• होमपेज
  • नेकपा विवाद : विभाजनको तहसम्म नपुग्न भन्दै आन्तरिक तथा बाह्य दबाब बढ्यो
Breaking News

नेकपा विवाद : विभाजनको तहसम्म नपुग्न भन्दै आन्तरिक तथा बाह्य दबाब बढ्यो

काठमाडौं, २६ असार । असार दश गतेबाट सुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पछिल्लो समय पटक–पटक स्थगित हुँदै आएको छ ।

पार्टीभित्र देखिएको विवाद मिलाउन बैठक स्थगित गरिएको बताउने गरिएपनि कतिपय स्थायी कमिटी सदस्यहरु असन्तुष्ट छन् । प्राकृतिक प्रकोपको नाममा बैठक स्थगित गरिएको भनिएपनि बढ्दो विवादका कारण बैठक बस्न नसकेको बताइएको छ ।

विज्ञापन

पार्टीलाई फुटतर्फ जान नदिन आन्तरिक तथा बाह्य दबाब पनि बढ्दो छ । शुक्रबार विहान ११ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलपछि बैठक स्थगित गरिएको हो ।

वर्षा लागेसँगै आएको बाडी, पहिरो र कोरोनाको महामारी फैलदै गएको कारण देखाएर बैठक स्थगित गरिएको छ । तर, असन्तुष्ट स्थायी कमिटी सदस्यहरु भने पार्टीको संस्थागत निर्णय टार्न बैठक स्थगित गरिएको दाबी गर्छन् ।

असार १० गतेबाट सुरु भएको बैठक असार १८ गतेबाट लगातार स्थगित हुँदै आएको छ । आफ्नै पार्टीको सरकारले ठोस काम गर्न नसकेको आलोचना बढ्दै गएपछि पार्टीभित्र पुनः विवाद देखिन थालेको थियो ।

आगोमा घीउ हाल्ने काम प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गरेपछि विवाद पार्टी फुट्ने तहसम्म पुग्यो । प्रधानमन्त्री ओलीले असार १४ गते आफूलाई हटाउन भारतीय र नेपालकै नेताहरु पनि सक्रिय बनेको आरोप लगाएपछि विवाद चरम बन्यो ।

विवाद साम्य पार्न अध्यक्षद्वय ओली र दाहाल लगातार छलफलमा जुटेका छन् । तर, ठोस निष्कर्ष निस्किन सकेको छैन । तर, बैठक स्थगित गरेरै भएपनि विवाद अन्त्य गर्नुपर्ने दबाब पनि कायमै छ ।

स्थायी कमिटी बैठक बसे बहुमत र अल्पमतका आधारमा निर्णय गर्नुपर्ने अर्को दबाब पनि पार्टीभित्र कायम छ । यसो हुँदा पार्टी विभाजनसम्म पुग्नसक्ने आंकलनहरु पनि उत्तिकै हुनथालेका छन् ।

सत्तारुढ नेकपामा देखिएको विवादले राजनीतिक वितृष्णा नै उत्पन्न गर्न सक्ने खतरा उत्पन्न भएको छ । जनमत पाएको नेकपाले पाँच वर्षसम्म सरकार सञ्चालन गर्न नसके प्राप्त राजनीतिक उपलब्धि नास हुनेतर्फ चिन्ता प्रकट हुन थालेका छन् ।

त्यसैले नागरिक अगुवाहरुले समेत खबरदारी गरेका छन् । बैठकसँगै सुरु भएको विवादमा प्रधानमन्त्री ओलीको राजीनामा प्रमुख मुद्दा बन्यो । यो बहुमत–अल्पमतको ध्रुविकरणमा जाने अवस्था बन्यो ।

यो अवस्था आउन नदिन भन्दै अध्यक्षद्वय निरन्तर छलफलमा पनि जुटे तर, ठोस निष्कर्ष निस्किन सकेको छैन । बिहीबारको छलफलमा त ओलीले दाहाललाई अध्यक्ष बन्न महाधिवेशन र प्रधानमन्त्री हुन अर्को चुनाव कुर्नुपर्ने बताएपछि नेकपाको विवाद तत्काल साम्य नहुने ठाउँमा पुगेको थियो ।

त्यसैले दुई अध्यक्षकै सहमतिमा बैठक सात दिन पछाडि सारिएको छ, यसमा उनीहरु दुवैको राजनीतिक चाहना–पार्टी विभाजन रोक्नु रहेको केही नेताहरुको बुझाई छ । यता, पार्टीभित्रैबाट दोस्रो तहका नेताहरुले पनि सक्रियता बढाए, जसको उद्देश्य पार्टी एकता बचाइराख्ने र सहमतिमै नेतृत्वको कार्यविभाजन गर्नु थियो ।

दुवै समूहका नेताहरुले शीर्ष नेतृत्वसँग संवाद गरे । भिन्दाभिन्दै उद्देश्य राखेर गरिएका धर्ना र सडक प्रर्दशनले पनि नेताहरुलाई जोखिमपूर्ण निर्णय नलिन दबाबमा राख्यो ।

नेकपासँग भाईचारासम्बन्ध बनाएको चिनियाँ कम्युनिष्ट पार्टीको सन्देश पनि बैठक स्थगितका लागि अर्को कारण बन्यो । नेकपाको शक्तिसंघर्षमा अप्रत्यक्षरुपमा भारतीय चासो पनि जोडियो ।

यहीबेला जुनसुकै मूल्यमा भए पनि प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य पार्दा ‘भारतपरस्त’ को आरोप लाग्न सक्ने दाहाल–नेपालको निष्कर्ष रहेको स्रोतको भनाइ छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook