• होमपेज
  • कसरी सामूहिक राजीनामा दिने अवस्थामा पुग्यो नेपाल समूह
Breaking News

कसरी सामूहिक राजीनामा दिने अवस्थामा पुग्यो नेपाल समूह

काठमाडौं : माधवकुमार नेपाल समूहका स्थायी समिति सदस्यहरूको ११ बजे बस्‍ने ‘भर्चुअल’ बैठकले राजीनामाको अन्तिम टुंगो लगाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘अराजक दम्भ’ तोडने रणनीतिसहित नेपाल समूहका सांसदहरू राजीनामा दिन लागेका हुन् ।

ओलीले संसद्मा विश्वासको मत लिन असफल भएपछि विकल्पको सरकार निर्माणको बाटो प्रशस्त गर्न उनीहरूले राजीनामा दिन लागेका हुन् । नेपाल समूहले अर्को सरकार निर्माण निम्ति कांग्रेस सभापति शेरबहादुर देउवासँग वार्ता गरिरहेको छ । ‘माधवकुमार नेपालले सांसदहरूको राजीनामा लिइसक्नु भएको छ । हामी त्यो राजीनामा सनाखत गर्न मात्र जाने हो’ नेपाल समूहका एक सांसदले इकागजसँग भने, ‘माधव कमरेडसँगै राजीनामा बुझाउन जान्छौं र त्यही सनाखत गर्छौ ।’

विज्ञापन

समूहका सांसद विरोध खतिवडाले आज राजीनामा बुझाउने शनिबार साँझ बताएका थिए ।

अबको राजनीतिक दाउपेचमा ओली अघि भए पनि आफू अघि भए पनि राजीनामा दिने उनीहरूको भनाइ छ । ‘अब ओली दाउपेचका माहिर खेलाडी हुन्, उनी अघि हुन्छन् कि हामी । अब त्यो राजनीतिक घटनाक्रमले नै देखाउँछ’ ती सांसदले भने ।

नेपाल समूहको बुझाइमा, ‘अब लुम्बिनी प्रदेशकै घटना केन्द्रमा दोहोर्‍याउने योजनामा ओली छन् । लुम्बिनीमा शंकर पोखरेलले गरेको त एउटा ‘रिहर्सल’ मात्र हो । वास्तविक नाटक अब काठमाडौंमा प्रदर्शन गर्ने योजना ओलीको छ । ओली समूह अनेकन षडयन्त्रमा लागेका छन् । त्यस निम्ति दाउपेचका रणनीति बनाउँदैछन् ।’

उनीहरूको विश्लेषणमा, ओलीले विश्वासको मत लिनुअगावै खेल खेल्ने योजना हो । त्यहीकारण प्रधानमनत्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच निरन्तर वार्ता भइरहेको छ । ओलीकै कारण बहुविवादित राष्ट्रपति भण्डारीले यो षडयन्त्रमा पनि साथ दिन सक्ने सम्भावना उत्तिकै छ ।

तर, यो दृश्यसँगै राष्ट्रपति भण्डारी अति बदनाम हुन सक्ने हुँदा षडयन्त्रको पूरै गोटी बन्न संवैधानिक हिसाबले कठिन हुनसक्ने आँकलन ओली इतर समूहको छ । उनीहरूको योजना यतिखेर संसद् अधिवेशन अन्त्य गर्दै लुम्बिनीमा मञ्चित ‘शंकर पोखरेल फर्मूला’ जसरी नै माधवकुमार नेपाल समूहका सांसदहरूकै पुरानो हस्ताक्षर दुरुपयोग गरी आफैलाई प्रधानमन्त्री घोषित गर्न सक्ने सम्भावना हो । ओलीको त्यो चाहना नेपाल समूहले बुझिसकेको छ ।

त्यसमा राष्ट्रपतिको भूमिका कस्तो हुन्छ हेर्न बाँकी छ । ओलीको त्यो फर्मूला बुझेको नेपाल समूहले भित्री रूपमै नेपाली कांग्रेसलगायतका विपक्षी दलहरूसँग पनि वार्ता चलाइरहेको छ । समय बित्‍ने क्रमसँगै ओली समूहले नेपाललाई समूहलाई गलाउने प्रयत्‍न निरन्तर जारी राखेको छ ।

नेपाल समूहका सांसदहरूलाई व्यक्तिगत तवरमा अनेकन प्रलोभन दिने प्रयत्न पनि नियमित छ । ‘त्यसअतिरिक्त नेपाल समूहका सांसदहरूको ‘स्पीड’मा ‘ब्रेक’ लगाउने प्रपञ्‍च यथावत् छ’ ती सांसदले भने, ‘तर हामीसँग राजीनामा भन्दा अर्को विकल्प नभएपछि यही विकल्पमा जानु परेको हो ।’

ओली अनेकन बाहनामा तत्काल आफैले बोलाएको संसद्को तत्काल सामना नगर्ने सम्भावना पनि उत्तिकै छ । हुन पनि सांसदहरूलाई ठूलो संख्यामा कोभिड लागेको छ । विरामी सांसदको तथ्यांक अघि सारेपछि ओलीलाई संसद्को सामना गर्न नसकेको आरोप लाग्ने छैन । यदि संसद्कै सामना गर्नुपरेको खण्डमा पराजयपछि अल्पमतको सरकार बनाउने खेलमा लाग्छन् । त्यो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कसरी उभिन्छन् भन्‍नेमा निर्भर गर्छ ।

ओलीले विश्‍वासको मत लिन नसक्ने बित्तिकै तत्कालै बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीको दाबी गर्नुपर्ने हुन्छ । त्यसमा देउवा कति अडिन्छन् भन्‍ने अझै स्पष्ट भइसकेको छैन । त्यसो त, बैशाख २१ को ‘भर्चुअल मिटिङ’बाटै नेपाल समूह राजीनामाको निस्कर्षमा पुगेको हो । त्यो दिन ‘म्याइन्यूट’ मात्र नगरिएको हो । वार्ताबेगर निर्णय लिँदा ओलीलाई आमतहमा जथाभावी गाली-गलौज गर्ने आधार मिल्ने हुँदा वार्तामा पनि गएका हुन् । उनीहरू भन्छन्, ‘किनभने ओलीको एक मात्र मन्त्र अरुलाई गाली गर्नु हो । आफ्‍ना भर-भरका अपराध ढाकढोप गर्नु भएको हामीले बुझेका छौं । त्यसकारण अब उनलाई त्यस्तो अवसर दिँदैनौं ।’

त्यहीकारण अन्तिम समयसम्म नेपाल समूहको होस या ओली समूहको पहलमा वार्ता गर्दै जाने नीतिमा नेपाल समूह प्रवेश गरेको थियो । ‘वार्ता र दबाबको शैलीबाट अघि बढाउँदै जाने, अरु पार्टीसँग सहमतिका निम्ति पनि प्रयत्न गर्दै जाने नीति थियो’ ती सांसदले भने ‘ओली हाम्रा माग र अडान मान्न तयार देखिएनन् । अब उनलाई हामीमाथि गाली गर्दै कार्यकर्ता/मतदाता भडकाउने कुनै आधार पनि बाँकी छैन ।’

नेपाल समूहमा ३७ जना सांसद रहेका भनिए पनि कति जनाले सामुहिक राजीनामा दिने हुन्, त्यो भने खुलाइएको छैन ।

यी हुन नेपाल समूहका रहेका भनिएका सांसदहरू   
१)झलनाथ खनाल
२) माधवकुमार नेपाल
३) योगेश भट्टराई
४) पवित्रा निरौला
५) भवानी खापुङ
६) जयकुमार राई
७) यज्ञराज सुनुवार
८) गणेशकुमार पहाडी
९) नारायणप्रसाद खतिवडा
१०) रामवीर मानन्धर
११) जीवनराम श्रेष्ठ
१२) कृष्णलाल महर्जन
१३) विरोध खतिवडा
१४) सुरेन्द्र पाण्डे
१५) गोकर्ण विष्ट
१६) सोमप्रसाद पाण्डेय
१७) घनश्याम भुसाल
१८) मेटमणि चौधरी
१९) धनबहादुर बुढा
२०) गोपालबहादुर बम
२१) राजबहादुर बुढा क्षेत्री
२२) भीम रावल
२३) यज्ञबहादुर बोगटी
२४) झपट रावल
२५) दीपकप्रकाश भट्ट
२६) मुकुन्द न्यौपाने
२७) रामकुमारी झाँक्री
२८) तुल्सी थापा
२९) कल्याणीकुमारी खड्का
३०) मायादेवी न्यौपाने
३१) लक्ष्मीकुमारी चौधरी
३२) निरादेवी जैरु
३३) विमलाकुमारी विश्वकर्मा
३४) पार्वतीकुमारी बिसुंखे
३५) सरलाकुमारी यादव
३६) कालिला खान
३७) समिना हुसेन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook