• होमपेज
  • वालिङका सामुदायीक विद्यालयलाई सिमकार्ड
अर्थ खबर

वालिङका सामुदायीक विद्यालयलाई सिमकार्ड

स्याङ्जा ।

कोरोना संक्रमणका कारण भौतिक सहभागितामा पठनपाठन हुन नसकेपछि वालिङ नगरपालिकाले वैकल्पिक शिक्षण सिकाई क्रियाकलापलाई अगाडी सारेको छ । विद्यार्थीको पढाईमा कुनै अबरोध नआओस भन्दै नगरपालिकाले बैकल्पिक शिक्षण क्रियाकलाप अगाडी सारेको हो । भौतिक सहभागिता बाहेक अर्को विकल्प अनलाईन कक्षा संचालन गर्ने भन्दै नगरभित्रका सरकारी विद्यालयका शिक्षक, विद्यार्थीलाई इन्टरनेट प्याकेज सहित सिमकार्ड निशुल्क वितरण गरेको छ । स्मार्ट नगरको नारा बोकेको वालिङले इन्टरनेटको पहुँच नपुगेको वडाको पहिचान गरी अनलाईन माध्यमबाट पढाई संचालन गर्न निशुल्क सिमकार्ड उपलब्ध गराएको नगरपालिकाका शिक्षा शाखा प्रमुख बावुराम सापकोटाले बताउनुभयो ।

विज्ञापन

स्याङ्जाको वालिङ नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा शिक्षक विद्यार्थी गरी ७ हजार ५ सय जना रहेका छन् । संक्रामक रोगले गर्दा विद्यालयमा भौतिक उपस्थितिमा पठन पाठन हुने स्थिति रहेन शाखा प्रमुख सापकोटाले भन्नुभयो, “सबै विद्यार्थीको पहुँचमा ईन्टरनेटको सेवा उपलब्ध नहुँदा वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप प्रभावकारी बनाउन टेलिकम र एनसेलको सहयोगमा ईन्टरनेट प्याकेजसहितको सिमकार्ड निशुल्क उपलब्ध गराएका हौं ।” नगरभित्रका १४ वटा वडाका ७२ सामुदायिक विद्यालयहरुका ४ सय ५० जना शिक्षकसहित ७ हजार ५ सय जना विद्यार्थीलाई उनीहरुको ठाउँमा जुन÷जुन कम्पनीको सेवा राम्रो छ सोही अनुसारका सिम उपलब्ध गराएका छौ शाखा प्रमुख सापकोटाले भन्नुभयो । सामुदायिकतर्फ ५६ वटा आधारभूत विद्यालय र १६ वटा माध्यमिक विद्यालय रहेका छन् । उनीहरुलाई ५ हजार थान नेपाल टेलिकमको सिमकार्ड र २ हजार ५ सय थान एनसेलको सिमकार्ड निशुल्क वितरण गरिएको हो ।

वैकल्पिक शिक्षण क्रियाकलापका लागि जिल्लामै वालिङ नगरपालिकाले सञ्चालन गरेको यो अभियान पहिलो र नयाँ कार्यक्रम भएको शाखा प्रमुख सापकोटाले बताउनुभयो । सबै विद्यार्थी तथा शिक्षकको हात हातमा ईन्टरनेटको प्याकेजसहितको सिमकार्ड भएपछि शिक्षण सिकाई क्रियाकलाप थप प्रभावकारी हुने विश्वास नगरपालिकाले लिएको छ । नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा कम्प्युटर शिक्षकहरुलाई आईसिटीमा आधारित आधारभूत शिक्षण विधिलाई सहयोग पुग्नेगरी अनलाईनसम्बन्धी ज्ञान दिईसकिएको सूचना प्रविधि शाखाका प्रमुख ईञ्जिनियर प्रकाश अर्यालले बताउनुभयो । १६ वटा माध्यमिक विद्यालयहरुमा कम्प्युटर, प्रिन्टरहरु वितरण गरिसकिएको छ भने ईन्टरनेट सेवा प्रदायकसँग सम्झौता गरी ईन्टरनेटको सेवा विस्तार गरिएको अर्यालले बताउनुभयो ।

कोभिड १९ को महामारीका कारण प्रभावित बनेको शिक्षण सिकाई क्रियाकलापलाई ब्यवस्थित, प्रभावकारी र उपयोगी बनाउनका लागि यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई बताउनुहुन्छ । ईन्टरनेटको पहुँच नपुगेकै कारण वैकल्पिक सिकाई प्रभावकारी हुन नसकिरहेको भन्ने गुनासो आईरहँदा यसको समाधानका लागि ईन्टरनेट प्याकेजसहितको सिमकार्ड वितरण गरिएको भट्टराईले बताउनुभयो । सिमकार्डको प्रयोग भए नभएको साथै पठन पाठन भए नभएको निरन्तररुपमा अनुगमन तथा मूल्यांकन गरिने ब्यवस्था मिलाईएको छ उहाँले भन्नुभयो, “राज्यले शिक्षामा गरेको लगानी अनुसारको प्रतिफल आउने गरी र वालिङलाई स्मार्ट सिटीको अवधारणा अनुरुप अगाडि बढाउन लाग्नुपर्ने बेला आएको छ ।” स्मार्ट सिटी घोषणा भई कार्यान्वयनको क्रममा रहेकाले शिक्षाका क्षेत्रमा निर्धारण गरिएका लक्ष्य भेटाउनका लागि आईसिटीको विशेष टिम बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ ।

