• होमपेज
  • अन्ततः माधव पक्षसँग सम्झौता गर्ने ‘मुड’मा किन पुगे त ओली पक्ष
Breaking News

अन्ततः माधव पक्षसँग सम्झौता गर्ने ‘मुड’मा किन पुगे त ओली पक्ष

एमाले विवाद उत्कर्षमा

काठमाडौं । प्रदेश सरकारहरु हुँदै राष्ट्रियसभाको उपनिर्वाचनहरु र संघीय संसदबाट विश्वासको मत लिने विषयसम्म चौतर्फी पराजय व्यहोर्नु पर्ने अवस्थामा पुगेपछि एमालेको केपी ओली समूह पार्टीभित्रका विद्रोही नेताहरुसँग सम्झौता गर्ने मानसिकतामा पुगेको छ । आफ्ना दर्जनौं सांसदहरुलाई कारबाहीको डण्डा चलाएर अन्य पार्टीका एकाध सांसदको मतका लागि अराजनीतिक हर्कतहरु गर्न समेत पछि नपरेर आलोचित बन्नुपरेपछि ओली समूहभित्रका केही नेताहरु झस्किएका छन् । लुम्बिनीमा जसपाका सांसदभित्र चलखेलदेखि गण्डकी जनमोर्चाको सांसदलाई अस्पतालमा लुकाउनेसम्मका काम गरिरहेको ओली समूह संघीय संसदमा भने जता जति चलखेल गरे पनि विश्वासको मत लिन नसक्ने अवस्थामा पुगेको हो । जसपाभित्र जति चलखेल गरे पनि माधव नेपालको साथ नपाईकन सरकारमा निरन्तरता सम्भव नभएपछि ओलीले दोस्रो तहका नेताहरुलाई माधव पक्षका नेताहरुसँग संवाद गर्न भनेका हुन् । खासगरी नेपाली कांग्रेस समेतको सहभागितामा बलियो विपक्षी गठबन्धन बनेपछि एमालेबाट राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार बनेका रामबहादुर थापा बादल पछि हट्ने भएका छन् । उनले ओलीसँग हार्ने चुनाव म लड्दिनँ भनेर अडान लिए । अब एमालेलाई बागमती प्रदेशमा उम्मेदवार उठाउन समेत मुस्किल पर्ने अवस्था भएको छ ।यही सन्दर्भमा ओली केही रक्षात्मक बनेपछि एमालेका दुवै समूहका नेताहरु एकता जोगाउन सक्रिय बनेका हुन् । एमाले स्रोतका अनुसार आज पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ‘निर्णायक’ छलफल हुँदैछ । वरिष्ठ नेता नेपाल बिहीबार बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए । नेपाललाई भण्डारीले नै बोलाएको र राष्ट्रपति भण्डारीले ओलीसँग पनि पार्टी एकता जोगाउनेबारे छलफल गरिरहेको स्रोतले जनाएको छ ।सरकारले विश्वासको मत लिन आउँदो २७ गते संसद् अधिवेशन बोलाएसँगै एमाले विभाजन नजिक पुगेको छ । विहीबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपाल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलमाथि ६ महिनाका लागि गरिएको कारबाही फिर्ता लिने विषयमा केही नेताहरुले आवाज उठाएका थिए । त्यसपछि दुवैतर्फका नेताले विवाद समाधानका उपायबारे दिउँसो दुई चरणमा छलफल गरेका थिए । छलफलमा फागुन २८ भन्दा अगाडिको अवस्थामा ओली समूह फर्किनुपर्ने र महाधिवेशन आयोजक समिति बनाएर महाधिवेशनमा जाने गरी दुवै समूहलाई सम्मान हुने गरी कमिटी निर्माण गर्नुपर्ने लगायतका प्रस्तावहरु नेपाल पक्षबाट गएको स्रोतले जनाएको छ ।शुक्रबार राष्ट्रियसभाको एक सिटका लागि उम्मेदवारी दिनुपर्ने भएकाले साझा उम्मेदवार बनाउने विषयमापनि छलफल भएको थियो । आज पनि सोही छलफललाई निरन्तरता दिने तयारी भइरहेको नेताहरुले बताएका छन् । आउँदो जेठ ६ मा तोकिएको राष्ट्रिय सभाको उम्मेदवारमा नेपाल–खनाल समूहले खिमलाल देवकोटालाई उठाउने गरी राखेको प्रस्तावलाई कांग्रेस, माओवादी केन्द्र र जसपाले स्वीकार गरेपछि एमालेको संस्थापन पक्ष दबाबमा छ ।अध्यक्ष ओली पक्षले गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाउने बताउँदै आए पनि बादल पछाडि हटेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook