुन्छ । निर्वाचनको जोखिम र गम्भीरता विश्लेषण गरेर आयोगले आचारसंहिताको दिन तलमाथि गर्न सक्छ ।’

आयोगका प्रवक्ता पौडेलले ०७९ वैशाखपछि मात्र निर्वाचन आचारसंहिता लाग्ने सङ्केत गरे । निर्वाचनको मितिका सन्दर्भमा सरकारसँग बिग्रेको सम्बन्ध सुधार्न आचारसंहिताको समय कम राख्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको रणनीति छ । निर्वाचनको मिति तोक्न वक्तव्यबाजी गरेको भन्दै थपलियासँग सत्तापक्ष चिढिएको छ । प्रधानमन्त्रीसँगको भेटमा पनि थपलियाले सोही सङ्केत गरेको बालुवाटार स्रोतले जनाएको छ । पौडेलले भने, ‘निर्वाचन हुन ३५ दिन, ४० दिन वा ५० दिनेका बाँकी रहँदा निर्वाचन आचारसंहिता लगाउँछ । आवश्यकता परेन भने त्यो भन्दा कम दिन पनि आचारसंहिता लगाउन सकिन्छ ।’

निर्वाचनलाई प्रभावित हुने अवस्था हेरेर आचारसंहिताको समय तोकिने पौडेलको भनाइ छ । ‘अस्ति हामीले राष्ट्रियसभा निर्वाचनमा १०–१२ दिन मात्र आचारसंहिता लगाएका थियौँ,’ पौडेलले भने, ‘स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गराउन के–केले बाधा पुर्‍याउँछ भनेर निर्वाचन आयोगले विश्लेषण गर्छ । त्यही अनुसार आचारसंहिता लगाउँछ ।’

उनका अनुसार आचारसंहिता कहिलेदेखि लाग्ने भन्ने कुरा निर्वाचन कार्यतालिकामा आउँछ । यसअघि सरकार, राजनीतिक दल र मिडियासँग आवश्यक राय सल्लाह गरेर मात्र आयोगले काम गर्ने उनले बताए ।

अब निर्वाचन आयोग ढुक्क

पौडेलका अनुसार अहिले जेठ ४ मा स्थानीय निर्वाचन गर्न गरी आयोग सबै तयारी गरिरहेको छ । उनले भने, ‘त्यही भएनौ हामीले जेठ ४ का लागि सिफारिस गरेका हौँ । मंगलबारको बैठकमा सम्माननीय प्रधानमन्त्रीज्यूले आयोगले प्रस्ताव गरेको मितिमा आवश्यक प्रक्रिया पुर्‍याएर मिति घोषणा गर्न सकिने भन्नुभएको छ ।’

त्यसका लागि आयोगलाई तयारीमा लाग्न प्रधानमन्त्री देउवाले निर्देशन पनि दिएको पौडेलले बताए । निर्वाचन आयोगका प्रतिनिधि साथमा हुँदै गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गरेर सुरक्षा अवस्था मिलाउन निर्देशन दिएका थिए ।

‘त्यतिबेला नै भयरहित वातावरणमा निर्वाचन गर्न सुरक्षा व्यवस्था मिलाउन माननीय गृहमन्त्रीज्यूलाई निर्देशन दिएको अवस्था छ ।’ प्रधानमन्त्रीको सचिवालयका अनुसार अब बस्ने मन्त्रिपरिषद्बाट निर्वाचनको मिति घोषणा हुने छ । यसका लागि बुधबार प्रधानमन्त्री र गृहमन्त्रीले राजनीति भेटघाटलाई तीव्र बनाएका थिए ।

गृहमन्त्री खाँणले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपालको निवासमै पुगेर भेट गरेका थिए । मंगलबार साँझ उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका थिए । बुधबार मध्यान्ह प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच बालुवाटारमा छलफल भएको थियो । सत्ता साझेदार दलका अध्यक्षद्वय प्रचण्ड र नेपालसँग परामर्श गरेर बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा गर्न लागिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook