पर्वत । नवआगन्तुक पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलले सुशासन, जवाफदेहिता र पारदर्शितालाई आफ्नो प्रमुख प्रतिबद्धता रहेको बताउनुभएको छ ।
आज आयोजित पत्रकारसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले जिल्लामा सुशासन कायम गर्न सबै सरोकारवाला पक्षसँग समन्वयात्मक ढङ्गले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विज्ञापन
उहाँले जिल्ला प्रशासन कार्यालय नागरिकमैत्री सेवा प्रवाहमा केन्द्रित हुने उल्लेख गर्दै कानुनी शासन, सार्वजनिक सेवाको प्रभावकारिता र पारदर्शितालाई प्राथमिकतामा राखिने बताउनुभयो । जिल्लामा देखिएका समस्या समाधानका लागि सञ्चारकर्मी, स्थानीय तह, सुरक्षा निकाय र नागरिक समाजसँग सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा पर्वतमा क्रियाशील पत्रकारहरूले जिल्लामा रहेका प्रशासनिक, विकास निर्माण, सार्वजनिक सेवा प्रवाह, शान्ति–सुरक्षा तथा अन्य समसामयिक समस्याका बारेमा जानकारी गराएका थिए । पत्रकारहरूले उठाएका विषयहरूलाई गम्भीरतापूर्वक लिँदै समाधानका लागि पहल गर्ने प्रजिअ पौडेलले आश्वासन दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा खुला संवादमार्फत जिल्लाको समग्र अवस्था र सुधारका सम्भावनाबारे छलफल गरिएको थियो । कार्यक्रममा सहभागी पत्रकारहरूले नियमित संवाद र सहकार्यले सुशासन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा सहायक प्रजिअ गणेश प्रसाद पौडेलले कार्यालयको सेवा प्रवाहको अवस्था बारे जानकारी गराउनुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु