• होमपेज
  • बाग्लुङमा सक्रिय संक्रमित ६ सय ५० पुग्यो
गण्डकी प्रदेश

बाग्लुङमा सक्रिय संक्रमित ६ सय ५० पुग्यो

बाग्लुङ जिल्लामा कोरोना संक्रमणको दर दैनिक बढ्दै गएको छ । स्वास्थ्य कार्यालय बाग्लुङका अनुसार शनिबार मात्र एक सय ७२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय ५० पुगेको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

शनिबार थपएिका संक्रमितमध्ये ९९ जना बाग्लुङ नगरपालिकाभित्रका मात्रै छन् । ती संक्रमित थपिएपछि नगरपालिकाभित्र मात्रै तीन सय पाँचजना सक्रिय संक्रमित पुगेको घिमिरेले बताए । शनिबार बढेको संक्रमित मध्ये अधिकांश बलेवा क्षेत्रका रहेका छन् । केही दिनदेखि बलेवा क्षेत्रमा संक्रमणको दर अत्यधिक बढेको छ ।

विज्ञापन

त्यसैगरी शनिबार नै  बरेङ गाउँपालिकामा थप १० जनमा  संक्रमण पुष्टि भएको छ भने जैमिनी नगरपालिकामा एन्टिजेन्ट विधिबाट २४ जना संक्रमित थपिएका छन् । शनिबारसम्ममा बरेङ गाउँपालिकामा एक सय सातजना, जैमिनी नगरपालिकामा ७१ र बडिगाड गाउँपालिकामा ३३ जना सक्रिय संक्रमित पुगेका छन् । त्यसैगरी काठेखोलामा २३, ढोरपाटन २२, गलकोटमा २१, तमानखोलमा २०, ताराखोलामा १८ र निसीखोलामा नाैजना संक्रिय संक्रमित रहेको घिमिरेले जानकारी दिए ।

लक्षणसहितका बिरामीसमेत देखिएपछि केही स्थानमा स्वास्थ्य कार्यालयले पिसिआर र एन्टिजेन्ट परीक्षण बढाएको छ । अझै केही संख्या बढ्न सक्ने घिमिरेले जानकारी दिए । जिल्लामा अहिलेसम्म ६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमण बढेपछि बलेवा क्षेत्रको नारायणस्थानमा निषेधाज्ञा गरिएको छ भने पैयुँपाटा र अमलाचौरमा पनि कडाइ गरिएको छ । बरेङ गाउँपालिकाले पनि घरबाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook