• होमपेज
  • रास्वपाले पुराना पार्टीको जग हल्लाईदियो– रास्वपा उपसभापती डा. वाग्ले
Breaking News

रास्वपाले पुराना पार्टीको जग हल्लाईदियो– रास्वपा उपसभापती डा. वाग्ले

पर्वत/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा पूर्व सांसद डा. स्वर्णीम वाग्लेले सुसंस्कृत राजनीतिका लागि रास्वपाको गठन भएको बताउनुभएको छ। रास्वपा पर्वतले शुक्रबार पर्वतको कुश्मामा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा. वाग्लेले देशमा व्याप्त भ्रष्टाचारका कारण देश जर्जर बनेको उल्लेख गर्नुभयो।

डा. वाग्लेले सुशासन र द्रुत विकासका लागि स्वतन्त्र र नयाँ राजनीतिक शक्तिको आवश्यकता रहेको भन्दै रास्वपासँग आवद्ध हुन नागरिकलाई आह्वान गर्नुभयो। अर्थतन्त्रलाई गति दिन असल शासन अनिवार्य भएको उल्लेख गर्दै उहाँले रास्वपा सुशासनको पक्षमा दृढतापूर्वक लागेको बताउनुभयो। “पुराना दलहरुको भ्रष्टाचार त हामी सबैले देख्यौं नि”,  उहाँले भन्नुभयो–”तिनीहरुले लुकाएर राखेका पैसा जल्न मात्रै ३ दिन लाग्यो ।”

विज्ञापन

उहाँले देशमा द्रुत विकास गर्न हाल विद्यमान कानुनी संरचनाले नै अवरोध सिर्जना गरिरहेको धारणा राख्दै आवश्यक परे ती संरचनालाई पुनःलेखन गर्दै अघि बढ्नुपर्ने अवस्था आएको बताउनुभयो। त्यसका लागि रास्वपालाई बहुमतका साथ जिताउनुपर्ने उहाँको भनाइ थियो।

“२१ जना सांसदले संसद हल्लाउन सक्छन् भन्ने उदाहरण हामीले प्रस्तुत गरेका छौं,” डा. वाग्लेले भन्नुभयो, “ठूला भनिने राजनीतिक शक्तिहरूलाई हायल–कायल पार्ने काम रास्वपाले नै गरेको हो।” उहाँले रास्वपाले पुराना दलहरूको जग हल्लाइदिएको दाबी गर्नुभयो।

पुराना राजनीतिक दलहरूप्रति जनविश्वास घट्नु नै भदौ २३ गतेको आन्दोलनको प्रमुख कारण भएको उहाँको भनाइ थियो। देश अत्यन्तै तरल अवस्थामा रहेको उल्लेख गर्दै डा. वाग्लेले फागुन २१ गतेको निर्वाचन जुनसुकै हालतमा पनि हुनुपर्नेमा जोड दिनुभयो।

यसैबीच पार्टी प्रवेश कार्यक्रममा जिल्लाका विभिन्न वडाहरुबाट सयौंको संख्यामा प्रवेश कार्यक्रम भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कुश्मा नगर सभापती रमेश कुमार श्रेष्ठका अनुसार करिब ४ सय जना प्रवेश गरेको जानकारी दिनुभयो । उहाँमा अनुसार नेकपा एमाले कुश्मा १० का पार्टी अध्यक्ष शोभाखर खनाल, कुश्मा १४ का पूर्व वडाअध्यक्ष भिम प्रसाद गुरुङ लगायत एमाले, काँग्रेस र माओवादीका कार्यकर्ताहरु प्रवेश गरेको बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै