• होमपेज
  • उपत्यकामा कोरोना संक्रमण पत्ता लगाउन समुदायमा परीक्षण
बागमती प्रदेश

उपत्यकामा कोरोना संक्रमण पत्ता लगाउन समुदायमा परीक्षण

उपत्यकामा सोमबार एकै दिन ५४ संक्रमित थपिए

२२ असार, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) को स्थानीय संक्रमणलाई पुष्टि गर्ने थुप्रै केसहरू भेटिएका छन् । ट्राभल हिस्ट्री नै नभएकाहरूमा कोरोना संक्रमण देखिएको छ । उनीहरूको संक्रमणको स्रोत पनि पत्ता लागेको छैन ।

पछिल्लो समय काठमाडौंको ढलमा समेत कोरोना भाइरस भेटिएपछि समुदायस्तरमै संक्रमण त भइसकेको छैन भन्ने प्रश्न उठेको छ ।

विज्ञापन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू पनि यसलाई अस्वीकार गर्दैनन् । तर यकिन भन्न सकिने अवस्था पनि छैन । किनकि त्योस्तरको परीक्षण भएको छैन । त्यसैले समुदाय स्तरमा कोभिड-१९ परीक्षण गर्न थालिएको छ ।

मन्त्रालयको एक अधिकारीका अनुसार काठमाडौं उपत्यकामा थप सतर्कता अपनाउन मन्त्रीस्तरीय छलफल भएको थियो, जसमा मन्त्रालयका विज्ञहरूका साथै इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डाक्टर वासुदेव पाण्डे, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रुना झा र कोभिड अस्पतालका प्रतिनिधि उपस्थित थिए ।

छलफलमा मन्त्री भानुभक्त ढकालले उपत्यकाका संक्रमण अवस्थाबारे ‘ब्रिफिङ’ लिनुका साथै सरकारले चाल्नुपर्ने सम्भावित कदमबारे विज्ञहरूको राय लिएका थिए ।

विज्ञहरूले क्यान्सर, दम, निमोनिया, मधुमेहजस्ता दीर्घरोग लागेका मानिसहरू, शल्यक्रियाका लागि अस्पताल पुग्नेहरूका साथै संक्रमित भेटिएको क्षेत्रमा बसोबास गर्नेहरूको पीसीआर विधिबाट टेस्ट गर्नुपर्नेमा जोड दिएका थिए ।

‘जनस्वास्थ्य विज्ञहरूको सुझावअनुसार मन्त्रालयले १७ असारमा समुदायको संक्रमण खोज्ने निर्णय गरेको हो’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अनलाइनखबरसँग भनेका छन्, ‘संक्रमण भेटिएको समुदायमा गएर कन्ट्याक ट्रेसिङबाट फेला परेका र जोखिम समूहमा रहेका मानिसको परीक्षण गर्छौं ।’

उनका अनुसार उपत्यकाको १० ठाउँका सर्वसाधारणको थ्रोट स्वाब पनि संकलन भइसकेको छ ।

तीनकुने र नख्खु क्षेत्रमा संकलन गरिएको २२८ वटा नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । अन्य ठाउँको रिपोर्ट आउन भने बाँकी रहेको उनले बताए ।

शंखमुल, कपन, मैतीदेवी, कोटेश्वर, खुशीबुँ, कागेश्वरी, बोडे, टोखा क्षेत्रबाट पनि स्वाब संकलन गरिएको छ ।

उपत्यकाका अरु स्थानबाट पनि नमुना संकलन गरिने ईडीसीडीका निर्देशक डाक्टर पाण्डेले बताए । उनले भने, ‘उपत्यकामा केही ठाउँमा पटक-पटक संक्रमित भेटिएका छन् । त्यही क्षेत्रको समुदायमा व्यापक नमुना संकलन गरेर परीक्षण गर्छौं ।’

जबकि जनस्वास्थ्य विज्ञहरूले केही पहिलादेखि नै समुदायस्तरमा संक्रमण खोज्नुपर्ने बताउँदै आएका थिए । मृत्यु भइसकेपछि कोरोना पुष्टि भएका वा संक्रमण पुष्टि भएका केसहरूको संक्रमण स्रोत नै पत्ता नलागेपछि जनस्वास्थ्य विज्ञहरूले उपत्यका जोखिम बढेको भन्दै परीक्षणमा जोड दिँदै आएको थियो ।

सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन) नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स-२’ प्रारम्भिक अध्ययनले उपत्यकाको केही स्थानको ढलमा कोरोना भाइरस फेला पारेको थियो । अध्ययनका लागि काठमाडौंको चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो, जसमध्ये २ ठाउँमा कोभिड-१९ गराउने -सार्स कोभ-२’ भाइरस भेटिएको थियो ।

सोमबार मात्र थपिए ५४ संक्रमित

सोमबार मात्र काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये काठमाडौंका २४ जना, ललितपुरका २० जना र भक्तपुरका १० जना छन् । थपिएका संक्रमिणबारे विस्तृत जानकारी आइनसकेकाले केही भन्न नसकिने ईडीसीडीका निर्देशक डाक्टर वासुदेव पाण्डेले बताए ।

‘उपत्यकामा भेटिएको भनिएका केस कति स्थानीय, कति बाहिरबाट उपचार गराउन आएका र कति विदेशबाट फर्किएका हुन भन्ने हामी खोज्दैछौं’ डाक्टर पाण्डेले भने, ‘पहिले संक्रमण भेटिएको तर संक्रमण स्रोत नभेटिएको ठाउँमा पनि संक्रमित भेटिएकाले धेरै स्थानीय पनि हुन सक्छ भन्ने अनुमान छ ।’

उपत्यकाका केही स्थानमा कम्युनिटी ट्रान्समिसनको आशंका गरिएको भए पनि तथ्यांकले धेरै संक्रमण फैलिएको नदेखाएको ईडीसीडीको सर्भिलेन्स शाखाका महेन्द्रध्वज अधिकारी बताउँछन् ।

उनका अनुसार उपत्यकामा भनिएका सबै केसहरू यहीँका स्थानीयको होइनन् । ‘कतिपय उपत्यका बाहिरबाट काठमाडौंमा उपचार गराउन आएकालाई देखिएको छ भने कतिपय विदेशबाट आएकालाई देखिएको छ, स्थानीय संक्रमण निकै कम छ’ अधिकारीले भने ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook