महासंघले शुक्रवार सातै प्रदेश, जिल्ला र स्थानीय तहमा विरोधस्वरुप रिले अनसन गरेको छ। राजधानी काठमाडौंमा माइतीघर मण्डलामा रिले अनसन गरिएको थियो। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष पूर्ण प्रसाद दवाडीले सरकारले शिक्षकहरुलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेरेको र विभेद गरेको भन्दै आन्दोलित हुनुपरेको बताए।
उनले शिक्षकहरुलाई कर्मचारीलाई दिए सरह १० दिनको पर्यटन भत्ता सहितको काज दिनुपर्ने, सबैको अस्पताल भएको तर शिक्षकको नभएकाले शिक्षक विशेष अस्पताल हुनुपर्ने, शिक्षकहरुको दुर्घटना बीमा र स्वास्थ्य बीमा गर्नुपर्ने तथा अन्य राष्ट्रसेवक कर्मचारीले पाए सरह सेवा, सुविधा पाउनुपर्ने बताए।
उनले भने, ‘नेपाल सरकारले शिक्षकहरूमाथि बजेट भाषणमा विभेद गरेको छ। अरु विषयमा पनि दोस्रो दर्जाको नागरिकको रुपमा शिक्षकलाई हेरिएको छ। विभेद अन्त्यका लागि हामीले शिक्षा मन्त्रालयमा वार्ता, सम्झौता गरेको। ३० बुँदे सहमती पनि भयो। तर शिक्षा ऐन आएन। शिक्षकहरूलाई गरेको विभेदको अन्त्य गरौँ। शिक्षा ऐन ल्याएर हामीसँग गरेका सहमती, सम्झौतालाई लागू गर भन्ने उद्देश्यका साथ हामी चरणबद्ध शान्तिपूर्ण आन्दोलनमा अगाडि बढिरहेका हौँ ।’
उनले वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने, शिक्षण पेसालाई सम्मानित बनाइनुपर्ने, शिक्षकको सामुहिक रुपमा बढुवा गराइनुपर्ने, द्वन्द्वपीडित शिक्षकहरूको समस्या समाधान गरिनुपर्ने, विद्यालय कर्मचारीलाई संघीय सरकारले तलव, भत्ताको व्यवस्था गर्नुपर्ने र उच्च मावि र राहतका अनुदानका दरबन्दीलाई आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गरिनुपर्ने लगायतका विभिन्न मागहरू रहेको पनि बताए। माग पुरा नभए आन्दोलनका कार्यक्रम जारी रहने उनले बताए।
फेसबुक प्रतिक्रियाहरु