• होमपेज
  • राजमो गण्डकी प्रदेश संसदीय दलको नेतामा पियारी थापा
गण्डकी प्रदेश

राजमो गण्डकी प्रदेश संसदीय दलको नेतामा पियारी थापा

पोखरा । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय दलको नेतामा पीयारी थापा  चयन हुनु भएको छ । मंगलबार बसेको जनमोर्चा संसदीय दलको बैठकले थापालाई संसदीय दलको नेता चयन गरेको महासचिव मनोज भट्टले जानकारी दिनुभयो ।

तीन जना सांसद रहेको राजमो प्रदेश सभामा यसअघि संसदीय दलको नेता रहेका कृष्ण थापाले तत्कालिन मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङविरुद्ध गठबन्धनको तर्फबाट ल्याइएको अविश्वासको प्रस्तावमा मतदान गर्न पार्टीले दिएको निर्देशन उल्लंघन गरेपछि पार्टीले कारबाही गरेको थियो ।

विज्ञापन

सुब्बाको सरकार हटाएर नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार गठन गर्न महत्वपूर्ण भूमिका खेलेको राष्ट्रिय जनमोर्चा सरकारमा भने सहभागी भएको छैन । सरकार बाहिरैबाट गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

कृष्ण थापालाई कारबाही गरेपछि प्रमुख सचेतक रहेकी पियारीले संसदीय दलको नेताका हैसियतमा काम गर्दै आउनुभएको थियो । यस्तै, प्रमुख सचेतकको जिम्मेवारी खिमविक्रम शाहीलाई दिइएको छ । शाही प्रदेश मामिला सभापति समेत हुनुहुन्छ ।

यस्तै, आज बसेको राजमो गण्डकी प्रदेश समितिको बैठकले प्रदेशभर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । महासचिव भट्टले दिनुभएको जानकारी अनुसार यही साउन २५ गते प्रदेशस्तरमा भर्चुअल प्रशिक्षण आयोजना गरिएको छ भने २६ गते कास्की जिल्लाको प्रत्यक्ष उपस्थितीमा प्रशिक्षणको आयोजना हुने छ ।

भदौ महिनाभर प्रदेशका सबै जिल्लाहरूको प्रशिक्षण सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरी प्रदेश अध्यक्ष शंकर बराल, खिमविक्रम शाही र रवीमोहन ढकाल रहेको राजमो प्रदेश कार्यालय गठन गरिएको छ ।

राजमो केन्द्रीय कार्यालयले सातै प्रदेश समिति पुनर्गठन गरेपछि मंगलबार महासचिव भट्टको उपस्थितीमा समितिको बैठक पहिलो पटक बसेको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook