पर्वत । सदरमुकाम कुश्मा नगरपालिकाभित्र पर्ने एक अत्यन्तै महत्वपूर्ण सडक खण्ड लामो समयदेखि जीर्ण अवस्थामा रहँदा स्थानीयवासी, सेवाग्राही तथा बिरामीहरूको ज्यान नै जोखिममा परेको भन्दै प्रशासनको ध्यानाकर्षण गराइएको छ।
वर्षौंदेखि उपेक्षामा परेको उक्त सडकको तत्काल मर्मत तथा सुधारको माग गर्दै कुश्मा स्पोर्ट्स क्लबको अगुवाइमा जिल्ला प्रशासन कार्यालय पर्वतमा औपचारिक रूपमा ध्यानाकर्षण पत्र बुझाइएको हो।
विज्ञापन
क्लब अध्यक्ष विक्रम श्रेष्ठको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलसमक्ष ध्यानाकर्षण पत्र बुझाइँदा स्थानीयवासीहरूले सडकको भयावह अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेका थिए।
ध्यानाकर्षण पत्रमा उल्लेख गरिएअनुसार कुश्मा नगरपालिका–५ को बडागाउँ हस्पिटल चोकदेखि सशस्त्र प्रहरी चण्डिका २५ नं. गण हेडक्वाटरसम्मको सडक खण्ड लामो समयदेखि अत्यन्तै जीर्ण अवस्थामा पुगेको छ। सडकमा ठूला खाल्डाखुल्डी, उखेलिएको कालोपत्रे, धुलो र हिलोको समस्या व्यापक हुँदा साना–ठूला सवारी साधन दुर्घटनामा पर्ने गरेका छन्।
उक्त सडक खण्ड सामान्य सडक मात्र नभई जिल्लाकै प्रशासनिक, स्वास्थ्य तथा सेवा प्रवाहको केन्द्र हो। यस सडक वरपर प्रदेश अस्पताल, कुश्मा नगरपालिका कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, पशु सेवा कार्यालय, निर्वाचन कार्यालय, कृषि ज्ञान केन्द्र, पूर्वाधार विकास कार्यालय, हुलाक कार्यालय, जिल्ला शिक्षा समन्वय इकाइ, नापी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कोलेनिका कार्यालय, जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय, सीप विकास कार्यालय, सशस्त्र प्रहरी चण्डिका २५ नं. गण हेडक्वाटर लगायतका दर्जनौं सरकारी कार्यालयहरू अवस्थित छन्। यति धेरै सरकारी कार्यालय रहेको क्षेत्रको सडक नै जर्जर अवस्थामा रहनु राज्यको गैरजिम्मेवारीपन भएको स्थानीयहरूको गुनासो छ।
स्थानीयवासीहरूका अनुसार उक्त सडकको सबैभन्दा ठूलो असर अस्पताल आउने बिरामीहरूमा परेको छ। प्रदेश अस्पताल पुग्न यही सडक प्रयोग गर्नुपर्ने भएकाले एम्बुलेन्स, मोटरसाइकल तथा निजी सवारी साधनमा आउने बिरामीहरू गम्भीर जोखिममा पर्ने गरेका छन ।
खाल्डाखुल्डी र असमतल सडकका कारण एम्बुलेन्ससमेत ढिलो चल्नुपर्ने अवस्था आएको र कतिपय अवस्थामा बिरामीको अवस्था झनै जटिल बन्ने गरेको गुनासो ध्यानाकर्षण पत्रमा उल्लेख छ। गर्भवती महिला, वृद्धवृद्धा तथा आकस्मिक उपचारका लागि आउने बिरामीहरूका लागि यो सडक “मृत्युको पासो” बन्दै गएको स्थानीयहरूको भनाइ छ। साभार

फेसबुक प्रतिक्रियाहरु