कोभिडको महामारीका समयमा विद्यार्थीमाझ पुग्न कठिन भईरहेका बेला यो विधि महत्वपूर्ण र उपयोगी हुने जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख दिलीपकुमार बगालेले बताउनुभयो । वैकल्पिक सिकाईका लागि गरिएको लगानीको सही सदुपयोग गरी सार्थकता हासिल गर्नतर्फ लाग्नुपर्नेमा बगालेले जोड दिनुभयो । कोभिड १९ का कारण भौतिकरुपमा विद्यालयमा उपस्थित हुन सक्ने अवस्था नभएकाले वैकल्पिक सिकाई क्रियाकलापका लागि नेपाल टेलिकम र एनसेलको सहयोगमा निशुल्क सिमकार्डको ब्यवस्था गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । वैकल्पिक कक्षा सञ्चालनका क्रममा आउन सक्ने संभावित अप्ठयाराहरुलाई सम्बोधन गर्दै विभिन्न विकल्पहरुको खोजी गर्ने क्रममा यो विधि अपनाईएको खाँणको भनाई छ । शिक्षासँगै बालबालिकाका क्षेत्रमा विनियोजन गरिएको रकम खर्च नभई लगानी भएको र भोलिका दिनमा उपलब्धी देखिंदै जाने खाँणको दावी छ ।

नगरभित्रका माध्यमिक विद्यालयहरुमा ईन्टरनेटको पहुँच पुगेको छ खाँणले भन्नुभयो, “अब आधारभूत तहका विद्यालयमा पनि ईन्टरनेटको पहुँच विस्तारका लागि सम्झौता भई काम भईरहेको छ ।” नगरभित्रका १४ वटै वडाका ३ सय १० वटा गाउँहरुमा ईन्टरनेटको पहुँच विस्तार गर्नका लागि सेवा प्रदायकहरुसँग सम्झौता भई काम अगाडि बढीसकेको नगर प्रमुख खाँणले बताउनुभयो । गाउँ गाउँमा ईन्टरनेटको सहज पहुँच नपुग्दासम्मका लागि शिक्षक तथा विद्यार्थीलाई निशुल्क सिमकार्डको ब्यवस्था मिलाईएको नगर प्रमुख खाँणको भनाई छ । नगरभित्रका सबै विद्यालयका शिक्षकहरुलाई शिक्षण सिकाई क्रियाकलापमा आधुनिक प्रविधिहरुको प्रयोग गर्ने तरिका तथा विधिहरुकाबारेमा यसअघि ज्ञान दिईसकिएको नगर प्रमुख खाँणले बताउनुभयो । नगरभित्रका सबै विद्यालयबाट प्रतिनिधिकोरुपमा दुई जनालाई तालीम दिईएको र उहाँहरुले आ–आफ्नो विद्यालयमा अन्य शिक्षकहरुलाई सिकाउनुहुनेछ प्रमुख खाँणले भन्नुभयो, “शिक्षकहरुको क्षमता विकास तथा आवश्यक सामग्रीहरु (ल्यापटप, कम्प्युटर, प्रिन्टर, स्क्यानर, ईन्टरनेट) को ब्यवस्था मिलाउने र त्यसको प्रयोगमा जोड दिंदै नगरलाई आईसिटीकोरुपमा विकास गर्दै लगिने छ ।” माध्यमिक तहका १६ विद्यालयलाई कम्युटर, ल्यापटप, स्क्यानर, प्रिन्टर उपलब्ध गराईसकेको छ भने आधारभूत तहका ५६ विद्यालयमध्ये पहिलो चरणमा २४ वटा विद्यालयलाई कम्युटर र प्रिन्टर उपलब्ध गराएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को शिक्षा क्षेत्रको स्वीकृत कार्यक्रम तथा बजेट अन्तर्गत विद्यालयमा कम्प्युटर तथा अनलाईन सफ्टवेयर ब्यवस्थापनका लागि रु. २० लाख विनियोजन गरेको थियो । बाँकी रहेका ३२ वटा विद्यालयलाई यही साउन महिनाभित्रै टेण्डर गरी उपलब्ध गराउने तयारी भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बालविकास कक्षादेखि १० सम्मका ७ हजार ५ सय विद्यार्थीलाई उपयोगी हुने सिकाई सहजीकरण स्वअध्ययन सामग्री पनि उपलब्ध गराईसकेको शिक्षा शाखा प्रमुख सापकोटाले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook