• होमपेज
  • पर्वतमा ३० करोडको सुन्तला उत्पादन हुने आँकलन
Breaking News

पर्वतमा ३० करोडको सुन्तला उत्पादन हुने आँकलन

पर्वत जिल्लामा रहेका विभिन्न सुन्तला पकेट क्षेत्रबाट उत्पादन गरिएको सुन्तलाको मूल्य ३० करोडभन्दा बढी आँकलन गरिएको छ । उत्पादन गरिएको सुन्तलाको उचित मूल्य मिलेसँगै अधिकांश व्यावसायिक कृषक हर्षित छन् ।

कृषि ज्ञान केन्द्र पर्वतका अनुसार गत वर्षभन्दा यस वर्ष सुन्तला पकेट क्षेत्रहरु बासखर्क र दक्षिणी भेगका पाङराङसहितका कुर्घा, लिमीठाना, भेडाबारी, थापाठाना, भंगरा साथै बाच्छासँगैका खोरियाखर्क, चण्डीस्थान, उपल्लो गाउँ, सिउरासलगायतका स्थानका सुन्तला बगानमा उत्पादन केही बढी हुने देखिएको छ । सुन्तला पकेट क्षेत्र देउपुरमा केही कम उत्पादन भए पनि अन्य सवै क्षेत्रको उत्पादनलाई जोडेर हेर्दा पर्वतबाट ३० करोड मूल्यभन्दा बढीको सुन्तला उत्पादन हुने देखिन्छ ।

विज्ञापन

जिल्लाको उत्तरी भेगमा पर्ने जलजला गाउँपालिका वडा १ बासखर्क भन्ने स्थान सुन्तला खेतीका लागि प्रसिद्ध छ । सुन्तलाको पकेट क्षेत्र मानिने बासखर्कमा मात्रै सुन्तलाको व्यावसायिक खेतीमा संलग्न कृषकको घरधुरी सङ्ख्या २५० रहेको छ । बासखर्कका सुन्तला कृषक ६० वर्षे जगत खत्रीले २८ रोपनी क्षेत्रफलमा लगाइएको एक हजार पाँच सय ५२ वटा सुन्तलाबाट यस वर्ष मात्रै ४० लाख रुपियाँ आम्दानी गर्ने बताउनुभयो । बासखर्कमा सुन्तला फागुनतिर मात्रै टिप्ने गरिन्छ । बासखर्ककै अर्का कृषक हेम कुमार अर्मजाका अनुसार बासखर्कमा लगाइएको १६ सय रोपनीभन्दा बढी क्षेत्रफलमा उत्पादित सुन्तलाको बिक्रीबाट यहाँका कृषकहरुले करीव १३ करोडको आम्दानी गर्ने छन् ।

बासखर्कका कृषकहरुको प्रमुख आम्दानीको स्रोत मानिने सुन्तला खेतीलाई अझै व्यवस्थित र विस्तार गर्नका लागि गाउँसम्म पुग्ने कच्ची र साँगुरो बाटोलाई पक्की बनाउनु पर्ने भनाइ छ । पर्वतको बासखर्क आवतजावतका लागि अहिले पनि कृषकहरु बेनी बजारबाट पर्वतको बगरफाँट हुँदै कच्ची र साँगुरो बाटो जोखिम मोलेर हिँड्नु परेको छ । कृषकहरुले सुन्तला बजार पुर्याउन र प्राङगारिक मल ल्याउन समेत कच्ची बाटोकै कारण ढुवानी वापतको शुल्क महँगो तिर्नु परेको गुनासो गरेका छन् ।

पर्वतकै मोदीगाउँपालिका पर्ने सुन्तला पकेट क्षेत्र देउपुरमा यसपाली गत वर्षभन्दा केही कम उत्पादन भएको सुन्तला कृषक दाताराम चापागाईको भनाइ छ । केही कृषकको सुन्तला बगानमा फुल लाग्ने बेला परेको असीना र औसिया किराका कारण सुन्तला उत्पादनमा कमि भएको हो । अगुवा सुन्तला कृषक घनश्याम शर्माले सुन्तला उत्पादनमा असीनाको केही प्रभाव परे पनि देउपुर क्षेत्रबाट सुन्तलाको उत्पादन यस वर्ष कम्तिमा पनि ६ करोड मूल्यभन्दा कम नहुने दाबी गर्नुभयो । कृषक शर्माले यस वर्ष चार लाख मूल्य बराबरको सुन्तला बिक्री गर्नु भएको छ भने सुन्तलाको वेर्ना मात्रै डेढ लाख मूल्य बराबरको विक्री गरेको बताउनुभयो । देउपुर १२ सय मिटरको उचाईमा पर्ने र पहारिलो क्षेत्र भएको हुँदा पनि सुन्तला खेतीका लागि उपयुक्त स्थान मानिन्छ ।

पर्वतको फलेवास नगरपालिकाको दक्षिणी भेगमा पर्ने पाङराङ र यस आसपासका सुन्तला पकेट क्षेत्रबाट सुन्तलाको उत्पादन ६ करोड मूल्य बराबरको हुन्छ भने विहादी गाउँपालिकामा पर्ने सुन्तला पकेट क्षेत्र मानिने बाच्छा र आसपासका क्षेत्रबाट गरी सुन्तलाको उत्पादन नौ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन हुने कृषकको अनुमान छ । सुन्तला पकेट क्षेत्र पाङराङका अगुवा कृषक पूर्णबहादुर कुँवरले ९८ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरी वर्षको १८ लाख आम्दानी गर्दै आउनुभएको छ । गत वर्ष एक सय ७० क्वीण्टल सुन्तला बिक्री गर्नुभएको बताउने कृषक कुँवरले यसपाली भने असीनाले बोटका फूल झारेको कारण उत्पादनमा केही कमी रहेको गुनासो गर्नुभयो । कृषक कुँवरका सुन्तला बगानमा सानाठुला गरी २२ सय सुन्तलाका बोट छन् ।

पाङराङका सुन्तला कृषक पवन कुँवरले सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि १५ रोपनीबाट विस्तार गरी कोदो बाली लगाउने बारीमा समेत थप सुन्तला खेती विस्तार गरी ५५ रोपनी पुराउने सोच राख्नुभएको छ । कृषक कुँवर भन्नुहुन्छ, ‘एक हलको कोदो लगाउने बारीमा सुन्तलाको बोट लगाउने हो भने तीन लाख रुपियाँ आम्दानी गर्न सकिन्छ । कोदो लगाएर त्यो रकम आउँदैन । कोदो लगाउनभन्दा सुन्तला खेती गर्न सजिलो पनि छ ।’ कृषक कुँवर जस्तै गाउँले कृषकहरु साथै विदेशबाट फर्केका युवाहरु समेत सुन्तला खेतीमा आकर्षित भएका छन् । पर्वतका कृषकहरुले पोखरा, काठमाडौं, मुङलिग, नारायणघाटलगायतका सहरबाट आउने व्यापारीहरुलाई बगानबाटै सुन्तला बिक्री गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार