• होमपेज
  • नेष्डो समृद्ध लघुवित्तमा राष्ट्रबैंकको निर्देशन विपरीत कार्यकारी अध्यक्ष
अर्थ खबर

नेष्डो समृद्ध लघुवित्तमा राष्ट्रबैंकको निर्देशन विपरीत कार्यकारी अध्यक्ष

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थामा केन्द्रीय बैंकतथा नेपाल धिताेपत्र बाेर्डको निर्देशिकाविपरीत संस्थाका अध्यक्ष नै कार्यकारी भूमिकामा रहेको पाइएको छ । अध्यक्ष रहेका विश्वप्रकाश प्रसाईं ठकुरीले कार्यकारीको हैसियतमा नै कामकाज गरिरहेको पाइएको हो ।

संस्थाको आधिकारिक वेबसाइटमा नै कार्यकारी अध्यक्ष भनेर ठकुरीको नाम र तस्वीर राखिएको छ ।

विज्ञापन

राष्ट्र बैंकले संस्थागत सुशासन कायम नहुने भन्दै केही वर्षअघि बैंक तथा वित्तीय संस्थामा सञ्चालक समिति सदस्य रहेको व्यक्ति र प्रमुख कार्यकारी अधिकृत फरक हुनुपर्ने गरी निर्देशन जारी गरेको थियो ।

राष्ट्र बैंकको यो निर्देशन पछि धेरै बैंक तथा वित्तीय संस्थामा रहेका कार्यकारी सञ्चालक तथा कार्यकारी अध्यक्षले एक पद छाडेका थिए ।

नेपाल धितोपत्र बोर्डको संस्थागत सुशासनसम्बन्धी निर्देशिकाले पनि सूचीकृत संस्थामा एउटै व्यक्ति अध्यक्ष र कार्यकारी प्रमुख बन्न नपाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकका प्रवक्ता तथा रहेका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले कुनै एक व्यक्ति सञ्चालक र कार्यकारी प्रमुख हुन नपाउने बताए । यदि कसैले कार्यकारी अध्यक्ष वा कार्यकारी सञ्चालकको रुपमा काम गरिरहेको भए त्यो नियम विपरीत हुने उनको प्रतिक्रिया छ ।

ठकुरीले आफूले कार्यकारी अध्यक्षको रुपमा काम गरिरहेको बताए । निर्देशिकाले कार्यकारी अध्यक्ष बन्न नपाइने व्यवस्था गरे पनि ऐनमा स्पष्ट नभनिएकाले आफू जिम्मेवारीमा रहेको उनको भनाइ छ ।

तर आफू लामो समय कार्यकारी अध्यक्षको रुपमा भने नरहने उनको भनाइ छ ।

मर्जरका लागि उपर्युक्त पार्टनर खोज्दै

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थगासँग मर्जरका लागि सम्झौता गरेको थियो । तर दुई संस्थाहरुबीच कुरा नमिल्दा मर्जर भाँडिएको थियो ।

एउटा संस्थासँग मर्जर असफल भएपछि अहिले नेष्डो समृद्धले मर्जरका लागि उपयुक्त संस्था खोजिरहेको छ । मर्जरका लागि सहज होस् भनेर पनि आफू कार्यकारी अध्यक्षको रुपमा रहेको ठकुरीले बताए ।

‘मर्जरमा जाँदा एउटाले सीइओ छाड्नुपर्ने हुन्छ, हामीले सीईओ छाड्न सहज होस् भनेर पनि म कार्यकारी अध्यक्षको रुपमा छु’ उनले भने, ‘पहिलेको सफल भएन तर अहिले पनि हामी मर्जरका लागि उपयुक्त पार्टनर खोजिरहेका छौँ ।’

मर्जर सफल भएपछि भने आफू दोहोरो जिम्मेवारीमा नरहने उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook