शम्भुराज पौडेल । नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको लामो इतिहास बोकेको राजनीतिक दल हो । २००७ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनदेखि २०४६ सालको जनआन्दोलन, २०६२/६३ को लोकतान्त्रिक आन्दोलन हुँदै संविधान निर्माण र गणतन्त्रको संस्थागत यात्रासम्म कांग्रेसको भूमिका नेपालको आधुनिक राजनीतिक इतिहाससँग अभिन्न रूपमा जोडिएको छ । यही कारण कांग्रेसभित्र हुने प्रत्येक राजनीतिक बहस केवल एउटा पार्टीको आन्तरिक विषय मात्र रहँदैन त्यसले नेपालको लोकतान्त्रिक भविष्यसँग पनि अर्थ राख्छ ।
आज नेपाली कांग्रेस एउटा यस्तै महत्वपूर्ण मोडमा उभिएको देखिन्छ—जहाँ एउटा पुस्ता आफ्नो लामो राजनीतिक विरासत, अनुभव र संगठनात्मक पकडसहित विशेष महाधिवेसन पश्चात हाल बाहिर छ भने अर्को पुस्ता परिवर्तन, पुस्तान्तरण र नयाँ राजनीतिक संस्कार सहित नेतृत्व गदैँ कांगे्रसको १५ औँ राष्ट्रिय महाधिवेसनको दैडानमा छ । यही अवस्थालाई महाभारतको एउटा प्रसंगसँग जोडेर हेर्दा एउटा रोचक राजनीतिक रूपक निर्माण हुन्छ अर्जुन र अश्वत्थामा तथा ब्रह्मास्त्रको रूपक ।
विज्ञापन
महाभारतको युद्ध समाप्त भइसकेको थियो । कौरव पक्षको पराजय भइसकेको थियो । तर युद्धको अन्त्यसँगै सबैको मनमा रहेको प्रतिशोध समाप्त भएको थिएन । द्रोणाचार्यका पुत्र अश्वत्थामाको मनमा पाण्डवप्रतिको आक्रोश र प्रतिशोध अझै जीवित थियो । त्यसैको परिणामस्वरूप उनले रातको समयमा पाण्डव पक्षको शिविरमा आक्रमण गरे । पछि पाण्डवहरूलाई समाप्त गर्ने उद्देश्यले ब्रह्मास्त्र प्रयोग गरे । त्यसको प्रतिकारमा अर्जुनले पनि ब्रह्मास्त्र चलाए । जब दुई ब्रह्मास्त्र आमनेसामने भए, त्यसको प्रभाव केवल दुई पक्षबीच सीमित रहने अवस्था थिएन । विनाशको सम्भावना बढ्यो । महर्षि व्यास ऋषिले हस्तक्षेप गरे र दुवैलाई अस्त्र आफ्नो हातमा लिई फिर्ता लिन आग्रह गरे । अर्जुनले आफ्नो ब्रह्मास्त्र फिर्ता लिन सके । अश्वत्थामासँग भने आफूले चलाएको अस्त्र फिर्ता लिने ज्ञान नभएको जनाए । महर्षि व्यास ऋषि क्रोधित हुँदै भन्नुभएको छ, हे अश्वत्थामा यदी तँ संग आफुँले चलाएको अस्त्र फिर्ता लिने ज्ञान छैन भने चलाई कसरी ? हे मुर्ख यदी पाण्डव भएनन् भने तैँले निमार्ण गर्न सक्छस् त्यस्तो समाज जसमा मानिसको आत्मसम्मान सुरक्षित रहन् सक्छ ? के तेरा रगत भरिएका आँखाले मानव जातीको उज्जल भविस्यको दिशा सक्छन्? कदापी सक्दैनन् , कदापी सक्दैन । त्यस पछि उनले त्यसको दिशा परिवर्तन गरे तर उनी भित्रको प्रतिशोधले शान्त हुन दिएन फलस्वरुप उनले त्यो ब्राह्मास्त्र पाण्डव वंशको विनासको लागी उत्तराको गर्वमा हुर्केको शिशुमाथी प्रहार गरे ।
महाभारतको यो प्रसंगलाई केवल धार्मिक वा पौराणिक कथाका रूपमा मात्र हेर्न आवश्यक छैन । यसमा आजको राजनीतिका लागि पनि एउटा गहिरो शिक्षा छ शक्ति प्राप्त गर्नु र शक्तिमाथि नियन्त्रण राख्नु दुई फरक कुरा हुन् । अस्त्र चलाउन सक्नु शक्ति हो, तर सही समयमा अस्त्र रोक्न सक्नु विवेक हो । विरोध गर्न सक्नु राजनीति हो, तर आवश्यक पर्दा आफ्नो अहंकार रोक्न सक्नु नेतृत्व हो । पदमा पुग्नु उपलब्धि हो, तर सही समयमा जिम्मेवारी हस्तान्तरण गर्न सक्नु राजनीतिक संस्कार हो । यहीँबाट कांग्रेसको वर्तमान पुस्तान्तरणको बहसलाई हेर्न सकिन्छ ।
आज कांग्रेसमा शेरबहादुर देउवा, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलाल गायतका नेताहरू लामो राजनीतिक इतिहास बोकेर बाहिर उभिएका छन् । उनीहरूले कांग्रेसको अनेक उतारचढाव देखेका छन्, आन्दोलनमा योगदान दिएका छन्, पार्टी सञ्चालन गरेका छन् र राज्यसत्ताको अभ्यास पनि गरेका छन् । उनीहरूको योगदानलाई एउटा पुस्ताले सहजै अस्वीकार गर्न सक्दैन । तर इतिहासको अर्को सत्य यो पनि छ कि कुनै पनि राजनीतिक पुस्ता सदाका लागि नेतृत्वमा रहन सक्दैन । समय परिवर्तन हुन्छ, समाज परिवर्तन हुन्छ , मतदाताको मनोविज्ञान परिवर्तन हुन्छ , राजनीतिक मुद्दाहरू परिवर्तन हुन्छन् , सञ्चार र प्रविधिको स्वरूप परिवर्तन हुन्छ , नयाँ पुस्ताका आकांक्षा बदलिन्छन् , त्यसैले राजनीतिक दलहरू पनि समयसँगै आफूलाई पुनःनिर्माण गर्न बाध्य हुन्छन् । यही परिवर्तनको बहसमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र देवराज चालिसेजस्ता नेताहरूलाई नयाँ पुस्ताको प्रतिनिधि अनुहारका रूपमा हेर्ने गरिएको छ । उनीहरूको राजनीतिक यात्रा, शैली र विचारमा फरक–फरक विशेषता भए पनि उनीहरूलाई जोड्ने एउटा साझा विषय हो पार्टीभित्र पुस्तान्तरण र नयाँ राजनीतिक संस्कारको आवश्यकता हो ।
यहाँ महाभारतको अर्जुनको रूपक उपयोगी हुन्छ ।
अर्जुन केवल शक्तिशाली योद्धा मात्र थिएनन् । उनी अनुशासन, संयम, लक्ष्य र निर्णय क्षमताका प्रतीक पनि हुन् । ब्रह्मास्त्र चलाउनु उनको सामथ्र्य थियो भने आवश्यक समयमा त्यसलाई फिर्ता लिन सक्नु उनको विवेक थियो । त्यसैले नयाँ पुस्ताका नेताहरूले अर्जुनको भूमिका खोज्ने हो भने उनीहरूको चुनौती केवल पुरानो पुस्तालाई हटाउनु होइन । उनीहरूले आफूभित्रको नयाँ राजनीतिक संस्कार प्रमाणित गर्नुपर्नेछ । नयाँ पुस्ताले पुरानो पुस्ताको आलोचना गर्न पाउँछ , प्रश्न उठाउन पाउँछ , नेतृत्व परिवर्तनको माग गर्न पाउँछ । तर त्यसको अन्तिम उद्देश्य अर्को एउटा गुट जन्माउनु होइन, पार्टीको चरित्र बदल्नु हुनुपर्छ । किनकी पुरानो नेतृत्वलाई हटाएर नयाँ नेतृत्व आउनु मात्र पुस्तान्तरण होइन । पुरानो राजनीतिक संस्कारलाई नयाँ अनुहारले निरन्तरता आवश्यता अनुसार आफुँलाई परिमाजित गर्नु नयाँ पुस्ताको भावना बुझनु नै वास्तविक पुस्तान्तरण हो । यही ठाउँमा स्वर्गीय नेता प्रदीप गिरीको राजनीतिक चिन्तन सम्झनुपर्ने हुन्छ । गिरी नेपाली राजनीतिमा केवल पद र शक्तिको राजनीतिभन्दा विचार, लोकतान्त्रिक संस्कार र राजनीतिक चेतनालाई महत्व दिने नेताका रूपमा स्थापित थिए । उहाँले नयाँ पुस्ताको राजनीतिक सम्भावनालाई गम्भीरतापूर्वक हेर्नुभएको थियो । उहाँको राजनीतिक जीवनले एउटा कुरा स्पष्ट गर्छ राजनीतिमा पुस्ता परिवर्तन केवल अनुहार परिवर्तन होइन, सोच र संस्कारको परिवर्तन पनि हो । आज उहाँ हामीमाझ हुनुहुन्न। तर उहाँले उठाएका प्रश्नहरू अझै जीवित छन् । राजनीति किन गर्ने ? सत्ता किन प्राप्त गर्ने ? दल किन बनाउने ? नेतृत्व किन चाहिने ? र अन्ततः राजनीतिको केन्द्रमा व्यक्ति हुने कि विचार ? यी प्रश्नहरूको उत्तर नखोजी केवल पुरानो पुस्तालाई नयाँ पुस्ताले विस्थापित ग¥यो भने कांग्रेसको समस्या समाधान हुँदैन । कांग्रेसको इतिहासमा पुस्तान्तरणको बहस नयाँ होइन । बीपी कोइरालाबाट गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायतका नेताहरू हुँदै पार्टी अनेक चरणबाट गुज्रिएको छ । हरेक पुस्ताले अघिल्लो पुस्ताबाट केही प्राप्त गरेको छ र केही नयाँ थपेको छ । लोकतान्त्रिक आन्दोलनको इतिहास नै पुस्ताहरूबीचको निरन्तर हस्तान्तरणको इतिहास हो ।
तर अहिलेको परिस्थिति केही अर्थमा फरक छ ।
आज कांग्रेससँग आफ्नो गौरवशाली इतिहास मात्र पर्याप्त छैन उसले नयाँ पुस्ताको प्रश्नको उत्तर दिनुपर्नेछ ? युवाहरू किन राजनीतिबाट निराश छन् ? उनीहरू किन स्थापित दलहरूप्रति प्रश्न गरिरहेका छन् ? कांग्रेसले नयाँ मतदाताको भाषा किन बुझ्न सकेन ? रोजगारी, शिक्षा, प्रविधि, उद्यमशीलता, भ्रष्टाचार नियन्त्रण, सुशासन र अवसरका विषयमा कांग्रेसको नयाँ दृष्टिकोण के हो ? यी प्रश्नहरूको उत्तर पुरानो राजनीतिक नाराले मात्र दिन सकिँदैन । त्यसैले अहिलेको पुस्तान्तरणको बहस देउवा विरुद्ध गगन, शेखर विरुद्ध विश्वप्रकाश, वा एउटा गुट विरुद्ध अर्को गुटको प्रतिस्पर्धामा सीमित हुनु हुँदैन । यो बहस अझ ठूलो हुनुपर्छ । कांग्रेस कस्तो बनाउने भन्ने बहस हुनुपर्छ । पुरानो पुस्तासँग अनुभव छ भने नयाँ पुस्तासँग नयाँ समयको भाषा बुझ्न सक्ने क्षमता हुन सक्छ । पुरानो पुस्ताले संगठन निर्माण ग¥यो भने नयाँ पुस्ताले त्यसलाई नयाँ सामाजिक परिवेशअनुकूल रूपान्तरण गर्नुपर्नेछ । पुरानो पुस्ताले लोकतन्त्रका लागि संघर्ष ग¥यो भने नयाँ पुस्ताले लोकतन्त्रलाई जनताको दैनिक जीवनसँग जोड्नुपर्नेछ । यही कारणले आज पुरानो पुस्तालाई सम्पूर्ण रूपमा अस्वीकार गर्नु पनि गलत हुन्छ र नयाँ पुस्तालाई केवल उमेरका आधारमा अयोग्य ठान्नु पनि पर्याप्त हुँदैन । नेतृत्वको मापन उमेरले होइन, समय बुझ्ने क्षमताले हुन्छ ।
यहीँ फेरि अर्जुन र अश्वत्थामाको रूपक फर्किन्छ ।
यदि कुनै नेता आफ्नो शक्ति, प्रभाव र पदलाई पार्टीभन्दा माथि राख्छ, परिवर्तनको स्वाभाविक प्रक्रियालाई रोक्न खोज्छ र आफूले चलाएको राजनीतिक अस्त्र फिर्ता लिन सक्दैन भने त्यो अश्वत्थामाको मानसिकताको रूपक बन्न सक्छ । तर यदि कुनै नेता आफ्नो शक्ति सही समयमा प्रयोग गर्छ, आवश्यक पर्दा पछि हट्न सक्छ, आफ्नो पुस्ताको स्वार्थभन्दा संस्थाको भविष्यलाई ठूलो देख्छ र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न सक्छ भने त्यो अर्जुनको राजनीतिक संस्कारको नजिक पुग्छ । त्यसैले यो रूपक कुनै व्यक्तिलाई दोष लगाउने उद्देश्यले होइन यो नेतृत्वको चरित्रमाथि प्रश्न गर्ने रूपक हो ।
देउवा स्वयं पनि नेपाली कांग्रेसको इतिहासका महत्वपूर्ण पात्र हुन् । उहाँको राजनीतिक योगदानलाई एकै वाक्यमा खारेज गर्न सकिँदैन । तर लामो राजनीतिक यात्रापछि इतिहासले नेताहरूलाई एउटा अर्को प्रश्न पनि सोध्छ अब तपाईंको सबैभन्दा ठूलो योगदान के हुनेछ ? फेरि एकपटक पद प्राप्त गर्नु ? कि आफूभन्दा पछिल्लो पुस्तालाई जिम्मेवारी दिएर आफूले निर्माण गरेको राजनीतिक संस्थालाई अझ बलियो बनाउनु ? कहिलेकाहीँ इतिहासमा सबैभन्दा ठूलो विजय पदमा बसिरहनु होइन, आफ्नो समय सकिएको महसुस गरेर संस्थाको भविष्यलाई आफ्नो वर्तमानभन्दा ठूलो ठान्नु हो । त्यस्तै नयाँ पुस्ताले पनि एउटा प्रश्नको उत्तर दिनुपर्छ तपाईंहरू पुरानो पुस्ताको आलोचना गरेर मात्र नयाँ बन्ने हो कि नयाँ राजनीतिक मानक स्थापित गरेर नयाँ बन्ने हो ? यदि गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, देवराज चालिसे वा नयाँ पुस्ताका अन्य नेताहरू नेतृत्वमा आउँछन् भने उनीहरूको सफलता पुरानो पुस्तालाई पराजित गर्नुमा होइन कांग्रेसलाई जनताको नयाँ आकांक्षासँग जोड्न सक्नुमा मापन हुनेछ । नयाँ पुस्ताले पनि भोलि आफ्नो हातमा आएको राजनीतिक ब्रह्मास्त्र फिर्ता लिन जान्नुपर्छ । आज जसलाई गुटवाद भनिएको छ, भोलि आफूले पनि त्यही अभ्यास गर्न थालियो भने अनुहार फेरिन्छ, संस्कार फेरिँदैन । त्यसैले कांग्रेसको आजको संकट केवल नेतृत्व परिवर्तनको संकट होइन । यो राजनीतिक संस्कारको संकट पनि हो ।
कांग्रेसलाई अब व्यक्तिपूजाबाट संस्थागत लोकतन्त्रतर्फ जानुपर्नेछ । गुटगत भागबन्डाबाट योग्यताको राजनीतितर्फ जानुपर्नेछ । चुनाव जित्ने रणनीतिबाट शासन गर्ने क्षमता र सुशासनको विश्वसनीयतातर्फ जानुपर्नेछ । पुरानो इतिहासको गौरवबाट नयाँ भविष्यको योजनातर्फ जानुपर्नेछ ।
आज कांग्रेसभित्र चलिरहेको संघर्षमा पनि यही खतरा छ ।महाभारतको युद्धले एउटा अर्को शिक्षा पनि दिन्छ युद्ध जितेपछि पनि सबै कुरा जितिँदैन । पाण्डवहरूले युद्ध जिते, तर उनीहरूले पनि ठूलो मूल्य चुकाए । त्यसैले राजनीति निरन्तर युद्ध मात्र बन्न गयो भने विजेता पनि अन्ततः घाइते हुन्छ । यदि सबै पक्षले एकअर्कालाई समाप्त गर्ने राजनीतिक अस्त्र चलाइरहे भने अन्ततः कसैको विजय हुँदैन । कमजोर हुने कांग्रेस हो । तर यदि पुरानो पुस्ताले आफ्नो अनुभव हस्तान्तरण गर्ने र नयाँ पुस्ताले जिम्मेवारी सम्हाल्दै दलको सम्मान गर्ने बाटो रोज्यो भने कांग्रेसले आफ्नो इतिहासलाई नयाँ अध्यायसँग जोड्न सक्छ । कांग्रेसको भविष्य न देउवाको मात्र हो, न गगनको मात्र, न शेखरको मात्र हो, न विश्वप्रकाशको मात्र हो, न पुरानो पुस्ताको मात्र हो, न नयाँ पुस्ताको मात्र हो, कांग्रेसको भविष्य त्यसका लाखौँ कार्यकर्ता र लोकतन्त्रमा विश्वास गर्ने नेपाली जनताको भविष्यसँग जोडिएको छ । त्यसैले अब प्रश्न कसले ब्रह्मास्त्र चलाउने भन्ने होइन, कसले ब्रह्मास्त्र फिर्ता लिन सक्छ भन्ने हो । अब प्रश्न कसले कसलाई हराउने भन्ने होइन, कसले आफ्नो अहंकारलाई हराउन सक्छ भन्ने हो । अब प्रश्न कसको गुट ठूलो भन्ने होइन, कसले कांग्रेसलाई ठूलो बनाउन सक्छ भन्ने हो । इतिहासले पुराना नेताहरूलाई एउटा अवसर दिएको छ आफ्नो राजनीतिक यात्राको अन्तिम अध्यायलाई त्याग, संयम र पुस्तान्तरणको अध्याय बनाउने र नयाँ पुस्तालाई पनि एउटा अवसर दिएको छ आक्रोश र आलोचनाबाट माथि उठेर विचार, नीति, संगठन र परिणामको राजनीति गर्ने । स्वर्गीय प्रदीप गिरीजस्ता विचारशील नेताहरूले छाडेर गएको राजनीतिक विरासतको अर्थ यही हो राजनीतिलाई केवल सत्ता प्राप्तिको खेल नबनाउनु, राजनीतिलाई समाज परिवर्तनको माध्यम बनाउनु । आज कांग्रेसले महाभारत दोहोर्याउने होइन, त्यसबाट शिक्षा लिने बेला हो । अश्वत्थामाको जस्तो प्रतिशोधको राजनीति होइन, अर्जुनको जस्तो संयमित शक्ति चाहिएको छ ।
अन्त्यमा,
पुरानो पुस्ताले आफ्नो अनुभवको प्रकाश दिनुपर्छ, नयाँ पुस्ताले त्यस प्रकाशमा नयाँ बाटो निर्माण गर्नुपर्छ । कांग्रेसको महाभारतमा वास्तविक विजय न देउवाको होस्, न गगनको विजय कांग्रेसको होस् । विजय लोकतन्त्रको होस् । विजय नयाँ राजनीतिक संस्कारको होस् किनकि व्यक्ति आउँछन्, जान्छन्, पुस्ता आउँछन्, जान्छन् तर संस्था बाँचे इतिहास बाँच्छ । अन्तिम प्रश्न यही हो ?
हामी अर्को नेता खोज्दैछौँ कि अर्को राजनीतिक संस्कार ? यदि उत्तर दोस्रो हो भने, अब कांग्रेसले आफ्नो ब्रह्मास्त्र चलाउने होइन समयको आवाज सुनेर सही समयमा त्यसलाई फिर्ता गर्न सक्ने अर्जुन खोज्नुपर्छ । जय नेपाल ।
पोखरा नेपाल ।

फेसबुक प्रतिक्रियाहरु